बाटो बिराएको नेपालको राजनीति

Read Time = 17 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह

निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । कुनै पनि पार्टीको बहुमत नभएको कारण ठूला पार्टीभन्दा पनि साना पार्टीको मोलमोलाईले सीमा नाघेको छ । आफ्नो संसद्मा रहेको गणितको हैसियतभन्दा नसुहाउँदो माग गर्दा जनतामा के सन्देश जाला भन्ने विषयमा कुनै पनि पार्टीको चासो देखिएको छैन ।

नयाँ चुनावबाट बनेको सरकारसँग जति नै अपेक्षा नराखौँभन्दा पनि जनतामा केही अपेक्षा नभएको होइन । चुनावमा पहिलो दल नेपाली कांग्रेस बनेपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने त हो नि भनेर निराश भएका जनतामा एमालेको सहयोगमा माओवादी नेता पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि केही हुन्छ कि भनेर आशाको सञ्चार भएको पनि हो त्यसमा पनि जनताले केही गर्लान् भन्ने अपेक्षा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि त मानिसहरू केही हुने आशामा थिए । तर, उनको आफ्नै सानो कमजोरीको कारण आएको सत्ता त गुम्यो नै, उनको आफ्नो राजनीतिक जीवनमा पनि मैलो लाग्यो ।

साना पार्टीका अगाडि ठूला पार्टीहरू रक्षात्मक बन्ने अवस्था आएको छ । संसदीय गणितको कारण भुरेटाकुरे पार्टीहरू छोइनसक्नुका भएका छन् । संसदीय गणितको हिसाबमा चित्त बुझाउने अवस्थामा उनीहरू दैखिँदैनन् । यिनीहरू राजनीतिक नयाँ सुदखोर मिटरब्याजीका रूपमा देखापरेका छन् ।

प्रधानमन्त्री दाहालले यो पटकमा केही गर्लान् कि भन्ने झिनो आशामा बसेका जनतामा निराशा व्याप्त हुन थालेको छ । एमालेसँगको समीकरण तोडेर नेपाली कांग्रेससँग सहकार्य सुरु गरेको तीन हप्ता हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन । सरकारी संयन्त्र, गैरसरकारी संयन्त्र सबै सरकारले पूर्णता पाएको खबर सुन्न ब्यग्र छन् । काम कुरो एकातिर कुम्लो बोकी कतातिर भने जसरी मुलुकमा विद्यमान जटिल समस्या समाधान गर्नुको साटो मन्त्री चयनमा नै राजनीतिक नेतृत्वको समय खेर गइरहेको छ । सञ्चार माध्यमहरू सरकारले कहिले पूर्णता पाउने र को मन्त्री बन्ने, कसको नेतृत्वमा बन्ने भन्ने हेडलाइन बनाउनुपर्ने अवस्थामा छन् ।

सरकारका वरिष्ठ मन्त्रीहरू अर्थतन्त्र संकटमा रहेको बताइरहेका छन् । युवाहरूको निराशा बढेर दिन प्रतिदिन पलायन हुने क्रम बढेको छ । राहदानी बनाउने कार्यालयमा दिनप्रतिदिन भिड बढ्दो छ । यो क्रम घट्नेभन्दा बढ्ने लगावमा छ । युवाहरू भोलि पनि आफ्नो देशमा भविष्य देखिरहेका छैनन् । धेरै जनताले परम्परादेखि अपनाइआएको पेसा कृषिमा आधुनिकीकरणको खाँचो छ । त्यसमा कर्मकाण्डी कामबाहेक भएको देखिएको छैन तर प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वलाई समीकरण बनाउन र भत्काउने काम गर्दै फुर्सद छैन ।

राजनीति किन जनताको समस्या सम्बोधनबाट विमुख भएको छ । आफ्नो पार्टी र पार्टी सदस्यको मात्र हित हेर्ने र जनसरोकारलाई वास्ता नगर्ने परिस्थिति किन निर्माण भइरहेको छ । साना पार्टीहरू संसदीय गणितभन्दा बढी माग गरेर राजनीतिलाई किन अस्थिर बनाइरहेका छन् । एउटा सरकार बनिसकेपछि सरकारलाई काम गर्न दिने संस्कृतिको विकास किन भइरहेको छैन । राजनीतिले किन यसरी बाटो बिराइरहेको छ ? यो आलेखमा यस्तै प्रश्नको जवाफ खोज्ने कोसिस गरिनेछ ।

