धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको बैठकमा ५२ सांसदले मतदान गरेका थिए । प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको जानकारी दिनुभयो ।
माघ २६ गते मुख्यमन्त्रीको रूपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उहाँ पदमुक्त हुनुभएको थियो । सोही दिन नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) ११ जना, नेकपा (एमाले)का १० जना, नागरिक उन्मुक्तिका सातजना एकीकृत समाजवादीको चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना र एक स्वतन्त्र सांसद छन् । कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएनन् । योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ । यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त हुनुभएको थियो । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘म सबैको साझा प्रतिनिधिका रूपमा काम गर्नेछु ।’ भागबण्डा नमिलेका कारण माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भनिरहँदा अन्तिममा दुवै पार्टी सरकारमा जान सहमत हुँदा शाहलाई बहुमत सम्भव भएको हो । माओवादी केन्द्रका सांसदहरूलाई केन्द्रबाटै पक्षमा मत दिन निर्देशन आएको थियो भने नागरिक उन्मुक्तिले आइतबार अन्तिम समयमा पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका