खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य, महासचिवमा बस्नेत निर्वाचित

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा दिक्तेलबजारका व्यवसायी राजनप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
आचार्यले राजनैतिक भागबण्डाका आधारमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकोतर्फबाट कांग्रेस निकट समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै अध्यक्षमा शानदार जित निकाल्नु भएको हो ।

नेकपा एस निकटका आचार्य ३३४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनहुँदा जोशीले १३८ मत ल्याउनु भएको थियो ।

महासचिवमा स्वतन्त्र उम्मेदवार अजय बस्नेत निर्वाचित हुनुभएको छ । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकातर्फबाट माओवादी केन्द्रनिकट सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै युवा व्यवसायी बस्नेत निर्वाचित हुनुभएको हो । बस्नेतले ३४१ मत पाउदा उहाँका निकटतम प्रतिद्धन्दी श्रेष्ठ १२३ मतमा खुम्चिनु परेको छ ।

कोषाध्यक्षमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकातर्फबाट कांग्रेस निकट युधिर शाक्य निर्वाचित हुनुभएको छ । नेकपा एस निकटका नेत्र कट्वाललाई ७१ मतले पछी पारेर शाक्य विजयी भएका हुन् । शाक्यले २६० मत पाउनुभयो भने कटवाल १८९ मत पाउनुभयो ।

पराजित जोशीको प्यानलबाट सदस्यमा कुमार बजिमय ३७१, कृष्णकुमार श्रेष्ठ (मणि) २७८, टंकप्रसाद आचार्य ३०३, रोशन शैंजु ३१३, विपिन श्रेष्ठ २७७, हिरालाल पुरी २७२ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित अध्यक्ष आचार्यको प्यानलबाट एकजना कैलाश भट्टराईले २५२ मत ल्याई निर्वाचित भएका छन् । वाणिज्य संघको नेतृत्व चयनका लागि ६७१ मतदाता थिए । तर, मत भने ४८० मात्रै खसेको थियो ।

बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध चयन भए पनि अन्य पदाधिकारी चयनमा सहमती नजुटेपछि बिहीबार संघको भवनमा निर्वाचन भएको थियो ।

१७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित संघमा २० जनाको कार्य समिति हुने प्रावधान छ । निर्वाचित पदाधिकारीको कार्यकाल तीन वर्ष हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?