नागरिक शिक्षाको ज्ञानबाट कुशल नेतृत्व

Read Time = 15 mins

✍️ रमेशप्रसाद गौतम

हरेक नागरिक स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारलाई स्वीकार्दै कर्तव्य र दायित्वप्रति सचेत गराउने काम नागरिक शिक्षाले गर्दछ । आफ्नो विचार र इच्छापूर्ति खोज्दा अरूको अधिकार इच्छाको हनन् हुनु हुँदैन तर अहिले कतिपय मानिस स्वतन्त्रतासँगै कर्तव्य पनि जाडिएर आउनुपर्छ भन्ने मान्यताप्रति सचेत देखिँदैनन् । केवल आफ्नो स्वार्थ र आफ्नो स्वतन्त्रता हनन् भएमा चाहिँ आक्रोसित हुने गरेका प्रशस्त देखिन्छन् । एक-अर्काको सहअस्तित्वप्रति सजग छैनन् । यसको अर्थ हुन्छ आजको नागरिक समाजमा नैतिक शिक्षाको ठूलो खडेरी परिरहेको छ । कसैले नैतिक शिक्षाका कुरा गर्दा आजका किशोरकिशोरी अपाच्य देखिन्छन् ।

हुनसक्छ आज सामाजिक आर्थिक क्षेत्रमा आएको बदलावले हाम्रो परम्परागत नैतिकताको परिभाषा नै फरक बन्न गएको छ । अहिले आएको आर्थिक सम्बन्धको बदलाव नै यसमा बढी जिम्मेवारी छ भन्न सकिन्छ । शिक्षा भनेको लोकतन्त्रको जरा र फल हो भनिन्छ । यसैले शिक्षा मानवीय उन्नतिको मूल आधार हो भन्ने कुरामा मानव समाज एकमत रहँदै आएको छ । यसको आदर्श वा उद्देश्य भनेको नागरिकलाई पर निर्धारित निश्चित प्रयोजनका लागि विकसित गर्ने र उसलाई आफ्नो जीवनोद्देश्य स्वयं निर्धारित गर्न स्वच्छाले गर्न पाउने मान्यता जस्ता सवाल देखा पर्दछन् ।

जीवनको यथार्थतामा आधारित शिक्षा पद्धति नै आजको आवश्यकता हो । जीवन जगत्का यथार्थ पाटाहरूमध्येको एउटा महत्वपूर्ण पाटो राजनीति हो । यसैले राजनीतिलाई सम्भावनाको खेल भन्ने पनि गरिन्छ । नागरिक शिक्षा भनेको यही खेलको स्पष्ट दिशाबोध गराउने विषय हो ।

यसको अर्थ विद्यालयमा आउने बालबालकलाई रित्तो भाँडो ठानेर त्यसमा ज्ञान भरिदिने विचार राख्ने अर्कोतर्फ ज्ञानको बीज ऊसँगै छ त्यसलाई विकसित हुने वातावरण मिलाइदिने जस्ता सवाल उठ्दछन् । यसरी यी दुवै धारका प्रचलित ढाँचामा शिक्षा चल्दै आएको छ । यी ढाँचाले मानिसलाई राज्य र बजारलाई चाहिने उपयुक्त पात्रका रूपमा निर्माण गर्दै आएका छन् । एउटा पर निर्धारित निश्चित प्रयोगका लागि उत्पादन शिक्षाले खाली मस्तिष्कमा ज्ञान भरिदिने शैलीको शिक्षा विधि र अर्को ज्ञानको ज्योति बालकसँगै हुन्छ त्यसलाई विकसित गराउने वातावरणमात्र जुटाइदिनु पर्छ भन्ने हो ।

बालकको वास्तविक रुचि चाहना र स्वतन्त्रतालाई स्वीकार्ने शिक्षा पद्धतिले निर्धारित लक्ष्यसम्म पु¥याउने हो । बालबालिकाले विद्यालयमा पढ्ने सिक्नेमात्र नभई जीवन जगत्का विभिन्न पाटाका ज्ञान र सीप हासिल गर्न जीवनोपयोगी सिकाइ क्रियाकलापतर्फ उन्मुख गराउने शिक्षा प्रणाली जरुरत छ । हाम्रो शिक्षाको चिन्तन भनेको परीक्षामा राम्रो अंक ल्याएर पास हुने विद्यार्थीले प्राप्त गरेका अंकलाई आधार मानेर विद्यालय र विद्यार्थीको गुणस्तर मापन गर्ने अभ्यास हुन् । यसले शिक्षाको परिधि र उद्देश्यलाई संकुचित तुल्याएको छ । शिक्षा केबल परीक्षामुखी, प्रशासनमुखी र यान्त्रिक बन्न पुगेको छ ।

