राष्ट्रपति निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारको दौडधुप तीव्र

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा दलीय र उम्मेदवारको दौडधुप तीव्र बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा दल र उम्मेदवारहरूले दौडधुप तीव्र पारेका हुन् । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङ दुवैले भेटघाटलाई तीव्रता दिनुभएको छ । उहाँहरूले दलीय र एकल भेटघाटलाई समेत तीव्रता दिनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका पौडेल आठ दलीय गठबन्धनको समर्थनमा र नेम्वाङ नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । दुवैले विभिन्न दलका शीर्ष नेतादेखि सांसदहरूसँग भेटवार्ता गरिरहनु भएको छ ।

बिहीबार मात्रै नेम्वाङले तीन पार्टीका कार्यालयमै पुगेर नेताहरूसँग भेटवार्ता र मत माग्नुभएको छ । त्यस्तै, अर्का उम्मेदवार पौडेलले पनि आफूलाई समर्थन गर्ने आठ दलका सांसदहरूलाई पत्र लेख्दै मत माग्नुभएको छ । पौडेलले पनि यसअघि विभिन्न दलका शीर्ष नेताका घरमै पुगेर र पार्टी कार्यालयमा पुगेर मत माग्नुभएको थियो ।

एकैदिन तीन पार्टीको कार्यालयमा नेम्वाङ
सहयोग गर्न माधव नेपालसँग आग्रह
नेकपा (एमाले)बाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको हो । भेटमा उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल सहभागी हुनुहुन्थ्यो । भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा हुनुहुन्थ्यो ।

भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको स्मरण गराउँदै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको उहाँले बताउनुभयो । एकीकृत समाजवादीले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको दाबी गर्नुभयो ।

रास्वपाले सहयोग गर्ने एमालेको विश्वास
छलफलपछि निर्णय गर्छौं : प्रवक्ता ढकाल
नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेको छ । बिहीबार एमाले प्रतिनिधि मण्डलले रास्वपा सभापति लामिछानेसँग भेट गरेर सहयोग गर्न आग्रह गरेको हो । रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई सहयोग गर्ने विश्वास रहेको एमाले सचिव योगेशकुमार भट्टराईले बताउनुभयो । सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको उहाँको भनाइ छ । रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको उहाँले बताउनुभयो ।

मुलुकले जसरी राष्ट्रिय सहमति खोजिरहेको छ, त्यसलाई सहमतितर्फ फर्काउन सक्नेमा (नेम्वाङ) उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकले नै कम पाउँछ । यो एउटा मौका हो भन्ने कुरा उहाँले गर्नुभयो । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । आफूहरूले भने पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको उहाँले बताउनुभयो । ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’

राप्रपासँगको सहकार्यमा निरन्तरता हुने विश्वास
कसलाई मतदान गर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्छ : राप्रपा नेता लोहनी
नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । बिहीबार पार्टीका नेताहरूसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न अध्यक्ष लिङ्देनलाई आग्रह गर्नुभएको हो । भेटघाटपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताउनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । त्यस्तै, भेटघाटपछि एमाले सांसद विद्या भट्टराईले नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गर्नुभयो । उहाँले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसदहरूलाई पौडेलको पत्र : सत्तामा हुँदा गल्ती गरेको छैन, राष्ट्रपतिमा जिताइदिनू
राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मत माग्दै सांसदहरूलाई पत्र लेख्नुभएको छ । बिहीबार आफूलाई समर्थन गरेका आठ दलका सांसदहरूलाई पत्र पठाउँदै पौडेलले आफूले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको जिकिर गर्नुभएको छ । पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानव अधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको उहाँले बताउनुभएको छ । ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि संघर्षको बेडा उठाउँदै आएँ । फलतः निर्दलीय निरंकुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ,’ पत्रमा उहाँले भन्नुभएको छ, ‘बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरूमा पनि कहीँ कतै नचुकीकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छुु ।’ पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास छ भनेर बताउनुभएको छ ।

मप्रति सबै सकारात्मक हुनुहुन्छ : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रूपमा आफूमाथि सबैले भरोसा राखेको बताउनुभएको छ । आफूले सबैको माया पाएको भन्दै उहाँले सबै सांसदहरू आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको बताउनुभयो । आफूले संविधानको संरक्षण गर्ने कुरामा सांसदहरूले भरोसा मानेको उहाँको भनाइ छ । ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ । मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरूलाई विश्वास दिलाउने काम गरिराखेको छु,’ पौडेलले भन्नुभयो, ‘सबै अत्यन्त सकारात्मक हुनुहुन्छ । तपाईं पुरानो मान्छे भनेर माया गर्छन् । तपार्इंमाथि भरोसा छ र तपाईंले संविधानको संरक्षण गर्नुहोला भन्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?