बराबरीमा रोकियो म्याड्रिड, बार्सिलोनाको जित

Read Time = 3 mins

म्याड्रिड । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राती भएको खेलमा रियलले घरेलु टोलीमाथि दबाब बढाए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
खेलको १२औँ मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

यस बराबरीले दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग नौ अंकले पछि परिसकेको छ । रियलको २४ खेलबाट ५३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । रियललाई बराबरीमा रोकेको रियल बेटिस ४१ अंक जोडेर पाँचौँ स्थानमा छ ।

यता, बार्सिलोनाले भ्यालेन्सियामाथि एक-शून्यको जित हात पा¥यो । बार्सिलोनाको जितमा पहिलो हाफमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो । स्पोटिफाई नोउक्याम्पमा आइतबार राती भएको खेलको १५औँ मिनेटमा राफिन्हाले निर्णायक गोल गर्नुभएको थियो ।

५५औँ मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । ५९औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । हृयुगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउनुभएको थियो । तर, त्यसले खेलमा केही फरक परेन ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई नौ अंकले पछि पारेको छ । रियलको ५३ अंक छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?