कामकुरो एकातिर व्यवहार अर्कैतिर

Read Time = 14 mins

✍️ मेघनाथ दाहाल
मुलुकको आवश्यकता र वास्तविकता एकातिर रहेको तर हाम्रा राजनीतिक तथा प्रशासनिक कामकारबाही अर्कैतिर मोडिनाले हामीले आशातित विकास र परिवर्तनको सुरुवात गर्न सकेका छैनौं । नेपाली समाजको आवश्यकता र वास्तविकतासँग मेल खाने विकास, प्रशासनिक कामको सुरुवात कहिल्यै हुन सकेन । समाज र मुलुकको सकारात्मक परिवर्तनको खातिर चालिएका सम्पूर्ण कामकारबाही निरर्थक पो हुन जाने हुन् कि भन्ने भयले समाज त्रसित हुनथालेको छ । यस कुराको अनुभव सबै तहा-तप्काका नागरिकले प्रत्यक्ष रूपमा गर्न थालेका छन् । नेपाली राजनीतिको माथिल्लो तह-तप्काको नेतृत्वले तीन दशक लामो राजकाज चलाउने प्रक्रियामा पनि सही र समय सुहाउँदो थितिको सुरुवात गर्न सकेनन् ।

अब पनि शासन, शासकीय पद्धतिका बारेमा च्याँखे थाप्ने काम गर्न दलहरूलाई छुट छैन । आमनागरिकलाई विविध गुलिया कुराले भुल्याउने, रनभुल्लमा पार्ने काम गर्नतिर दलहरू नलाग्ने हो भने हामीलाई लक्ष्यमा पुग्न धेरै समय लाग्दैन । मुलुकले थिति समाउने र लक्षित गन्तव्यमा पुग्न दलहरू दोषी नभएर जनताहरू जिम्मेवार बन्नुपर्ने समय भएको छ । आवधिक निर्वाचनमा मात्र नागरिकहरूको भूमिका नभएर समग्र शासकीय पद्धति, स्थानीय तहमा हुने प्रत्येक क्रियाकलापमा जनप्रतिनिधि, कर्मचारी र व्यवसायीबीचको जोडघटाउले निम्त्याउन सक्ने समस्याप्रति नागरिक चनाखो हुनुपर्दछ । नेपालमात्र नभएर विश्व राजनीति भूमण्डलीकरण सूचनाको विस्तार र आर्थिक सम्बन्धले प्रभावित हुनेगरेको छ । यसैकारण शक्तिसन्तुलनको हेराफेरी परिवर्तन भइरहेको छ तर हाम्रो परिवेश भिन्न छ । यसका पछाडि जम्माजम्मी दुईवटा कारण छन् । पहिलो हाम्रो भूगोल, दोस्रो नेपाल–भारतीयबीचको हजारौं वर्षदेखिको सामाजिक सांस्कृतिक धार्मिक तथा यौनिक सम्बन्ध । जसले जे-जसरी परिभाषित वा व्याख्या गरे तापनि आउँदो समयसम्मै भारतीय राजनीति, बजार, उत्पादन, आर्थिक सम्बन्धले नेपाली राजनीतिलाई प्रभावित पार्ने कुरामा कुनै सन्देह छैन ।

छयालीस सालको परिवर्तनपछि हामीले पूरा एकदशक माओवादीलाई मूलप्रवाहमा ल्याउनमै खर्चियौं । यो राजनीतिक संक्रमणले मुलुकलाई नयाँ आर्थिक तथा सांस्कृतिक जगमा अगाडि लैजाने आशाका साथा सुरु गरिएको थियो । तर, यस राजनीतिक परिवर्तनले खासै काम गर्न सकेको छैन ।

तर, सार्वभौम मुलुकको वैदेशिक तथा कूटनीतिक सम्बन्ध कायम राख्ने काममा विविध परिधिभित्र रहेर नेपाली राजनीतिको मूल नेतृत्वले काम गर्ने हो भने अबको एक डेढ दशकमै मुलुकले परिवर्तनको बाटो समाउन सक्ने देखिन्छ । नेपाली समाज पूर्वीय दर्शनमा आधारित कृषि र पशुपालनमा सदीयौंदेखि रमाउँदै आएको समाज हो । सामाजिक सांस्कृतिक रूपमा जतिसुकै भाषाभाषी भेषभूषा, जातिजनजातिहरूको विविधताबीचमा सामाजिक सौहार्द्रता र सद्भावमा बाँच्दै रमाउँदै आजको सामाजिक रूपमा आइपुगेको समाज हो । शासन व्यवस्थामा हामीले प्रजातान्त्रिक पद्धति राजनीतिक रूपमा हामीले पञ्चायतको बिदाइपछि सुरुवात गरे तापनि समाजिक रूपमा हाम्रो सद्भाव र भाइचाराले यसलाई धेरै अगाडिबाटै मलजल गरिरहेको थियो ।

