सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताउनु भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा बडो चर्चा भईरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको स्पष्ट पार्नु भयो । एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनु भयो ।

उहाँले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढि जानकार रहेको आफूले सुनेको बताउनु भयो । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा/परिचर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे । मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ । मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रेसेस मात्रै हामीले ठिक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन । हामी नेपालीहरुले भन्दा विदेशीहरुले अघि बढि मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढि जानकारी राख्छन भन्ने पनि तपाई हामीले सुन्दै आएको पनि हो । हिजोआज एउटा चर्चा भएको पनि तपाईहरुले सुन्नु भएको छ मुस्ताङकै विषयमा । र, मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाँही कलेज खोल्ने, युनिभर्सिटी खोल्ने भन्दा पनि कलेज खोल्ने चर्चा चाँही धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहीँकतै स्विकृति दिएको स्थिति होइन । तर जे भएपनि मुस्ताङको चर्चा यतिधेरै किन गर्छन । मैले अन्त जान खोजेको होइन । मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन । तर, मुस्ताङको चर्चा यति धेरै किन हुने गरेको छ । र, मुस्ताङको चर्चा आउने वित्तिकै अलि बढि हामी नेपालीहरु संवेदनशील किन हुने गछौं भन्दा हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता बस्तुहरु, यस्ता खनिजहरु छन । जसलाई हामीले ठिक ढंगले अनुसन्धान ग¥यौं भने ठिक ढंगले अध्ययन गरेर उत्खनन् ग¥यौ भने त्यसले नेपालमा एउटा रिभोलुशनरी चेन्ज ल्याउन सक्छ भन्ने कुराको प्रमाण हो त्यो । मुस्ताङमात्रै होइन । देशका विभिन्न भागमा विभिन्न किसिमको सोतहरु छन । पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौं ।’

प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?