निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार यस नगरपालिकाले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको हो ।

उक्त तयारी कक्षा सञ्चालनको उद्घाटन गर्नुहँदै नगरप्रमुख खिलध्वज पन्थीले उत्साहजनक रुपमा उपस्थिति भएर तयारी कक्षाबाट भरपूर फाइदा लिन आग्रह गर्नुभयो । “तयारी कक्षामा सहभागी भई निजामती सेवामा प्रवेश गरी जनताको सेवा गरेको देख्ने हामी सबैको धोको छ ।” उहाँले भन्नुभयो,-“हामी सुरु देखि नै गम्भीर छौं । नयाँ-नयाँ कार्यहरुको शुभारम्भ गर्न खोजीरहेका छौं । हामी सबैप्रति जिम्मेवार बन्ने चरणमा छौं ।”

शैक्षिक रुपमा सफल भएका नागरिकहरुलाई अझ सक्षम बनाउन नगरपालिकामा महत्वपूर्ण कार्यको शुभारम्भ गर्न पाउँदा खुसी लागेको बताउनुभयो । त्यस्तै, सबै नागरिकको हरेक क्षेत्रमा पहुँच स्थापित गर्नु नै समुन्नती भएको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारमा नागरिकलाई सबल बनाउनतर्फ आफुहरु लागिरहेको उल्लेख गर्नुभयो ।

रेसुङ्गा नगररपालिकाभित्रका २३१ जनाले लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षामा सहभागी भएका छन् । जसमा लोक सेवाको तयारी गर्नका लागि १६५ जना र शिक्षा सेवाको तयारी गर्नका लागि ६६ जना तयारी कक्षामा सहभागी भएका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । तयारी कक्षामा सहभागी हुनका लागि नगरपालिका भित्रका उनीहरुले फाराम भरेका थिए । काठमाण्डौमा प्राप्त हुने सेवालाई स्थानीयस्तरमै विद्यार्थीहरुको सुलभताका लागि महत्वपूर्ण कक्षाहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशिक्षक दिपक पन्थीले प्रशिक्षार्थीहरुलाई लोक सेवा तथा शिक्षक सेवाका परीक्षामा सफलता प्राप्त गर्ने गरी आवश्यक तरिकाहरु जानकारी गराउने बताउनुभयो । विद्यार्थीले अध्ययनलाई निरन्तरतासँगै दृढ अठोटका साथ लैजानुपर्ने वायुसेवा निगमका लेखा अधिकृत समेत रहनुभएका प्रमुख प्रशिक्षक पन्थीको भनाई छ । तयारी कक्षा तीन महिनासम्म सञ्चालन हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?