गीत संगीतसम्बद्ध ६ संस्थाद्वारा सुवास रेग्मीको गाली गलौजविरुद्धको उजुरीमा साथ

Read Time = 5 mins

काठमाडौं । गीत-सांगीतिक क्षेत्रमा सक्रिय आधा दर्जन संघसंस्थाले बुधबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सांगीतिक क्षेत्रमा व्याप्त विकृती, विसंगति, अपमानजनक, बेइज्जतीपूर्ण तथा समाजमा अफवाह फैलाउने शैलीका फोहोर शब्दहरू लेखी निन्दनीय कार्य गरेकोप्रति गीतसंगीतको क्षेत्र दुःखी भएको जनाएका छन् ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रमजंग शाह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर तथा प्रस्तोता समाज नेपालका महासचिव भीषण मुकारुङद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय देखिएको विकृतिप्रति खेद प्रकट गरिएको छ ।

‘पछिल्लो समय हाम्रा संस्थागत र सामूहिक अपिलहरूलाई वेवास्ता गर्दै स्रष्टा र सर्जकहरूको सिर्जना तथा कृतिहरूको आडमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका विन्द्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले आफ्नो सामाजिक सञ्जाल, फेसुबकको गलत तबरले दुरुपयोग गर्दै देशका चर्चित तथा अग्रज गीतकार, संगीतकार, गायक, गायिका, वाद्यवादक पत्रकार, नेता तथा सामाजिक अभियन्तासमेतलाई लक्षित गरी पढ्नै र सुन्न नसकिने अपमानजनक बेइजीपूर्ण र समाजमा अफवाह फैलाउने फोहोरी शब्दहरू लेखी अत्यन्त निन्दनीय कार्य गरेकोप्रति हामी सिंगो सांगीतिक क्षेत्र दुखित भएका छौं र निजको सो कार्यप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यही विषयलाई लिएर गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्युरो भोटाहिटीमा जाहेरी दरखास्तप्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधिमूलक संघसंस्थाहरूको तर्फबाट सुवास रेग्मीप्रति घोर भत्र्सना गरिएको छ ।

‘आम जनसमुदायको भावनासहित उक्त जाहेरी उपर भएको अनुसन्धानमा समर्थन जनाउँदै उक्त कार्यप्रति साथ र सहयोग रहेको प्रतिबद्धतासहित भविष्यमा यस्ता प्रवृत्तिहरू सदाका लागि निर्मूल होस् भन्ने कामनाका साथ सम्बन्धित निकायलाई यस घटनाप्रति गम्भीतरतापूर्वक ध्यानाकर्षण गराउँदै न्याय निरुपणका लागि विनम्र अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीप्रति यी संस्थाले समर्थन जनाएका हुन् । गत फागुन ८ गते प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्याण्डबाट नेपाल आउने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको थियो । रेग्मी अहिले प्रहरी हिरासतमा छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट थप तीन दिन म्याद थपिएको छ ।

उनीविरुद्ध पहिले पनि नेपालका ५७ जना स्रष्टा तथा कलाकारले ध्यानाकर्षण गराउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए । रेग्मी रोयल्टी संकलन समाजको उपाध्यक्षसमेत हुन् । उजुरीकर्ता आचार्यले रेग्मीजस्ता व्यक्तिको प्रवृत्ति र सांगीतिक क्षेत्रमा देखिएको कुरुतीविरुद्ध आफ्नो लडाइँ रहेको प्रतिक्रिया दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?