गुमनाम आदर्श/राजनीतिमा सुदखोर मिटरब्याजी हावी :
गणेशमानपुत्र प्रकाशमानले भनेजस्तै राजनीतिमा आदर्श गुमनाम भएको छ । उहाँलाई पनि आदर्शको कुरा गर्न कति सुहाउने हो लामै चर्चाको विषय बन्न सक्दछ । गएको कांग्रेस महाधिवेशनमा आफ्नो अडान र प्रतिबद्धताविपरीत सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेर आदर्श विपरीतको काम नगरेको भए, आजको नेपालको राजनीतिमा पुस्तान्तरण भइसकेको हुने थियो, अकर्मण्य बुढा नेताहरूको राजनीतिक सिण्डिकेटबाट मुलुक मुक्त हुने क्रममा गइसक्ने थियो । कम्तीमा नेपाली कांग्रेस पार्टीमा त नयाँ आशाको सञ्चार भइसकेको हुने थियो । सिंहको यो भनाइ पनि परोपदेशे पाण्डित्यंभन्दा पनि अतिशयोक्ति नहुने देखिएको छ ।

साना पार्टीका अगाडि ठूला पार्टीहरू रक्षात्मक बन्ने अवस्था आएको छ । संसदीय गणितको कारण भुरेटाकुरे पार्टीहरू छोइनसक्नुका भएका छन् । संसदीय गणितको हिसाबमा चित्त बुझाउने अवस्थामा उनीहरू दैखिँदैनन् । यिनीहरू राजनीतिक नयाँ सुदखोर मिटरब्याजीका रूपमा देखापरेका छन् । यसमा माधव नेपाल नेतृत्वको पार्टी अग्रपंक्तिमा रहेको छ । संसद्मा दश सिट भएको र राष्ट्रिय पार्टी पनि बन्न नसकेको शक्तिले राजनीतिक सौदाबाजीमा पाँच वर्षभित्र एक वर्ष प्रधानमन्त्री बन्ने आश्वासन पाइसकेको छ भने अब बन्ने मन्त्रिमण्डलमा तीनजना मन्त्री पाउनुपर्ने बटम लाइन बनाएको चर्चा छ ।

यस्तै, हालत उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको रहेको छ । माधव नेपाललाई, देउवालाई प्रधानमन्त्री बनाउन र हिजो पार्टी फोडेर गुन लगाएको साँवाको ब्याज तिर्न अरू घटकलाई मुस्किल परिरहेको छ । माधव नेपाललाई नेपाली राजनीतिका मिटरब्याजीभन्दा फरक नपर्ने भएको छ । उपेन्द्र यादवलगायतका नेताहरू पनि राजनीतिक मिटरब्याजी नै हुन् तर माधव नेपालको खातापाताको अभिलेखका अगाडि अरू भुरेटाकुरे मिटरब्याजीको रूपमा देखापरेका छन् । पुरानो पृष्ठभूमि र पेसागत दक्षताले पनि होला मिटरब्याज लेनदेनको बहिखाता चुस्ततापूर्वक माधवले सुरक्षित गरेको यथार्थलाई घटनाक्रमले पुष्टि गरिरहेका छन् ।

जसपा नेता उपेन्द्र यादवको मोही माग्न जाँदा ढुंग्रो लुकाउने सन्दर्भको त चर्चा जति गरे पनि कम हुन्छ । सप्तरीबाट चुनाव हारेपछि संसद् र सरकारबाहिर बस्न धैर्य नभएर रामसहाय यादव जस्ता सरल र आज्ञाकारी व्यक्तिलाई उपराष्ट्रपति बनाएर उनका लागि ठाउँ खाली गरेको विषय केटाकेटीले पनि बुझ्ने सामान्यज्ञानको विषय भएको छ । तर, उनी आफ्नो रुचि नरहेको तर साथीहरूको दबाब रहेको बताइरहेका छन् । उनमा सामान्य नैतिकता रहेको भए संसद्बाहिर रहेर पार्टी संगठनमै काम गर्न सक्दथे । यसो गरेको भए संसदमा प्रवेश गर्नका लागि गरिएको यो पर्दा बेगरको नाटक मञ्चन जनताले हेर्नुपर्ने थिएन ।