जीवनमा आधारित शिक्षा पद्धति नै आजको आवश्यकता हो । जीवन जगत्का यथार्थ पाटामध्येको एउटा महत्वपूर्ण पाटो राजनीति हो । यसैले राजनीतिलाई सम्भावनाको खेल भन्ने पनि गरिन्छ । खेलमा जित्ने र हार्ने दुवै हुन्छन् । नागरिक शिक्षा भनेको यही खेलको स्पष्ट दिशाबोध गराउने विषय हो । यसर्थ खेलको नियम बुझेरमात्र खेलाडीले राम्रोसँग खेल खेल्न सक्ने हुन्छ । आमनागरिकलाई पथप्रदर्शन गर्ने देशलाई प्रगतितिर डो¥याउने राजनीतिक नेतृत्व भएकाले नेताको जीवनमा अध्ययनको महत्व बढी छ ।

नेताको काँधमा ठूलो जिम्मेवारी हुन्छ यस्तो काम गर्न तिक्ष्ण बुद्धि अनुभव, समायोचित ज्ञान र जोखिम मोल्ने सहास हुनु पर्दछ । नेता कार्यपालिकामा रहन्छन्, विधायिका संसदमा हुन्छन् । मुलुकको समग्र राष्ट्रिय राजनीतिको निर्णयका अंगमा रहन्छन् । यस्ता व्यक्तित्वको योग्यताको कुरा खासै उब्जाइँदैन । यिनको पनि न्यूनतम योग्यता तोकिनु जरुरी देखिन्छ । कम्तिमा सांसद हुन स्नातकसम्म हुनुपर्ने सर्त राखिनु उपयुक्त देखिन्छ । यदि नेतामा योग्यता र क्षमता भएमा कुनै कसैको बकाउ र फन्दामा नपर्ने र आफ्नै स्वविवेकले निर्णय र निर्देशन गर्न सक्ने हुन्छन् । शिक्षाले नै समस्या समाधानका क्रममा आएका चुनौती समाधान गर्न उब्जिएका विवादलाई छलफल अत्तक्र्रिया, वादविवादमा तर्कपूर्ण दृष्टिकोण प्रस्त गर्न सक्ने क्षमताको विकास गराउँदछ ।

यसर्थ सफल राजनीतिज्ञ बन्ने हो भने पुस्तक अध्ययनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्दछ । प्रायः हाम्रा नेताहरू राजनीतिक संघर्षको पृष्टभूमिबाट आएका हुँदा उनीहरूमा संघर्ष इतिहास र जेल नेल खाएको अनुभवलाई नै ठूलो योग्यता ठानी पद र नेतृत्वको दाबी गर्दै आएका छन् । संघर्षले तत्कालीन राज्य व्यवस्थालाई परिवर्तन गरेकै अनुभवले भोगेका जीवनको ज्ञान सीमित हुन्छ । त्यसमा ज्ञान र बुद्धिको दायरा फराकिलो पार्न बृहत् अध्ययन र जानकारीका लागि पुस्तक पढेर त्यसको असर व्यक्तिको भोगाइ र अनुभवबाट बुद्धिमा तीक्ष्णता वृद्धि गर्न सकिन्छ ।

यसर्थ अध्ययनको आवश्यकता नेताहरूलाई झनै बढी आवश्यकता पर्दछ । अध्ययनबाटै अन्तर्राष्ट्रिय व्यवस्था सञ्चालनको विवेचना नीति निर्माण, कूटनीतिक ज्ञान आदि हासिल गर्न सक्दछ । हाम्रा जस्ता मुलुकले नेताको योग्यता अथवा अयोग्यताको निर्धारणविना नै राजनीतिलाई विधि र विधानले बाँधेर संस्थागत गर्ने पारिपाटी बसाली रहेका छन् । यहाँ नीतिभन्दा नेता प्रधान बन्दैछन् । देशको हित गर्न नसक्ने नेतालाई पन्छाउने परिपाटीले प्राथमिकता पाउन सकेका छैन । उहाँ भने हामी बाह्रैमास राजनीतिको कुरा चाख लगाएर गर्ने गर्दछौं । यो एउटा क्यान्सर रोग जस्तै बनेको छ । यसले नै हाम्रो समाजलाई नराम्रोसँग गाजेको छ । हाम्रो चेतनाको स्तर गिर्दो छ । राजनीति सुदृढ हुन र राजनीतिलाई संस्थागत विकास गराउँन सकिरहेका छैनौं ।

