तीन वर्षमा बन्नुपर्ने बाक्सिला सव-स्टेशन छ वर्षमा पनि बनेन

बाक्सिलामा अलपत्र बनेको सव-स्टेशन । तस्बिरः चिसाङ शेर्पा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । तीन वर्षमा बन्नुपर्ने खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिला (सिमपानी)स्थित विद्युत प्राधिकरणको निर्माणाधिन सव-स्टेशन छ वर्ष बित्दा पनि बनेको छैन । तीन वर्षे सम्झौता म्याद सकेर अर्को तीन वर्ष गुज्रदा पनि सव-स्टेशन निर्माणको काम बन्न नसकेको हो ।

२०७६ सालमै बनाई सक्नेगरी भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङ लिमिटेडले २०७३ साल भदौमा सम्झौता गरेर बुईपा-बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव-स्टेशन निर्माणको काम थालेको थियो ।

ठेकेदार कम्पनीले बुईपा-बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव-स्टेशन निर्माणको काम भने अलपत्र पारेको हो । सव-स्टेशनको बाँकी काम पुरा गराउन पटक-पटक विद्युत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

सव-स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ । निर्माणस्थलमा सव-स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन ।

सव-स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा अत्याधिकरुपमा विद्युत फल्ट हुने गरेको छ । बारम्बार विद्युत फल्ट हुने समस्याले सेवाग्राही हैरानी भएका छन् । साथै, विद्युतिय दुर्घट्ना हुने संम्भावना बढेको छ ।

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सव-स्टेशन निर्माणको काम थालिएको थियो । पटक-पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव-स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?