छयालीस सालको परिवर्तनपछि पनि हामीले पूरा एकदशक माओवादीलाई मूलप्रवाहमा ल्याउनमै खर्चियौँ । यो राजनीतिक संक्रमणले मुलुकलाई नयाँ आर्थिक तथा सांस्कृतिक जगमा अगाडि लैजाने आशाका साथा सुरु गरिएको थियो । तर, यस राजनीतिक परिवर्तनले खासै काम गर्न सकेको छैन । मुलुकभित्र तथा बाहृय जगतलेसमेत माओवादीलाई आजको प्रजातान्त्रिक पद्धतिका लागि स्वीकार गरेकै हो । यसबीचमा स्वयं माओवादीहरूले पनि सन्तुष्ट हुनसक्ने किसिमका काम गर्न सफल भएनन् । साथै गैरमाओवादीले पनि माओवादीहरूको आगमनपछि समाजिक रूपान्तरणमा जुन अपेक्षा गरेका थिए सो कुराको उपलब्धि भएको महसुस गर्न सकेका छैनन् ।

सामाजिक रूपान्तरण, विकासको नाराका साथमा राष्ट्रिय राजनीतिमा उदाएको यो शक्तिबाट जुन परिवर्तको अपेक्षा गरिएको थियो सो हुन नसकेपछि स्वयं प्रचण्डका नजिकका मित्रले साथ छोड्दै गएका छन् । साथै मुलुक राजनीतिक तथा आर्थिक रूपमा दिन प्रतिदिन दलदलमा फस्दै गएको छ । यस तथ्यलाई के भन्न खोजिएको होइन भने मुलुकको विकास तथा परिवर्तनको मसिहा प्रचण्ड र उनको राजनीतिक शक्तिमात्र हो । प्रजातन्त्रिक पद्धतिमा हामीले समावेशी संघीयता स्वरूपको गणतान्त्रिक शासन प्रणालीको सुरुवात ग¥यौं । तर, यसलाई संस्थागत गर्ने काममा मूलधारका प्रमुख दलहरू नै सबैभन्दा बढी चुकेका छन् । जबसम्म राजनीतिक पद्धति तथा शासन व्यवस्थालाई संस्थागत गर्ने काम हुन सक्दैन तबसम्म मुलुकले सामाजिक आर्थिक रूपान्तरणको स्वरूप निर्माण गर्न सक्दैन । नेपाली समाजको अग्रगामी तथा प्रगतिशील रूपान्तरणका लागि आवश्यक प्राथमिकताको निर्धारणमा दलहरूको बीचमा आजका दिनसम्म पनि मतैक्यता निर्माण हुनसकेको छैन ।

नेपाली कांग्रेस आफ्नो पार्टीविनाको नेपालको प्रजातान्त्रिक पद्धति नै अपुरो रहन्छ भन्ने भ्रममा छ । माओवादी संगठनात्मक तथा बाहृय हिसाबमा हराउँदै गए तापनि आजको उपलब्धि मेरै कारण हो भन्ने मपाइँत्वको नाक समाएर बसेको छ । नेकपा एमाले ओली बाँचुन्जेल सबैलाई बोलेर ठीक पारिहाल्छन्, त्यसपछि देखाजाएगा भन्ने मानसिकतामा बाँचेको छ । तराई केन्द्रित दलहरूको नेतृत्व तराईमा जहिलेसम्म भ्रम फैलाउन सकिन्छ त्यस बेलासम्म हाम्रो नेतृत्व सकिन्छ, त्यसपछिको राजनीति पशुपतिनाथको जिम्मा भन्ने सोचमा छन् । बाँकी रहेका बुजुक्छेको दल तथा विप्लपको दलले आजका दिनसम्म गरेको राजनीति तथा उपस्थितिको बारेमा हामी सबै सुसूचितै छौं ।

साथमा जुन तह-तप्काले २०५० सालमा नेपाली सत्ताको स्वाद पाएको थियो सोही तप्का नै आज पनि मस्ती लुटिरहेका कारण समाज रूपान्तरणमा धेरै प्रगति हुननसकेको हो । स्वयं प्रचण्ड मितिका हिसाबमा बालुवाटारमा २०६३ पछि मात्र पदार्पण गरेका हुन् तर उनलाई यसरी मस्ती मार्ने प्लेटफर्म आज पनि त्यही २०५० सालतिरकै समूहले बनाइदिएको हो भन्न अफ्ठ्यारो मान्नु पर्दैन । नत्र भने आजको विश्वमा दुई तिहाइभन्दा मुलुकहरू बहुदलीय प्रजातान्त्रिक पद्धतिमा छन् । दलहरूमा मुलुकको प्राथमिकता के हो भन्ने कुरामा एकमत हुन तीन दशकभन्दा बढी समय लगाउँदैनन् । हामीकहाँ काम नराम्रो भएमा पनि अपजस, राम्रो भए पनि अपजसको भारी बोक्नुपर्ने एक किसिमको नराम्रो संस्कारको विकास भएको छ । यसलाई समयमै न्यूनीकरण गर्नु जरुरी छ । आजको विश्व परिवेशमा कसरी अगाडि बढ्न सकिन्छ र प्रतिस्पर्धात्मक रूपमा हामीसँग भएको क्षमता के हो भन्ने कुरामा जबसम्म दलहरू एक स्थानमा पुग्दैनन् तबसम्म केही हुने छाँटकाँट देखिँदैन ।

