विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विविध कार्यक्रम गर्दै आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । आज विश्वभर यो दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रही आएको छ ।

यो वर्ष नेपालमा ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूलनाराका साथ यो दिवस मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि यो नारा सार्वजनिक गरेको हो । राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको मन्त्रालयका उपसचिव ममता विष्टले जानकारी गराउनुभयो ।

यो दिवस साझा अभियानका रूपमा संघीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी संघ संस्था तथा सबै सरोकारवाला निकायलाई दिवस भव्य, सभ्य र व्यवस्थित रूपले मनाउन मन्त्रालयले आहृवान गरेको छ ।
यो दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘डिजिटल : लैंगिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने रहेको छ ।

यो दिवस महिला आन्दोलन राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानतालगायत सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोसलिष्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिष्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेबु्रअरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।

१९१० मा सोसलिष्ट इन्टरनेसनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो । हरेक वर्ष यस दिनलाई महिला दिवसको रूपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरूको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी विभिन्न ऐन कार्यान्वयनमा ल्याए पनि महिला र यौनहिंसाको अवस्थामा तात्विक फरक आउन सकेको छैन ।

यद्यपि, महिला अधिकारका बारेमा पछिल्ला दिनहरूमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ । संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । पहिलोपटक नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो । त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर हुनुहुन्थ्यो, जसले कानुन बनाएरै सती प्रथा उन्मूलन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?