वर्तमान सार्वजनिक जीवनबाट अब बन्ने पुस्ताको योग्यता उसले बहन गर्ने जिम्मेवारी अब कस्तो होलाको सवाल झनै अन्योलपूर्ण देखिँदैछ । जीवनको आफ्नो क्रियाशील पाटोलाई नेताको पछि लागी अनरगल प्रचारबाजी र होडबाजीका पछि दौडने दलका युवा तथा विद्यार्थी नेताबाट भोलिको देश कसरी हाँकिने दलतन्त्रका लागि मारमुङ्ग्री झेलझाल र गुण्डागर्दीको मात्र अनुभव यिनमा छ । अब आउने पुस्ता पनि एकाध अपवादलाई छाडेर प्रायः अध्ययनसँग टार्दै बस्ने जमात छ ।

अब समयमै आँखा खोली राजनीतिक दलहरूले आफ्ना पार्टी कार्यालयमा पुस्तकालयको स्थापना गरी आफू र आफ्ना कार्यकर्ताहरूमा पठनीय संस्कृतिको विकास गराउनु जरुरी छ । आफ्ना कार्यकर्तालाई समय समयमा नैतिक, शिक्षा, राजनीतिक दर्शन, अर्थतन्त्र आदिबारे प्रशिक्षण दिने गर्नुपर्दछ । लोकतन्त्रको अस्तित्व राष्ट्रभित्रै रहने हुँदा राष्ट्र र राष्ट्रियताको रक्षा खातिर हरेक नागरिक लाग्नु पर्दछ । नागरिक अधिकारको उल्लंघन तथा लोकतन्त्रको मूल्य मान्यताको अवमूल्यन हुनबाट जोगाउन नागरिक सचेत हुनुपर्दछ । नागरिकको राज्य, सरकार, राजनीतिक दलहरू र नागरिक समाजप्रतिको कर्तव्य बोध गराउने काम नागरिक शिक्षाले गराउँदछ ।

नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक क्रान्ति र जनआन्दोलनमार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएका जनादेशको कदर गर्दै संविधानसभाबाट घोषणा गरिएको संविधान २०७२ ले देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्यालाई समाधान गर्ने हेतुले राज्यको पुनर्संरचनाको चाहना पूरा गरेको छ ।

नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक क्रान्ति र जनआन्दोलनमार्फत लोकतन्त्र शान्ति र अग्रगमनका पक्षमा प्रकट भएका जनादेशको कदर गर्दै संविधानसभाबाट घोषणा गरिएको संविधान २०७२ ले देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्ने हेतुले राज्यको पुनर्संरचनाको चाहना पूरा गरेको छ । व्यवहारमा अझै देशमा लोकतन्त्र शान्ति, समृद्धि सामाजिक अग्रगमन तथा समनताका पाटाहरू अझै सरकारतर्फ उन्मुख हुन सकेका छैनन् । मुलुकको पुनः संरचनाका विषय हुन् वा अन्य महत्वपूर्ण ढाँचाहरू निर्धारण गर्ने विषयमा किन नहुन वृद्ध बहस र छलफलविनै हचुवामै निर्णय हुनेगरेका कुरा जनतामा आभास मिलिसकेकोे छ । परिणामत अझै ठूला ठूला ऐतिहासिक उपलब्धिप्रति खासै मोह देखाउन छाडेका छन् ।

हाम्रा राजनीतिक दलहरूले देशमा विद्यमान विवाद र समस्या सल्टाउने आधार निर्माणमा लागि राष्ट्रिय एकता र सामाजिक सदभावलाई मजबुत बनाउने कोसिस गर्नुपर्दछ । हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त भएको देशमा राष्ट्रिय एकता र सामाजिक सदभाव कायम राख्न राजनीतिक नेतृत्व नागरिक समाज समुदाय र हरेक तप्का सम्लग्न हुनु जरुरी छ । तर, अहिले हाम्रो सामाजिक धरातल नै अस्थिर बन्दै गएको छ । यसले गर्दा नागरिक समाज र अब आउने पिँढीलाई समेत जिम्मेवार नागरिक बन्नबाट विमुख पार्ला भन्ने डर उब्जन थालेको छ ।

यसर्थ नागरिकको सकरात्मक सोचका साथै राजनीतिक सहभागिता बढाउने राजनीतिक चेतनाको जरुरी छ । हाम्रो ठूलो जन संख्या नागरिक ज्ञान हासिल गर्ने अवसरबाट वञ्चितै छन् । नागरिकलाई आफ्नो हकअधिकार सही ढंगले परिचालन गर्न तथा आफ्नो कर्तव्य तथा दायित्वप्रति सचेत रहन नागरिक सीप र कौशल बढाउने शिक्षा नै नागरिक शिक्षा भएकाले यसलाई घनीभूत रूपमा अगाडि बढाउनु आजको सान्दर्भिकता ठहर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?