झापाका व्यवसायी तथा नेता दुर्गा प्रसाईं हाल फरक खालको आन्दोलनको नेतृत्व गर्दै अगाडि आउनुभएको छ । विदेशी हस्तक्षेप, साना साना कुरामा पनि अनावश्यक चासो, नेतृत्व वर्गको अकर्मण्यता जस्ता विविध कारण जनताका निराशाका प्रमुख विषय बनिरहेका छन् । नेपाली जनताले विभिन्न समयमा गरेका आन्दोलन तत्तत् समयका शासनाधिकारी र शासनले जनतालाई सम्बोधन गर्न नसकेकाले हुन पुगेका थिए । पञ्चायतको समाप्तिपछि एकजना नेताले आफ्नो भाषणमा भनेको कुरा मननीय हुन आउँछ । उहाँले भन्नुभएको थियो ‘पञ्चायत निकै बलियो व्यवस्था होलाजस्तो लागेको थियो तर होइन रहेछ । हामीले गरेको सामान्य आन्दोलनबाटै ऊ पाखा लाग्न पुग्यो । यसको कारण पञ्चायतले हामीलाई भित्तैसम्म पु¥याएर ठेल्यो त्यहाँभन्दा उता जाने ठाउँ नभएपछि हामीले त्यसलाई धकेल्यौँ, अन्त्यमा त्यही नै पो पछारियो ।’
वास्तवमा भन्ने हो भने कुनै पनि प्रणाली नराम्रो हुँदैन । त्यसका सञ्चालकहरूका कारण त्यो प्रणाली राम्रो र नराम्रो देखिने हो । राणा शासनपछि प्रजातन्त्र, प्रजातन्त्रपछि पञ्चायत, पञ्चायतपछि फेरि प्रजातन्त्र र हाल संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा चलिरहेको छ । यसका लागि निकै ठूलो बलिदानी नेपाली जनताले गरेका छन् । एउटा ठूलो हिंसात्मक सशस्त्र विद्रोहपछि आएको प्रणाली हो यो । अरू व्यवस्थाहरूले जनताको आवश्यकताको परिपूर्ति गर्न नसकेका कारण अब यसले चाहिँ आफ्ना सपनाहरू पूरा गर्न सक्ला कि भन्ने जनताका अपेक्षाहरू यस प्रणालीले पनि पूरा गर्न सकेको छैन । नेताहरू नातावाद र कृपावादमै अल्झिइरहेका छन् । आफ्नै सत्तास्वार्थका पछिमात्रै लागिरहेका छन् ।
यसबाट जनताको निराशा अझै बढी चुलिन पुगेका छ । यसले गर्दा यहाँ कुनै आँधी आइदियो भने जनता पात-पतिंगर आँधीसँगै उडे जसरी नउड्लान् भन्ने छैन । जनतामा चुलिएको निराशालाई भजाउन सकिने आसले प्रसार्इंले आन्दोलनको नेतृत्व गरिरहनु भएको छ । उहाँले उठाउनु भएको हिन्दू राष्ट्र कायम र संघीयता खारेजीको जुन माग छ नेपालीहरूमध्ये धेरैको यसमा समर्थन रहन सक्छ । संघीयताले राष्ट्रको खर्च बढाएको, जनतालाई करको भारी बोकाएको र जनअपेक्षा पूरा गर्नेतर्फ कुनै प्रयास नगरेकोतर्फ जनताले चासो दिइरहेका छन् । हिन्दू राष्ट्र त यति धेरै हिन्दू धर्म मान्ने र अन्य ओमकार परिवारसहितको चाहना नै हो ।
यसलाई खारेज गरेर धर्म निरपेक्षता लागू गरिएको थियो । कुनै काल खण्डमा केही प्रयास समयले गलत सावित गर्दै लगिरहका हुन्छन् । एकताका झापा आन्दोलनका अग्रणी मोहनचन्द्र अधिकारी जीवनको उत्तरार्धमा रामनामी ओडेर हिन्दू धर्मको वकालत गर्दै महायज्ञहरूमा संलग्न हुने गर्नुभएको छ । धर्म अफिम हो भन्ने सिद्धान्तका अग्रणी व्यक्तित्व उहाँ हुनुहुन्थ्यो भन्ने अहिले विश्वास गर्न नसकिने आवस्थामा उहाँ पुग्नु भएको छ । उहाँले नेतृत्व गर्नुभएको यो आन्दोलन वास्तविक हो कि देखावटी हो भन्नेमा चाहिँ नेपाली जनतामा सन्देह छ । नत्र नेपालीहरूको ठूलो जमातले यसलाई सघाउन सक्ने सम्भावना छ ।
उहाँको यो आन्दोलन राजतन्त्र पुनःस्थापित गर्ने चालबाजी नै हो कि अथवा जनतामाझ चर्चित हुने आफ्नु अपेक्षा हो, त्यो विचारणाीय छ । नेपालमा बेलाबेलामा हुने गरेका यस्ता आन्दोलनमध्ये केही प्रायोजित हुने गरेका छन् । त्यसैले कतै यस्तै कुनै प्रायोजन छ कि भनेर सोच्नु अन्यथा हुँदैन । संघीय लोकतान्त्रिक प्रणाली सर्वथा जनप्रिय प्रणाली हुनुपर्ने हो । जताको लडाइँ भनेको प्रजातन्त्र वा लोकतन्त्रकै लागि हो । जुन हालै हामीले उपयोग गरिनै रहेका छौं । त्यसकारण अब जनताले केका लागि आन्दोलन गर्ने हो ? तैपनि आन्दोलनका यस्ता प्रयास हुने गर्छन् ।
यसबाट प्रणाली राम्रो भएर पनि सञ्चालन तहमा बसेका नेताहरूका नियत र व्यवहार सही नभएको प्रमाणित हुनआउँछ । अबका आन्दोलनहरू भनेको त्यस शुद्धीकरणका लागि हुनुपर्छ तर दुर्गा प्रसार्इंको माग प्रणालीकै खारेजीका लागि छ । यो प्रणाली नयाँ नै छ, यसको खारेजीको माग गर्ने बेला भइसकेको छैन । हिन्दू राष्ट्रको मागमा नेपाली जनताको अधिक संख्या संलग्न हुनसक्ने सम्भावना छ तर नेपाल अब धर्मनिरपेक्षता र गणतन्त्रको बाटोमा गइसकेको छ । यसले गर्दा राजतन्त्र पुनःस्थापना सम्भव छैन । गणतन्त्रप्रतिको आशा र अपेक्षा बाँकी छँदै छन् । त्यस कारण राजतन्त्रको पुनःस्थापनाको माग सान्दर्भिक हुन सक्दैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका