एसियाली क्रस कन्ट्रीमा नेपालको ऐतिहासिक प्रदर्शन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले १६औँ एसियाली क्रस कन्ट्रीमा दुई स्वर्ण, चार रजत र एक कांस्य पदक जित्दै ऐतिहासिक प्रदर्शन गरेको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको हो ।

त्यस्तै, सिनियर महिला र जुनियर महिलामा नेपालले समान दुई रजत पदक जितेको छ । जुनियर पुरुषतर्फ भने नेपालले टिम इभेन्टमा कांस्य पदक जितेको छ । नेपालले आठमध्ये सातवटा इभेन्ट्समा पदक जितेको छ ।

सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जित्नुभएको हो । सो इभेन्टमा मुकेशबहादुर पालले कांस्य पदक जित्नुभयो । जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाउनुभयो ।

२६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पालले ३४ मिनेट ३३.३९ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक जित्नुभयो । सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र दीपक सुहानले एक घण्टा ४३ मिनेट १९ सेकेण्डमा दौड पूरा गरेर स्वर्ण पदक जित्नुभयो । इरानले रजत र भारतले कांस्य पदक जितेको छ ।

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि दुई रजत पदक जितेको छ । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जित्नुभएको छ । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको हो । राजपुराले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्दै रजत पदक जित्नुभएको छ ।

सो स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दूरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जित्नुभयो । भारतकी सोनिकाले कांस्य पदक जित्नुभयो । सोनिकाले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्नुभयो । सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो । राजपुरा पछाई, पुष्पा भण्डारी र वृन्दा धनाके श्रेष्ठले १० किमी दौडको दूरी दुई घण्टा सात मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जित्नुभएको हो ।

सो स्पर्धामा भारतते स्वर्ण पदक जितेको छ । भारतका सोनिका, छवि यादव र मुन्नी देवीले निर्धारित दूरी दुई घण्टा चार मिनेट र ३८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जित्नुभएको हो । थाइल्याण्डका लिन्दा जन्थाचित, नथाया थनारोनावत र सुनिका प्रिचापोंंगले दुई घण्टा १३ मिनेट र १६ सेकेण्डमा दूरी पार गर्दै कांस्य पदक जित्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?