नेपाली चियालाई अन्तर्राष्ट्रिय अवार्ड

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । नेपाली चियाले ग्राण्ड गोल्ड मेडल, गोल्ड मेडल र सिल्भर मेडल प्राप्त गरेको हो । चीनको चीन चिया मार्केटिङ संघद्वारा आयोजित दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अबार्ड प्राप्त गरेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराएको हो ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगको एफ्टी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जिटिइ-गोल्डेन चिया, सिल्भर वीङ्स, गोल्डेन टिप्स चियाले गोल्डेन अबार्ड पाएका छन् ।
बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको जनाएको छ । उक्त प्रतिस्पर्धामा बोर्डले नेपालभरका ४० वटा चियाका नमुना संकलन गरी बोर्डमै भएको टेष्टिङ (चियाको स्वाद एवं गुणस्तर परीक्षण)का आधारमा १६ वटा चियाका नमुना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अवार्ड नेपालको चिया क्षेत्रमा कार्यरत चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, बिक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीका लागि एउटा ऐतिहासिक उपलब्धि र गौरवको विषय भएको बताउनुभएको छ । बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनका लागि पहल गरिरहेको र चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्र चीन, भारत, केन्या, श्रीलंका लगायतसँग कडा प्रतिस्पर्धा गर्दै अवार्ड प्राप्त गर्नु विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोकृष्ट रहेको प्रमाणित हुनु भएकोले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात बढ्ने बोर्डले अपेक्षा गरेको छ ।

गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार नौसय १७ हेक्टरमा २३ तीन हजार सातसय ४५ मेट्रिकटन चिया उत्पादन हुँदै आएको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?