काठमाडौं । पछिल्लो समय राजसंस्था समर्थकहरू सल्बलाउन थालेका छन् । वर्तमान राजनीतिप्रति वितृष्णा बढिरहेका बेला राजावादीहरू सक्रिय हुन थालेका हुन् । स्वयं पूर्व-राजपरिवारसहित समर्थक पार्टी, संस्था र समूहले सक्रियता बढाएका छन् । उनीहरू विभिन्न अभियानका नाममा जनमत ‘क्याच’ गर्ने अभियानमा छन् । प्रजातन्त्र दिवसका अवसरमा स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति चिन्ता व्यक्त गर्दै ‘अब मौन बस्न नसक्ने’ चेतावनी दिनुभएको थियो । त्यसपछि उहाँ झापाको एक सार्वजनिक कार्यक्रममा समेत सामेल हुनुभयो । अहिले ज्ञानेन्द्र भारत भ्रमणमा हुनुहुन्छ । नेपालमा अस्थिर राजनीतिक खेल भइरहेको बेला उहाँको भारत भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्व-राजासमेत सक्रिय रहेको बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ अभियान सुरु गर्नुभएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर सडक आन्दोलननै सुरु गर्नुभएको छ । प्रसाईंको समूहले शनिबार काठमाडौंमा बृहत् प्रदर्शन गरेको छ ।
नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै समूहले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन शक्ति प्रदर्शन गरेको हो । पूर्वराजा शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवा लगायतका देशका विभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आइपुगेको हो । अभियानमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनासँगै लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डासमेत अघि सारिएको छ । स्वयं पूर्वराजा उपस्थित भएर सुरु गरिएको अभियान काठमाडौंसम्म आइपुगेपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दल र तिनका नेताहरू झस्किएका छन् । उनीहरूले सार्वजनिक कार्यक्रम र विभिन्न सञ्चार माध्यममा समेत प्रसाईंको अभियानप्रति तिखो टिप्पणी गर्ने गरेका छन् । प्रजातन्त्र दिवसमा पूर्व-राजाले दिएको सन्देशलाई लिएर पनि विभिन्न टीका टिप्पणी भएको थियो ।
राजसंस्था पुनःस्थापना गर्न माग
विरोध प्रदर्शनमा सहभागीहरूले नेताहरूले देश बिगारेको आरोप लगाएका थिए । हालका नेताहरूले राजाको पालामा बनेका उद्योगधन्दा बेचेर नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न खोज्दा एउटा अपराधी जस्तो व्यवहार गरेको आरोप उनीहरूको छ । कार्यक्रममा सम्बोधन गर्दै अभियानका संयोजक दुर्गा प्रसाईंले पार्टीको क्लब छोडेर सडकमा आएको उल्लेख गर्दै ‘नेपालको उच्च नागरिक’ पूर्व–राजालाई मेचीमा लगेर धर्मसंस्कृति बचाउने दियो बालेको दाबी गर्नुभयो । गणतन्त्रले देश ऋणमा डुबाएको भन्दै उहाँले राजसंस्था पुनःस्थापनाको माग गर्नुभयो । ‘हिजो कम्युनिष्ट नामका साथीहरूले सर्वहारा वर्गको कुरा गर्दै उनीहरूको भोट लिएर अहिले दरबारमा हुनुहुन्छ । सुकुम्बासी टोलबाट २२ रुपैयाँको भुक्के चप्पल लगाएर सिंहदरबार छिर्नुभएका उहाँहरूको काठमाडौंमा पाँच/६ वटा घर छन्,’ प्रसाईंले भन्नुभयो, ‘जुन जनतालाई देखाएर उनीहरू कम्युनिष्ट भए तिनको जंगलको बास छ । यसको हामीले अन्त्य गर्नुपर्छ ।’
राजतन्त्र चाहिने भए पूर्व-राजपरिवार पनि सडक आन्दोलनमा आउनुपर्छ : प्रसाईं
अभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापना गर्न स्वयं पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा आउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा शक्ति प्रदर्शनका क्रममा प्रसाईंले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने बताउनुभयो । प्रदर्शनमा सहभागीहरूले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा शाह सडक आन्दोलनमा नआएको भन्दै प्रसाईंले आक्रेशसमेत पोख्नुभयो । ‘राजतन्त्र चाहिने हो भने उहाँहरू(पूर्वराजा) पनि आन्दोलनमा आउनुपर्यो । हामीसँगै आउनुप¥यो । भिड्नुपर्यो,’ प्रसाईंले भन्नुभयो, ‘साथ दिनुपर्यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइनौँ ।’
प्रसाईंको अभियानमा सहभागी नहुन लोहनीको निर्देशन
