दाङमा अल्लो व्यवसाय संकटमा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । दाङमा अल्लो व्यवसाय संकटमा पर्दै गएको छ । महिलाले दाङका विभिन्न स्थानमा अल्लोको धागोबाट उत्पादन गरेका सामग्रीका लागि बजार अभाव भएको र विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा अल्लो व्यवसायको बिक्री-वितरण घटेको हो । ‘एक समय अल्लो व्यवसायतर्फ आकर्षण बढ्दै गएको थियो । खासगरी घरायसी कामकाजमा व्यस्त रहने महिला यो व्यवसाय घरमै बसेर पनि गर्न सकिने भएकाले आत्मनिर्भर बन्दै गएका पनि थिए,’ प्रभा ओलीले भन्नुभयो, ‘तर, अहिले व्यवसाय संकटमा पर्दै गएको छ । लगानी अनुसारको प्रतिफल प्राप्त नहुँदा व्यवसायी तथा पेसामा संलग्न अन्य व्यक्ति निराश बन्न थालेका छन् ।’

घोराहीमा मात्र ६ समूह
दाङमा ०६५/६६ देखि नै अल्लोको व्यावसायिक उत्पादन तथा प्रवद्र्धन सुरु भएको हो । व्यवसायी ओलीका अनुसार रुकुम-रोल्पाबाट दाङ झरेका मगर समुदायका महिला तथा पुरुषले सुरुवाती समयमा अल्लो व्यवसाय गरेका थिए । पछिल्लो समयमा दाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका अन्य समुदायका स्थानीयले पनि यो व्यवसायप्रति चासो र रुचि बढाउँदै गएका थिए । घोराही उपमहानगरपालिकामा मात्र अल्लोका विभिन्न सामग्री निर्माणसँग सम्बन्धित ६ वटा समूह क्रियाशील छन् । समूहमा ११६ महिला आबद्ध छन् । समूहभन्दा बाहिर र जिल्लाका अन्य स्थानमा पनि अल्लोको व्यवसाय गर्नेको संख्या उल्लेख्य रहेको ओलीको भनाइ छ ।

अल्लोका आधुनिक सामग्री
जिल्लाका अल्लोसम्बन्धी व्यवसायीले परम्परागत राडीपाखी मात्र नभएर आधुनिक सामान पनि उत्पादन गर्दै आएका छन् । घोराही-१८ की अल्लो व्यवसायी सरिता विश्वकर्माका अनुसार अहिले अल्लोको धागोबाट ज्याकेट, कोट, पाइन्ट, टोपीजस्ता कपडा तथा जुत्ता-चप्पललगायत सामग्री निर्माण हुँदै आएका छन् । विगतमा हातले बनाउँदा सबै किसिमका सामग्री निर्माण गर्न नसकिए पनि अहिले मेसिनको प्रयोगले सम्भव भएको छ । तर पनि विदेशी सामान जति मुलायम र मसिनो आकार दिन नसक्दा बिक्री–वितरणमा समस्या भएको विश्वकर्माले बताउनुभयो ।

यसरी टार्न सकिन्छ संकट
सचिव ओलीका अनुसार नेपालका पूर्वी जिल्ला संखुवासभालगायत स्थानमा दाङको भन्दा थप परिष्कृत सामग्री उत्पादन हुँदै आएका छन् । जिल्लामा सानो पुँजीका व्यवसायी भएकाले अध्ययन–अवलोकन गर्न नपाएको र परिष्कृत मेसिन किन्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । ‘संकटमा पर्दै गएको अल्लो व्यवसायलाई उठाउन सकिन्छ । त्यसका लागि साना पुँजीका व्यवसायीलाई राज्यले लगानी गरी अध्ययन–अवलोकन र मेसिन किन्नमा सघाउनुपर्छ,’ उहाँले भन्नुभयो । महिलालाई आत्मनिर्भर बनाउने हो भने घरमै बसेर पनि गर्न सकिने यस्ता व्यवसायमा राज्यको लगानी बढ्नुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?