रोयल फ्रेण्डसिपलाई राइनास फुटबलको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रोयल फ्रेण्डसिप युवा क्लब लमजुङले दोस्रो राइनास कप खुला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी लमजुङको राइनास नगरपालिका वडा नम्बर ६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा भएको फाइनलमा कालिका युवा क्लब भण्डारथोक गोरखालाई २-० ले पराजित गर्दै फ्रेण्डसिप उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै रोयल फ्रेण्डसिपले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको कालिकाले एक लाख रुपैयाँ, कप र मेडल हात पारेको छ । सेमिफाइनलमा पराजित मस्र्याङ्दी युवा क्लब हवाई ग्राउण्ड र विवाइसी भोटेओडारलाई समान २० हजार रुपैयाँ प्रदान गरिएको गौलिटार क्षेत्रीय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।

रोयल फ्रेण्डसिपका सागर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । फ्रेण्डसिपकै रोशन क्षेत्री सर्वाधिक गोलकर्ता तथा फ्रेण्डसिपकै लिलजंग तामाङ उत्कृष्ट गोलरक्षक घोषित हुनुभएको छ । उहाँहरू सबैले समान पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य डा. टकराज गुरुङ, राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, राइनास ६ का वडाध्यक्ष गोविन्दराज चिलुवाल, नेपाली कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगै क्लबका पदाधिकारीले पुरस्कृत गर्नुभयो ।

फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका गरी विभिन्न १८ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष १२ टोलीले प्रतिस्पर्धा गर्दा चक्रतीर्थ युवा क्लब सातबिसे लमजुङ पहिलो भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?