रंगहरूको पर्व होली आज मनाइँदै

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरूमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदै छ ।

यस वर्ष पहाडी तथा हिमाली जिल्लामा २२ फागुन (सोमबार) र तराईका जिल्लामा २३ फागुन (मंगलबार) मा होली/फागु मनाउन लागिएको हो । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।

नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । विगतका केही वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण सार्वजनिक स्थलमा होली मनाउन रोक लगाइएको थियो भने गत वर्ष सजगताका साथ होली मनाइएको थियो भने यो वर्ष सबैले खुलेर होली मनाउँदै छन् ।

त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाई मनाउने गरिन्छ । यो पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर विशेष रूपले सजाएको लिंगो गाडेपछि फागु सुरु भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । यस्तै, फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग (लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनःमन्दिरको पाटीमा राखिने परम्परा छ ।

फागुमा प्रयोग गरिने रङको आ-आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका प्रमुख नेतासहित विभिन्न नेताहरूले शुभकामना दिएका छन् ।

सुरक्षित तरिकाले होली पर्व मनाउन प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको हो । ‘होली पर्वको नाममा उशृंखल क्रियाकलाप नगरौँ । अपरिचित समूहमा होली नखेलौं । कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, केमिकल रगंको प्रयोग नगरौं,’ प्रहरी परिसर काठमाडौंले भनेको छ ।

महँगा गरगहना लगाएर होली नखेल्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्वयवहार नगर्न अनुरोध गरेको छ । नियमविपरीत कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम सजाय तथा जरिवाना हुने पनि प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?