मन्त्रालयमा विज्ञभन्दा बफादार प्रिय :
अन्य मन्त्रालयमा त विज्ञता धेरै टाढाको विषय भयो । नेताका बफादारहरू घनघोर विज्ञ हुने भइगए । लामो समयदेखि अर्थ मन्त्रालयमा पनि विज्ञताको खोजीसम्म हुन छोडेको छ । कदाचित विज्ञ अर्थमन्त्री आए पनि प्रतिफल नआउने लोकरञ्जनका काममा खर्च गर्न दबाब सृजना गर्ने र उसलाई असफल बनाउन लागिपर्ने प्रचलन जस्तै बनेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर सर्वसाधारणको मनमा घृणाभाव फैलाइदिने काम गर्न एउटा समूह लागिपर्छ ।

केही दशक अगाडि रत्नपार्कमा औषधि बेच्ने कोटिका केही वाकपटु टपरटुइँयाहरूले उत्तेजक भिडियो राखेर सर्वसाधारणलाई भ्रमित बनाइदिने क्रम जारी छ । यस्तो गलत प्रचारबाजीको कारण असल मानिस कमसल र कमसल मानिस असल बन्ने अवस्था आएको छ । दिगो र प्रतिफल आउने काममा विनियोजन गर्नु कमजोरी जस्तो भइसकेको छ । पछिल्लो चरणमा ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले पनि यो नियति भोग्नुपर्ने अवस्था आयो । नेपाली अर्थतन्त्रलाई राम्रै गुन लगाएका रामशरण महतलाई सत्तोसराप गर्नेहरूको अहिले पनि कमी छैन ।

सीमित स्रोत साधनलाई बाँडफाँट गर्नुलाई हाइहाई गर्ने जमात ठूलो छ । राज्यले खर्च गर्न स्रोतको जोहो गर्नुपर्छ भन्ने सोचसम्म नभएकाहरू अर्थमन्त्रालयमा दाबी गर्ने भएका छन् । यस्ता दाबेदारलाई लाग्दछ राज्यको भण्डार भनेको कहिल्यै नसुक्ने स्रोत हो, यसलाई मनमौजी तवरले परिचालन गर्न सकिन्छ । अहिले पनि यो अवस्थाबाट पार पाउने स्थिति देखिँदैन । विज्ञता र सामाजिक स्वीकार्यतालाई भन्दा नेता र नेता पत्नी नजिककालाई चयन गरिने परिस्थिति बनेको छ । कुनै पनि चुनाव जित्ने आँट नभएका र सामाजिक स्वीकार्यता गुमाएका अर्थमन्त्रीको व्यक्तित्वको कारण शेयर बजारमा ठूलै पहिरो गयो भने आश्चर्य नमान्दा हुन्छ ।

दमननाथ ढुंगाना बसेको सभामुखको आसन र अहिलेका सभामुख घिमिरे बसेको आसन एउटै हो भन्ने पत्याउन कठिन भएको छ । बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेता जन्माउन यो देशले सक्ला कि नसक्ला मानिसहरू संशय व्यक्त गर्न थालेका छन् ।

सधैँ अभावग्रस्त देखिने र राजनीतिमा द्रव्यभय अरू खरिदका वस्तु हुन् भन्ने नेता र नेतापत्नीको आकांक्षा व्यवस्थापन गर्नु नयाँ अर्थमन्त्रीको लागि पहिलो दिनदेखिकै चुनौती हुनेछ । नेपालको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन यो नै ठूलो समस्या हुनेछ । देशमा केही गर्छु भनेर तमाम अवसर गुमाएर बसेका विज्ञता र स्वाभिमान भएका स्वर्णिम वाग्लेहरूको खोजी कसैले गर्दैन । राजा महेन्द्रले समेत विज्ञहरूको खोजी गरेर देश निर्माणमा लगाएका थिए तर आजको नेपालमा यो इतिहास मात्र बनेको छ ।

