पृथ्वीबहादुर शाह प्रकरण : ठगीसम्बन्धी चारवटा मुद्दा लगाउनुपर्ने सिआइबीको सुझाव, ठग्नकै लागि खडा गरे २४ कम्पनी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिकी नागरिकसँग ठगी गरेको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्युरोले शाह र उनका सहयोगी मिलेर विभिन्न कम्पनी नै खडा गरेर नेपालको कानुनविपरीत विदेशी मुद्रासमेत भित्र्याएको खुलेको जनाएको छ ।

अमेरिकी नागरिकसँग एन्टिभाइरस, बिल भुक्तानी लगायतका सम्बन्धमा सम्पर्क स्थापित गरेर ठगी गरेको खुलेको ब्युरोले जनाएको हो । अवैध रूपमा ठगी गरिएको रकम थाइल्याण्डसमेत पठाउने गरेको पाइएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

त्यस्तै, ब्युरोले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सुझाव दिएको छ । सिआइबीले शाह, उनका भाइ विजयविक्रम शाहसहितका व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो । ठगी र संगठित अपराधमा शाहसँगै पक्राउ परेका सातजना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन भनिएको छ ।

घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई सात वर्ष कैद र ७० हजार जरिवाना हुने कानूनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताउनुभयो । उहाँले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्ड सजायको व्यवस्था पनि हुनसक्ने कानुनी व्यवस्था गरेको बताउनुभयो ।
उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरूविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत उजुरी दिएका छन् । केही क्यानाडियन र बेलायती नागरिकहरू पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टिभाइरस अपडेट लगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेको पनि प्रवक्ता थापाले बताउनुभयो ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सिआइबीको अनुसन्धानमा उल्लेख गरिएको छ । शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने पाँच वाणिज्य बैंकलाई समेत राष्ट्र बैंकले कारबाही गरेको छ ।

शाह जनार्दन शर्मा अर्थमन्त्री हुनुभएका बेला ४० करोडभन्दा बढी स्रोत नखुलेको रकम विदेशबाट नेपाल भित्र्याउन सक्रिय भएपछि चर्चामा आएका थिए । उनको कालो धन नेपाल भित्र्याउन सघाउन तत्कालीन अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको भन्ने हल्ला त्यतिबेला चर्चामा आएको थियो । तर, राष्ट्र बैंकले नमानेपछि गभर्नर महाप्रसाद अधिकारीलाई शर्माले सोही विवादपछि हटाउनुभएको थियो । अधिकारी अदालतको आदेशबाट पुनर्वहाली हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?