एसएमइएफडब्लुजीको बैठक काठमाडौंमा सुरु

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंक र एलायन्स फर फाइनान्सियल इनक्लुसन (एएफआई) को संयुक्त आयोजनामा इनक्लुुसिभ ग्रिन फाइनान्स वर्किङ ग्रुप (आइजिएफडब्लुजी) र एसएमई फाइनान्स वर्किङ ग्रु्रप (एसएमइएफडब्लुजी) को बैठक काठमाडौंमा सुरु भएको छ ।

आइजिएफडब्लुजी र एसएमइएफडब्लुजी बैठकको यो क्रमशः आठौँ र २०औँ संस्करण हो । फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका ८० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । बैठक उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगाना तिमल्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको उल्लेख गर्दै सोको न्यूनीकरणमा सोसम्बन्धी नीतिगत व्यवस्था सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । ग्रिन फाइनान्स प्रवद्र्धनका लागि नेपाल सरकार र राष्ट्र बैंकबाट अवलम्बन गरिएका पछिल्ला कानुनी र नीतिगत व्यवस्थाबारे समेत उहाँले जानकारी गराउनुभयो ।

नेपालमा ग्रिन ट्याक्सोनोमी तर्जुमाका लागि अनुदान र प्राविधिक सहायता उपलब्ध गराएकोमा एएफआईप्रति आभार व्यक्त गर्दै उहाँले नेपालमा वित्तीय समावेशीकरणका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा समेत एएफआईबाट उल्लेख्य सहयोग प्राप्त भएको बताउनुभयो ।

एएफआईका कार्यकारी निर्देशक डा. अल्फ्रेड हृयानिगले विकासोन्मुख देशको रोजगारी सिर्जना र जीविकोपार्जन सुधारमा साना तथा मझौला उद्यमको योगदानको चर्चा गर्दै सो क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
एएफआईका सदस्य संस्थाबीच नीतिगत सहकार्य, प्राविधिक सहायता आदानप्रदान र क्षमता विकास अभिवृद्धिमा बैठक फलदायी हुने उहाँको भनाइ थियो । ग्रिन फाइनान्स प्रवद्र्धनका लागि राष्ट्र बैंकले लिएका नीतिगत पहलको प्रशंसा गर्दै हृयानिगले बैंकको उक्त प्रयास अन्य सदस्य संस्थाका लागि समेत अनुकरणीय रहेको बताउनुभयो । चार दिनसम्म चल्ने कार्यक्रममा पहिलो र अन्तिम दिन दुवै समूहको संयुक्त बैठक सञ्चालन हुनेछ भने दोस्रो र तेस्रो दिन सम्बन्धित समूहको कार्य क्षेत्रअन्तर्गतका विषयमा अलग-अलग छलफल हुनेछ ।

आइजिएफडब्लुजीको बैठकमा वित्तीय समावेशीकरणका साथै जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र सामाजिक असर सम्बोधन गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भएका नीतिगत अभ्यास र प्रभावबारे विस्तृत छलफल हुने राष्ट्र बैंकले जनाएको छ । बैठकमा विश्व अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको योगदान, लैंगिक समानता र सो क्षेत्रका विद्यमान चुनौतीबारे अन्तरक्रिया हुनेछ । दुई बैठकमध्ये आइजिएफडब्लुजी र एसएमइएफडब्लुजीको अध्यक्षता क्रमशः सेन्ट्रल बैंक अफ नाइजेरियाका उप-निर्देशक डा.पल ओलुक्पी र बैंक अफ नामिबियाका निर्देशक डा. एमा हाइयाम्बोले गर्नुहुनेछ । जलवायु परिवर्तनका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्दै ग्रिन फाइनान्स प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१९ मा एएफआईअन्तर्गत आइजिएफडब्लुजी गठन गरिएको थियो ।

साना तथा मझौला उद्यम प्रवद्र्धनमार्पmत् आर्थिक वृद्धि, दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्यका साथ सन् २०१३ देखि एसएमइएफडब्लुजीलाई क्रियाशील बनाइएको हो । क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा वित्तीय समावेशीकरण प्रवद्र्धन र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार गर्ने साझा उद्देश्यका साथ सन् २००८ जनवरी १ मा एएफआईको स्थापना भएको थियो । एएफआईअन्तर्गत विभिन्न सातवटा विषयगत समूह क्रियाशील छन् भने नीतिगत सहकार्यका लागि विभिन्न छवटा विषयगत क्षेत्रसमेत निर्धारण गरिएका छन् । उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य आठ नियामक संस्था गरी कुल ८४ संस्था एएफआईको सञ्जालमा आबद्ध छन् भने मलेसियाको क्वालालम्पुरमा मुख्यालय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?