सल्लाको खोटोबाट आम्दानी गर्दै सामुदायिक वन

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । दाङका सामुदायिक वन समूहहरूले सल्लाको खोटो विक्री गरेर आम्दानी गर्छन । दाङका पहाडी क्षेत्रहरूमा रहेका सामुदायिक वन समूहहरूले सल्लाको खोटो विक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षण तथा गाउँका लागि खानेपानी तथा सामाजिक कार्यमा लगाउने गरेका छन् ।

बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहा गाहा मगरकाअनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारसम्म मूल्यको खोटो विक्री गरेको छ । उहँकाअनुसार वन समूहबाट दीपमाला रोजिन टर्पिन्टाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रूपैयाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ । वन समूहका सचिव गाहा मगरकाअनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिब साढे २२ हजार केजी सल्लाको खोटो विक्री गरेको छ ।

‘जंगलमा रहेका रूखहरूबाट कम्पनीले प्रतिकेजी १२ रूपैयाँका दरले सल्लाको खोटो खरिद गरेको राजस्व तिर्ने गरेको छ’, सचिव गाहा मगरले भन्नुभयो, ‘वन समूहले अनुमति दिएपछि कम्पनीले मानिस लगाएर जंगलमा खोटो संकलन गर्ने गर्दछ ।’ खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुख्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने उनी बताउँछन् । ‘रूखबाट कम्तिमा पनि १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ तर आगोले भेटेमा रूखै मर्ने सम्भावना हुने गर्दछ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट बचाउन भने ध्यान दिनुपर्छ ।’

यसैगरी वडा नं. ८ कै गोगनपानी समुदायिक वन समूहले सल्लाको खोटो विक्री गरेर आर्थिक आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहा मगर बताउनुहुन्छ । उहाँकाअनुसार सल्लाको रूखबाट बैशाख–जेठ महिनादेखि मंसिर–पुस महिनासम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा कम खोटो आउने गरेका कारण गर्मी मौसममा खोटो संकलन हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘खास गरी जिल्लामा सल्लाको खोटो संकलन करिब ६ देखि ७ महिनासम्म हुन्छ ।’ उहाँकाअनुसार वडा नं. ८ बाट ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा गरी तीनवटा सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुने गरेको छ ।

बंगलाचुली वडा नं. ८ का यी तीनवटा वन समूहहरू उदाहरणका रूपमा रहे पनि जिल्लामा दशवटा समुदायिक वन समूहबाट सल्लाको खोटो संकलन हुने गरेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीले बताउनुभयो । केसीकाअनुसार दशवटा वन समूहबाट यस वर्ष करिब ९ लाख ३९ हजार २७ रूपैयाँको ७८ हजार २ सय ५६ केजी सल्लाको खोटो निकासी भएको छ । उनकाअनुसार वन खरिद गर्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकेजी १२ रूपैयाँ र निकासी कर प्रतिकेजी १२ रूपैयाँ तिर्ने गरेको छ । ‘जिल्लाका करिब १० वटा वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो बाहिर निकासी हुने गरेको छ’, डिभिवन वन कार्यालय घोराहीका सूचना अधिकारी समेत रहेका केसीले भन्नुभयो, ‘जसअन्तर्गत् यस वर्ष दशवटा वन समूहबाट ७८ हजार केजी सल्लाको खोटो निकासी भएको छ ।’ विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रँग बनाउन कच्चापदार्थका रूपमा खोटो प्रयोग हुने गरेको छ ।

सामुदायिक वन समुहहरुले बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्न थाले पछी गर्मी मौसममा डढेलोको कारण सल्ला मर्दै जाने चिन्ता स्थानीयको छ । जंगलमा रूखको बोक्रा ताछेर खोटो निकाल्नाले पछिल्लो समय सल्लाका रूखहरू मर्न थालेका छन् । खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुख्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । रूखबाट आम्दानी लिने वन समूहकै मानिसले सल्लालाई आगोबाट बचाउन ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय दाङले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?