तोरी फुलेर पहेँलै भए रावाबेंसीका खेतबारी

रावाबेंशी गाउँपालिका-२ खार्पामा लगाईएको तोरी खेती । तस्बिरः चिसाङ शेर्पा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिका क्षेत्रका खेतबारीहरु ढकमक्क फुलेको तोरीले भरिएका छन् । गाउँपालिकाको बेशी क्षेत्रका खेतहरुमा यतिबेला तोरी लहलह भएको देख्न सकिन्छ । फुलिरहेको देखिन्छ । यो दृश्य गाउँपालिकाको छ वटै वडामा देखिन्छ ।

कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे, वेल्टार, खार्पाको दसमुरे, जलजले, लामिडाँडाको तिर्पा बेंसी, डुम्रे धारापानीको कटहरे बेंसी, खार्पाटार, दुवेकोलको राउटार हौंचुरकोहौंचुरबेंशी, गिद्दे बेंशी र टार बेंशीमा अहिले मनै लोभ्याउने तोरी फुलेका/फलेका छन् ।

यस गाउँपालिकामा अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रामा तोरी खेती गर्दै आएका थिए । तर, यो वर्षदेखि गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्रायः कृषकको खेतबारीमा तोरी लहलह भएको छ ।

चितवन लोकल र मोरङ जातको एक हजार दुई सय ६० केजी तोरीको बिउँ गाउँपालिकाले खरिद गरेर कृषकलाई वितरण गरेको थियो । सोही बिउँ गाउँपालिका भरीका करीब छ सय कृषकले लगेर खेतबारीमा लगाएको कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले वितरण गरेरको बिउँ कृषकले दुई बालीमा लगाएका थिए । पहिलो बालीमा लगाएको तोरी यतिबेला पाक्न थालेको छ भने दोस्रो बालीमा लगाएको तोरी फूल खेलिरहेको छ । यो वर्ष बाहिरबाट बिउ खरिद नगरी कृषकहरुले लगाएको तोरीलाई नै बिउको रुपमा प्रयोग गरिने गाउँपालिकाको योजना रहेको कृषि शाखा प्रमुख राईले बताउनुभयो ।

कृषकले उत्पादन गरेको तोरी पेलेर तेल निकाल्न गाउँपालिकाले मिल खरिद गर्ने भएको छ । मिल खरिदका लागि गाउँपालिकाको १५ फाल्गुणमा सम्पन्न हिउँदे सभाले पारितगरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताउनुभयो । तोरी खेतीलाई आगामी वर्ष अझै बृहत् बनाएर गाउँपालिकालाई तोरीको तेलमा आत्मनिर्भर बनाउने गाउँपालिकाले नीति नै लिएको छ ।

तोरी खेतीसँगै सुर्यमुखी खेतीलाईसमेत परिक्षणका लागि यो वर्ष केही ठाउँमा लगाइने भएको छ । सबै वडालाई समेटेर सुर्यमुखी खेतीको परिक्षणका लागि बिउ खरिद गर्ने प्रक्रियामा गाउँपालिका रहेको बताइएको छ ।

तोरी खेतीबाट गुन्द्रुक र मौरी पालनलाई पनि प्रवर्द्धन गर्दै लगिने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । मौरी पालनको तालिमसमेत गाउँपालिकाले प्रदान गरेको छ । केही कृषकहरुले मौरी पालन गरिरहेको भएपनि त्यसलाई अझै बृहत् बनाएर लैजाने श्रेष्ठको भनाइ छ । तोरीको फूलबाट मौरीलाई रस र तेलसँगै पातबाट गुन्द्रुक बनाएर बिक्री गर्ने पालिकाको योजना छ । प्याकेट सिस्टमले गुन्द्रुक बिक्री गरेर कृषकहरुलाई आत्मनिर्भर बनाउँदै पालिकाको आम्दानीको स्रोत बढाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?