अञ्जन र अरुणा वर्ष खेलाडी

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा उहाँहरू वर्ष खेलाडी घोषित हुनुभएको हो । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहबीच अञ्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड दिएको हो । अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जित्नुभएको हो ।

अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्‍याउन मद्दत गर्नुभएको थियो । विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेईविरुद्ध उहाँले ऐतिहासिक गोल गर्नुभएको थियो । १३औँ साफ च्याम्पिनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध उहाँले गोल गर्नुभएको थियो । यस्तै, उहाँ एनएसएलमा सर्वश्रेष्ठ फरवार्ड चुनिनुभएको थियो । अञ्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो ।

यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जित्नुभयो । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि पार्नुभयो ।
अरुणाकै कप्तानीमा नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो ।

यस्तै, पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जित्नुभयो । खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड जित्नुभयो । अवार्ड जित्नेक्रममा उषाले मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्नुभयो ।

पिपुल्स च्वाइस विधाका लागि इ-सेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेल पत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी महŒवपूर्ण सदस्य उषा नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य हुनुहुन्थ्यो । उहाँले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभयो ।

नेपाल सन् २०१९ मा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियन टिम बन्दा उहाँ सदस्य हुनुहुन्थ्यो । नेपालले २०२१ को डिसेम्बरमा दोस्रोपटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

उहाँले घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने गर्नुहुन्छ । उहाँले माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गर्नुभयो ।

रघुराज वन्त नेपाली खेलकुद क्षेत्रमा एउटा यस्ता ऐतिहासिक पात्र हुनुहुन्छ जसले खेलाडीका रूपमा ओलम्पिकसम्मको उच्चतम यात्रा तय गर्नुभयो, प्रशिक्षकका रूपमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्नुभयो । पदाधिकारीका रूपमा एथलेटिक्स संघ हाँक्नुभयो अनि राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिवसम्म हुनुभयो ।

शारीरिक सुगठनका शौखिन उहाँ २४ वर्षमा मिस्टर काठमाण्डु बन्नुभएको थियो । उहाँले फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ पनि खेल्नुभयो । कायाकिङका त उहाँ पहिलो ब्याचका खेलाडी हुनुहुन्छ ।

एथलेटिक्सको १०० मिटर प्रिन्टमा उहाँले एकछत्र राज गर्नुभएको थियो । उहाँ उक्त विधामा ७ वर्ष लगातार च्याम्पियन बन्नुभएको थियो । बैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उहाँका मेन्टर हुनुहुन्थ्यो ।

प्रजातन्त्र प्राप्तिपछि नेपाल एथलेटिक्स संघको अध्यक्ष बन्नुभएका वन्त राखेपको सदस्य हुँदै कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव बन्नुभयो ।

यस्तै, युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल)ले जित्नुभयो । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाकै हेभिवेट फुटबल राष्ट्र इराकविरुद्ध उहाँले दर्शनीय गोल गर्नुभयो । साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा उहाँले आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गर्नुभएको थियो । यस्तै, उहाँले मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान गर्नुभयो ।

यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित हुनुभयो । वर्षको उत्कृष्ट प्रशिक्षक बन्नेक्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव हृवाटमोरलाई पछि पार्नुभयो ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलोपटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उहाँकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो । माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाउँदा उहाँ टोलीको प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो ।

ओलम्पियन पारा खेलाडी पलेशा गोबद्र्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । जापानको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जित्नुभएको थियो । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उहाँ पहिलो खेलाडी हुनुहुन्छ ।

पलेशाले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको थियो । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजीमुनि क्याटागोरी ४४ मा स्वर्ण पदक जित्नुभएको थियो । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?