दूधको मूल्य बढाउने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले कच्चा दूधको मूल्यवृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डिडिसीले हाल फ्याट निकालिएको नीलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यू लगायतको पनि मूल्य बढ्न जानेछ ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको बताइएको छ । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्मा पेस गरेको थियो ।

यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार पनि दुई-दुई वर्षमा मात्रै बजार मूल्य समायोजन गर्न मिल्ने व्यवस्था रहेको छ ।

लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डिडिसी)ले फ्याटको आधारमा स्टाण्डर्ड दूधको मूल्य प्रतिलिटर नौ रुपैयाँ, चिया–दूधमा १० रुपैयाँ, गाईको दूधमा १२ र फुलक्रिम दूधमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरूले पनि सोहीअनुसार मूल्य बढाएका थिए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार पछिल्लो ११ वर्षको अन्तरालमा दूधको मूल्य सातपटक बढेको छ । गत वर्षको माघमा सरकारले प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि गत आर्थिक वर्षसम्म ४२ रुपैयाँले दूधको मूल्य बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?