१२ वर्ष अघिको मुद्दामा न्याय माग्दै स्थानीय

हिमालय टाइम्स
Read Time = 8 mins

सुरेश धामी/हिटा
बझाङ । बझाङको बुंगल नगरपालिका-६ स्थित साबिकको पीपलकोट गाविसका सचिवले सामाजिक सुरक्षा भत्ता र अनौपचारिक शिक्षा कक्षा सञ्चालन बापतको रकम हिनामिना गरिएको पाइएको छ । उनले तत्कालीन समयमा ६ लाख ९३ हजार ३६६ रुपैयाँ हिनामिना गरेको पाइएको हो । तत्कालीन गाविस सचिव साबिक भातेखोला गाविस हाल मष्टा गाउँपालिकाका महेश जोशीले २०६७ सालको सामाजिक सुरक्षा भत्ता र अनौपचारिक शिक्षा कक्षा सञ्चालन बापतको उक्त रकम हिनामिना गरेको भेटिएको हो ।

त्यो समयमा स्थानीयले जोशीलाई कानुनी कारबाही गर्नुपर्ने आवाज उठाएका थिए । स्थानीयले आवाज उठाएपछि जोशीबाट हिनामिना रकम असुल गर्न त्यही समयमा सर्वदलीय बैठकसमेत बसेको थियो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाट निवर्तमान वडा अध्यक्ष धनबहादुर सिंह, नेकपा एमालेबाट भीमबहादुर धामी, माओवादी केन्द्रबाट किशोर कुँवर गिरीले पीडित स्थानीयलाई न्याय दिने आश्वासन दिनुभएको थियो । आरोपित सचिव जोशीलाई कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग थियो ।

तर, राजनीतिक दलका प्रतिनिधिहरू मिलेर कानुनी कारबाही गर्दा आरोपित सचिव जोशीको जागिर जाने भन्दै सचिवको जागिर जोगाइदिन एक वर्षभित्र जोशीबाट जसरी पनि हिनामिना रकम असुल गर्ने भन्दै तीनै पार्टीका तीनजना प्रतिनिधिले प्रतिव्यक्ति दुई लाख ३१ हजार १२२ रुपयाँका दरले गाविसको सरकारी रकमका साहु (धनी) भएर आफूहरूबाट साहुलाई तिर्न ऋण लिएको भनी आरोपी सचिव जोशीका बुबा जन्मजय जोशीकोे नाममा तमसुक बनाएर लिए । छोराको जागिर जोगाउनकै लागि एक वर्षभित्र साँवा ब्याज एकमुष्ट बुझाउनेछु र बुझाउन नसके मेरो घर-घरनबाट असुलउपर गरी लैजानु भनी आरोपित सचिवका बुवा धन्मजयले सहमतिमै दायाँबायाँ औँठाछाप लगाई साँचीहरू राखेर तमसुक गरिदिनुभयो ।

त्यसपछि पनि सामाजिक सुरक्षा भत्ता बापतको रकम र अनौपचारिक शिक्षा कक्षा सञ्चालन गरे बापतको पारश्रिमिक नपाएका पीडित स्थानीयले उक्त रकम आफूहरूले पाउनुपर्ने माग गर्दै बेलाबेलामा पार्टी प्रतिनिधि र गाविसका प्रतिनिधिलगायत सम्बन्धित निकायलाई गुुहारे । तर, कुनै निकायबाट केही सुनुवाइ भएको छैन । यता, उक्त रकम असुल गर्ने जिम्मा लिएका तिनै पार्टीका प्रतिनिधिहरू अहिले मौन बसेको र रकमको खोजीमा चासो नदेखाएको आरोप स्थानीयको छ ।

स्थानीय रमेश बोहराले गत वैशाखमा नयाँ जनप्रतिनिधि आएपछि भने उक्त हिनामिना रकमको खोजीकार्य गर्दै वडा कार्यालयमा निवेदन दिनुभएको छ । उक्त निवेदनपछि अहिले १२ वर्ष पछि बुंगल नगरपालिका-६ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य प्रेम धामीको नेतृत्वमा स्थानीयसहित लागेर उक्त रकमको खोजी कार्य सुरु भएको छ । निर्वाचित वडा सदस्य धामीले उक्त हिनामिना रकम असुलउपर गरिपाऊँ भनी गत भाद्र महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा समेत उजुरी दिनुभएको थियो । तर, आयोगले पनि अहिलेसम्म कुनै सुनुवाइ नगरेपछि ४५० स्थानीय जनताले हस्ताक्षर गरी बिहीबार बुंगल नगरपालिकाको न्यायिक समिति र जिल्ला प्रसासन कार्यालय बझाङमा पनि उजुरी दिएका छन् । बुगल नगरपालिकाका न्यायिक समिति प्रमुख तथा नगर उपमेयर धनबहादुर बोहराले उक्त निवेदन दर्ता गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएकोे बताउनुभएको छ ।

इता, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले उक्त निवेदन दर्ता गर्न नमानेको वडा सदस्य प्रेम धामीले बताउनुभएको छ । यो विषय जिल्ला प्रशासन कार्यालयले भन्दा पनि नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतले हेर्ने भन्दै निवेदन दर्ता गर्न नमानेको धामीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले भने आरोपित जोशीले रकम हिनामिना गरेको पुष्टि हुने कागजात तथा प्रमाण नभएकाले उक्त निवेदन दर्ता नगरेको बताउनुभएको छ ।

उहाँले सरकारी रकम हिनामिना गरेको प्रमाण आरोपित सचिव जोशीको नामको नभएको र उहाँको बुवा जन्मजय जोशीकोे नामको तमसुक पनि सरकारी रकम नभएर तीनजना व्यक्तिबाट ऋण लिएको तमसुक रहेको र तमसुक आफूले नभएर अदालतले छुट्याउने बताउनुुभयो । उहाँले आरोपित जोशीलाई फोन गरेर हिनामिना गरेको रकम एक हप्ताभित्र बुझाइ आफूलाई बुझाएको जानकारी गराउनसमेत निर्देशन दिएको बताउनुभएको छ ।

आरोपित सचिव जोशीले भने उक्त रकम उतिबेलै जिल्ला विकास समितिमा बुझाएको दाबी गर्नुभएको छ तर उहाँसँग रकम बुझाएको केही प्रमाण छैन । पार्टीका प्रतिनिधिले तपार्इंको जागिर जोगाउने तरिकाले सहमति गर्दा पनि किन तपाईंले जिविसमा पैसा बुझाउनुभयो भन्ने प्रश्नमा उहाँले कुनै जवाफ दिनुभएन । जिविसमा पैसा बुझाएको जानकारी पार्टीका प्रतिनिधिलाई पनि नगराएको उहाँले बताउनुभयो । पैसा असुल गर्न साहु बनेका पार्टीका प्रतिनिधिहरूले भने जोशीले अहिलेसम्म पैसा नबुझाएको र आरोपित जोशी सम्पर्कमै नरहेको बताएका छन् । भदौमै दर्ता भएको उक्त मुद्दा अगाडि बढ्ने प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले जनाएको छ । धेरै मुद्दाहरू भएर केही ढिलो भएको र अब उक्त मुद्दाको अनुसन्धान अगाडि बढाइने अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?