हाम्रा धेरै विकास परियोजनाको सही छनौट र तिनको सही कार्यान्वयनमा चुनौती देखापरेका छन् । परियोजना छनौट हुन नसक्नु, समयमा कार्यान्वनमा समस्या, बजेटको जोहो तथा अनावश्यक राजनीतिक हस्तक्षेप एवं बजेटको दुरुपयोग जस्ता पक्षले समस्या सिर्जना गरेका छन् ।

नेपाली अर्थतन्त्रलाई अगाडि लैजान पहिलो काम नै समग्र कृषि क्षेत्रलाई प्रतिपर्धात्मक, व्यावायिक बनाउँदै यसको उत्पादकत्वमा भारी वृद्धि गर्नुपर्ने हुन्छ । यसको एउटामात्रै कारण आजका दिनसम्म हाम्रो कूल जनसंख्याको सबैभन्दा ठूलो हिस्सा यसैमा आश्रित छ । हामी चामलमात्र अर्बाैंको किन्ने तर भूमिको सही व्यवस्थापन र कृषिक्षेत्रको व्यावसायीकरणका लागि चाल्नुपर्ने काम कत्ति पनि नगर्ने परिपाटीले दलहरूको राजनीतिमात्र फष्टाएको छ, मुलुक नराम्रोसँग हारिरहेको छ । हाम्रो भूगोलले सबै स्थानमा सजिलै कृषिको व्यावसायीकरण गर्न इजाजत दिँदैन तर विविधताको पनि आफ्नै आर्थिक महत्व छ । चामल, स्याउ, मकै, कोदाको बजार मूल्य र महत्व फरक-फरक छ । कृषि उत्पादनलाई बजार र जीवनसँग जोड्ने काम राज्य संयन्त्रले गर्न सक्नुपर्दछ । यसलाई हाम्रो बजार तथा हामीले अंगीकार गरेको आर्थिक नीति बाधक बन्छजस्तो लाग्दैन ।

जस्तो नेपालको जलविद्युत्को व्यावसायिक उत्पादनमा भारतीय चासो स्वाभाविक हो । साथै जलविद्युत्को बिक्रीमा भारतीय पक्षसँगको सौहार्द्रता आवश्यक नै छ, किन भने हाम्रो सबैभन्दा नजिकको सबैभन्दा ठूलो बजार उही हो । हामीले उत्पादन गरेको विद्युत्को बिक्री चीन तथा बंगलादेशमा सजिलै गर्नसक्ने दिनमा छैनौं । तर, यो कार्यमा सार्वभौम मुलुकको हैसियत आर्थिक कूटनीतिको मर्यादा र लगानी एवं नाफा नोक्सानजस्ता पक्षमा नेपाली पक्ष बलियो भएर उभिन सक्नुपर्ने हुन्छ । साथमा आजको विश्वको बिग्रँदो वातावरणीय अवस्थामा वातावरणमैत्री ऊर्जा तथा संवेदनशील भूधरातलीय पक्षमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । विश्वले स्वीकृत गरेको दिगो विकास तथा यसका १७ वटा लक्ष्यमा धेरैपछि छौं ।

अन्त्यमा, नेपालजस्तो आर्थिक तथा वित्तीय रूपमा दह्रो नभइसकेको मुलुकले दातृनिकायसँगको सहकार्य तथा छिमेकीबीचको सद्भावलाई बचाएर राख्नुपर्ने हुन्छ । तीतो यथार्थ आज पनि हामी चालु खर्च सजिलै धान्न सक्ने अवस्थामा छैनौं । विनियोजित विकास खर्चसमेत विभिन्न कारण देखाई समयमा खर्च गर्न सक्दैनौं । सानोभन्दा सानो प्राविधिक पक्षमा अरूमा निर्भर छौं । आन्तरिक उत्पादन बढाउने कुरामात्र हुन्छ तर काम हुनसकेको छैन । यस परिवेशमा प्रचण्डले धेरै समझदारी, थोरै चलाखी र थोरै साहसका साथ काम गर्न सक्नु भएन भने उहाँको यो सिंहदरबारको सिंहासन विनाअर्थको हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?