जनताजस्तै नेता :
वर्तमान प्रधानमन्त्री दाहालले कुनै कार्यक्रममा भन्नुभएको थियो- जनताजस्ता उस्तै नेता । हामी जनता पनि नेता जस्तै बनेका छौँ र नेता जनता जस्तै । अरू बेला हामी नेताहरूको तमाम आलोचना गर्छौं । चुनावको समयमा भने जागिर, सरुवा, बढुवा, विनाढेवाके विदेश लगायतका प्रलोभनमा परेर तिनै नेताका झोले बनिदिन्छौँ । चुनाव यस्तो अवसर हो जसमा जनताले नेतालाई अकल्पनीय सजाय र पुरस्कार दिन सकोस् । तर, हामी कृष्ण ताम्राकारले रेडियो नेपालमा समाचार वाचन गर्दादेखि सुनेका नेतालाई प्रतिनिधिको रूपमा छनौट गरिरहेका छौँ । दमननाथ ढुंगाना र मोदनाथ प्रश्रित जस्ता राजनीतिमा टिक्न नसकेर पलायन भएका छन् ।

दमननाथ ढुंगाना बसेको सभामुखको आसन र अहिलेका सभामुख घिमिरे बसेको आसन एउटै हो भन्ने पत्याउन कठिन भएको छ । बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेता जन्माउन यो देशले सक्ला कि नसक्ला मानिसहरू संशय व्यक्त गर्न थालेका छन् । नेता भनेको स्वार्थ र भ्रष्टाचारको बिम्ब बन्न लागेको छ । जो असल छन् तिनीहरू पनि स्वार्थी संस्थापनको पिरलो र अत्याचार सहन नसकेर पलायन बन्ने खतरा बढेको छ । गगन, विश्वप्रकाशहरूको क्षमता खेर गइरहेको छ । दशकौँदेखि देउवा जस्ता अक्षम र अकर्मण्य नेताहरूले राजनीतिमा हालिमुहाली गरिरहेका छन् ।

आदर्शका बिम्ब गणेशमानजीले जनतालाई भेडा भनेको पनि त्यसै होइन रहेछ भन्ने अवस्था आएको छ । हामी भेडा नभएको भए त पार्टी राजनीतिबाट देशलाई अधोगतितर्फ लाने नेतालाई विस्थापित गरिसक्नुपर्ने हो । घुमिफिरी रुम्जाटार भनेजस्तो राजनीतिलाई प्रदूषित गर्ने नेताहरूलाई नै हामी जनता मौका दिइरहेका छौँ । जनता जस्ता नेता उस्तै भनेको पनि ठिकै रहेछ भन्ने परिस्थिति बनेको छ । नेतालाई सुधार गर्ने जनता हो । जनताले आफ्नो व्यक्तिगत स्वार्थका लागि नेतालाई पटक/पटक क्षमा गरिरहने हो भने जनतालाई शक्तिको रूपमा बुझ्नुभन्दा स्वार्थको बिम्बको रूपमा बुझ्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा अझ बलियो बनेर जान्छ ।

जनताले आफूलाई शक्तिको रूपमा सुरक्षित गरिराख्नका लागि जनताले आफ्नो सार्वभौम अधिकारलाई बुझेर विवेकलाई कुनै पनि बाहनामा बन्धक बनाउन मिल्दैन । यसो भए मात्र नेताहरू सुध्रिन बाध्य बन्नेछन् अन्यथा राजनीति र राजनीतिक नेतृत्वमा देखिएको क्षयीकरणको पहिरो अझ फराकिलो बनेर जानेछ । बाटो बिराएको नेपालको राजनीतिलाई आदर्श बनाउन, जनताले परेका बखत विवेक प्रयोग गर्ने कि देशलाई लथालिंग बनाउन दिने समयमै सबै पक्षले विचार गर्न जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?