माओवादी स्थिर बस्ने पार्टी होइन, यो कहिले अघि बढ्छ कहिले पछि हट्छ : उपमहासचिव गजुरेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गर्नुभयो । उहाँले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गर्नुभयो ।

उहाँले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनु भयो । उहाँले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताउनु भयो । उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोशिस गर्नुभयो उहाँले सफल पनि हुनुभयो । त्यो अरु कुनै कारण होइन, मानिसहरुले कुर्सीको लागि यता, उता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो । २०६४ को चुनावमा प्रत्यक्षतर्फ १४० जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो । तर आफूले चालेको कदम असफल भएपनि जिम्मेवारी लिएर दिनुभयो । तर अहिले त्यस्तो होइन, कहिले यता कहिले उता भन्ने प्रश्न छ, तर यसमा प्रधानमन्त्रीको भनाइ के छ भने, यो देश यहाँ आइपुग्ने थिएन, माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन हुने थिएन, शान्ति प्रक्रिया अघि बढ्ने थिएन । त्यसकारण माओवादी अहिलेसम्म यता उती नगरेको भए सम्भव थिएन, कहिले अघि बढ्ने कहिले पछि हट्ने गरेर जिम्मेवारी गरिरहेको छ । शान्ति प्रक्रियाको केही काम बाँकी छ, बेपत्ताहरुको समस्या, शान्ति प्रक्रियासम्बन्धी विभिन्न मुद्दा बाँकी छन्, त्यसलाई समाधान नगरेसम्म फेरि बल्झिने खतरा हुन्छ, त्यसैले शान्ति प्रक्रिया र हस्ताक्षर कर्तामध्ये एक जना आफू हुनुहुन्छ, त्यसैले आफैँले सम्बोधन गर्न र पहल गर्न आवश्यक छ भनेर लागिपर्नु भएको छ । त्यसले एउटा सकारात्मक सन्देश गइरहेको छ । पाइलैपिच्छे चुनौति छन् तर जनताले थोरै आशा गरेका छन् ।’

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?