विकास निर्माणका कामदेखि भौगोलिक विशेष क्षेत्र ऐन पारित गर्दै तिला गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिदै , भौगोलिक विशेष क्षेत्र ऐन ,शिक्षा ऐन संशोधनसहित विभिन्न कार्यविधि मंगलबार भएको नियमित हिउँदे गाउँ सभाबाट पारित गरेको छ ।

गाउँसभामा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले गाउँपालिकाका जन प्रतिनिधि, कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा इमान्दारीताका साथ खटेर काम गर्न निर्देशन दिनुभयाे । संघीयताको मर्मअनुसार जनताको हक अधिकारलाई स्थानीय तहमै सुनिश्चित गर्नको लागि आफुहरु लागि परेको बताउँदै उपाध्यक्ष बुढाले दिर्घकालिन बिकास निर्माणका कामलाई अगाडि बढाएकाे बताउनु भयाे ।

पालिकाको कृषि, पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले यसलाई अगाडि बढाउन सबैको सहयोग आवश्यकता रहेको उपाध्यक्ष बुढाले बताउनुभयाे । उहाँले भन्नुभयो , 'गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेटबाट नुवाकोट लिफ्ट सिंचाइ योजनाको ८२ लाख, भौतिक पुर्वाधार मर्मत संभार कोषका लागि छुटाएको ४५ लाख र तिला साना जलविद्युत पेनस्टिक पाइप खरिदका लागि ५६ लाख ५७ हजार गरि जम्मा १ करोड ८३ लाख ५७ हजार बजेट हालसम्म खर्च हुन नसकेकोले हिउदे गाउँसभाबाट सो बजेट पालिकाको १ देखि ९ वडासम्म विभिन्न योजना तथा कार्यक्रम छनौट गरि बजेट विनियोजित भएको ।'

खर्च हुन नसकेको बजेट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा हिउँदे गाउँसभाबाट बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । अनुगमन तथा सुपरिवेक्षण कार्यविधि २०७९, स्थानीय पुर्वाधार मर्मत संभार कोष तथा कार्यसंचालन कार्यविधि २०७९, विषयगत समिति कार्यसंचालन कार्यविधि २०७९, आपतकालिन कार्यसंचालन कार्यविधि २०७९, विपद् व्यवस्थापन कोषसंचालन कार्यविधि २०७९ र स्थानीय पुर्वाधार विकास आयोजना कार्यसंचालन कार्यविधि २०७९ हिउँदे गाउँ सभाबाट पारित भएको अध्यक्ष रोकायाले बताउनुभयो ।

सेवा प्रवाहलाई चुस्त बनाउनका लागि पालिकाका सबै वडाकार्यालय र विषयगत शाखाका कर्मचारीलाई निर्देशन दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत महोन विष्टले जानकारी दिनुभयो । कर्मचारीले ढिलासुस्ती र सेवाग्राहीलाई सास्ती हुने गरि काम गरेको भए सिधै खबर गर्न सबैलाई अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ ।

पालिकाको वडा नं ६ लाई बाल बिवाह मुक्त वडा घोषण तथा बाल मैत्री वडा घोषणा गर्नका लागि बजेट ब्यबस्थापन भएको वडाध्यक्ष जंगबहादुर रोकायाले बताउनुभयो । वडामा स्तनपान कक्ष र हेल्पडेक्स स्थापन गरिने सो वडाले जनाएको छ ।

जिल्ला समन्वय समितिका सदस्य पदमबहादुर रावतले शिक्षा क्षेत्रमा राजनीति भएकोले यसको अन्त्य गरेमात्र गुणस्तरीय शिक्षा प्रदान हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले स्थानीय सरकार र मिडिया एक आपसमा सहकार्य समन्वयको माध्यम बाट जान जरुरी रहेकाे बताउनु भयाे । स्थानीय सरकारले मिडिया क्षेत्रमा बजेट छुट्टाउन आवश्यक रहेको उहाँकाे भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष बुढाले प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले हिउँदे गाउँसभाका सदस्यले अनुमोदन गरेकाे बताउनुभयाे । गाउँसभामा पालिकाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राखेका थिय । गाउँ सभामा बोल्ने बक्ताहरुले स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?