व्यवसायी दुर्गा प्रसाईंले पूर्व-राजालाई अघि सारेर सुरु गरेको महाअभियानबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा छलफल भएको छ । राप्रपा निर्देशक समितिको बैठकमा उक्त महाअभियानमा पार्टीले लिने रणनीतिबारे अनौपचारिक सल्लाह भएको हो । यसअघि मेचीपुलमा पूर्व–राजपरिवारसमेत सहभागी महाअभियान उद्घाटनमा राप्रपाका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । राप्रपाका निर्देशन समितिका सदस्य रामकुमार सुब्बा र प्रवक्ता सगुन सुन्दर लावतीसमेत उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा केशरबहादुर विष्ट सहितका वक्ताहरूले राप्रपा नेतृत्वमाथि प्रहार गर्नुभएको थियो । यसलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिएको बुझिएको छ ।
मेचीपछि धनगढी महेन्द्रनगर र भैरहवामा भएका कार्यक्रममा राप्रपाका नेताहरू उपस्थित भएनन् । कञ्चनपुरमा भने राप्रपाका केन्द्रीय सदस्य नन्ददेवी जोशी उपस्थित हुनुभएको थियो ।
बैठकमा निर्देशक समितिका संयोजक डा. प्रकाशचन्द्र लोहनीले प्रसाईंको आन्दोलनमा सहभागी नहुन राप्रपाका केन्द्रीय नेताहरूलाई निर्देशन दिनुभएको थियो । पूर्व-राजालाई नै प्रसाईंले अघि सारिरहेकाले राप्रपालाई निर्णय लिन अप्ठेरो परेको हो । तर, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसार्ईंको सार्वजनिक रूपमै वाकयुद्ध चलिरहेको छ । लिङ्देन केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रसाईंमाथि खनिनुभएको थियो । उहाँले बैंकहरूसँग लिएको अर्बौंको ऋण नतिर्न प्रसाईंले विभिन्न फन्डा गरिरहेको आरोप लगाउनुभएको थियो । प्रसाईंले पनि सार्वजनिक कार्यक्रममै लिङ्देनको प्रतिवाद गर्नुभएको छ । प्रसाईंको महाअभियानले पूर्व-राजसंस्थासँग राप्रपाको सम्बन्धमा नै असर गर्न थालेको छ ।
लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको टिप्पणी गर्नुभएको छ । राप्रपा नेपाल मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकका ठूला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाउनुभयो । अर्बौं भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाइडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठूला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । विदेशी हस्तक्षेप र प्रभाव नांगोे रूपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएको उहाँको भनाइ छ ।
प्रसाईंले ‘कालोमोसो दल’ अभियान चलाएपछि वित्तीय संस्थालाई सुरक्षा दिन गृहको परिपत्र
गृह मन्त्रालयले वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र गरेको छ । सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनमा परिपत्र गरेको हो । पछिल्लो समय बैंक, लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएका ऋणीले समयमै चुक्ता गर्नुको साटो आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले परिपत्र गरेको जनाइएको छ ।
खराब ऋणमा संलग्न, बैंकिङ कसुर र ठगीमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो वित्तीय संस्थामाथि आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी मुख्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।
बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण र सावधानीका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । केही दिनअघि मात्रै दुर्गा प्रसाईंले सार्वजनिक कार्यक्रममै ‘कालोमोसो दल’ कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिनुभएको थियो । उहाँले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिनुभएको थियो ।
प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे तत्–तत् संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिनुभएको थियो । ‘ती कर्मचारीलाई कालोमोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार-पाँच दिन राख्ने न हो’ उहाँले भन्नुभएको थियो ।
‘सतिश पोख्रेलको नेतृत्वमा देशभरि कालोमोसो दल्ने समूह बनाएका छौँ,’ झापामा प्रसाईंले भन्नुभएको थियो, ‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ । लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने । बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने । बैंकको भित्र छि¥यो भने पो मुद्दा लाग्छ !’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच