डब्लुटिओको सदस्यतापछि निर्यात झन् खस्किँदो

Read Time = 7 mins

काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना विस्तार हुने विज्ञले बताएका छन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरूले हाल विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र सोही कारण खुला व्यापारको विकल्प नरहेको बताएका हुन् । तर, नेपालले विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने उनीहरूको भनाइ छ ।

इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बेंग्लोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमण्यमले व्यापारमा खुलापनले आफैंमा अवसर ल्याउने र प्रतिस्पर्धी क्षमताको विकास, प्रविधि प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिने बताउनुभयो । तर, नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सुब्रमण्यमले भन्नुभयो, ‘कुनै पनि देशको एउटा निश्चित ब्राण्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्व बजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्न सक्छ । व्यापार प्रणालीमा सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुन सक्छन् ।’ सुब्रमण्यमका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटनलगायतका क्षेत्रमा काम गर्न सक्छ । भारतीय सरकारका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले भन्नुभयो, ‘व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ, त्यति धेरै अर्थतन्त्रले लाभ पाउनेछ ।’ उहाँले भन्नुभयो, ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो ।’ उहाँका अनुसार अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव छ ।

वाग्लेले निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको भन्दै सन् २००४ मा डब्लुटिओमा आबद्धपछि निर्यात बढाउन अपनाइएका धेरै नीति असफल रहेको बताउनुभएको छ ।

सोही कारण खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन । हाल विश्वमा बहुआयामिक आर्थिक संकट देखिएको तर संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उहाँको दाबी छ । कोरोना महामारी, रुस–युक्रेन युद्ध, अमेरिका-चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयाम देखिएको र त्यसको प्रभाव समयक्रममा देखिदै जाने पनि उहाँले बताउनुभयो ।

इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका बिजिनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग भएको बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनी दृश्यमा बढी आए पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुने उहाँको भनाइ छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताउनुभयो । नेपालले अपनाएको हालसम्मका व्यापार नीतिबाट उत्पादन र बजार खोजीमा असफलता नै धेरै हात लागेको भन्दै उहाँले असफलता समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । डब्लुटिओ चेयरस प्रोग्रामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताउनुभयो । सोहीअनुसार नेपालमा पनि डब्लुटिओ चेयरस प्रोग्राम कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लुटिओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवीप्रसाद बिडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैँमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लुटिओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकाले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो । निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको भन्दै उहाँले सन् २००४ मा डब्लुटिओमा आबद्धपछि निर्यात बढाउन अपनाइएका धेरै नीति असफल रहेको बताउनुभयो । आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित सम्मेलन बुधबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?