‘हायु जातिको विकासमा स्थानीय सरकार कटिबद्ध’

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । लोपोन्मुख जाति हायुको सीप र पहिचान विकासका लागि कमलामाई नगरपालिका कटिबद्ध रहेको नगर प्रमुख उपेन्द्रकुमार पोखरेले बताउनुभएको छ ।

हायुको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक, सामाजिक विकासका लागि आफु कटिबद्ध रहेको उहाँले बताउनुभएको हो ।
शुक्रबार सिन्धुलीमाढीमा आयोजित हायु एकता समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘विविध जातजाति, भाषाभाषी, धर्म, पराम्परा, संस्कार र संस्कृति संरक्षणका लागि कमलामाई नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको छ, यहाँको स्थानीय सरकारले पूर्ण साथ र सहयोग गर्ने छ ।’

हायु जातिको कला, संकृति, पहिचान झल्किने र बचाउने संग्राहालय बनाउन स्थानीय सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धतासमेत जनाउनुभयो । आफ्नो जातजाती, भाषाभाषी, धर्म, पराम्परा, संस्कार र संस्कृति जर्गनाका लागि हायु संग्राहालय संचालन गर्न लाग्न पनि उहाँले हायु समुदायका अगुवाहरुलाई अनुरोध गर्नुभएको छ । यसको लागि नीति तथा कार्यक्रम नगरले बनाइसकेको र आवश्यकताअनुसार थप गदैँ जाने उहाँले उहाँले बताउनु भयो ।

हायु जातिको संस्कृति, पहिचान र सभ्यता बचाउन सबैको सामुहिक भावना हुनुपर्नेमा उहाँको जोड छ । उहाँले नगरले ०७९/०८० को नीति तथा कार्यक्रममा हायु जातिसहित लोपन्मुख सबै जातजाती लक्षित कार्यक्रमलाई समेटिएको बताउनुभयो ।
हायु जातिको पराम्परागत सीपको सदुपयोग गरेर उत्पादन वृद्धि गरी आर्यआर्जन बढाई जिल्लालाई समृद्ध बनाउन लाग्न पनि हायु समुदायलाई उहाँको आग्रह छ ।

उहाँकाअनुसार कमलामाई नगरपालिकामा मात्रै एक हजार ५७ जना हायु जातिले सामाजिक सुरक्षा भक्ता बुझ्ने गर्दछन् ।
गोलञ्जोर गाउँपालिका प्रमुख शंकर राज बरालले हायु जातिको संरक्षण र सभ्यताको लागि गाउँपालिकाले रचनात्मक र सकारात्मक गर्ने आश्वासन दिनुभयो ।

हायु एकता समाज नेपालका अध्यक्ष टलकबहादुर हायुको अध्यक्षतामा संचालन भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ नेपालका महासचिव दिवस राईले हायु जातिको भाषा, संस्कार र संस्कृतिको संरक्षणमा राज्यको ध्यान जानुपर्ने धारणा राख्नुभएको थियो ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?