स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा रेसुङ्गा क्याम्पसमा उम्मेदवार घोषणा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 7 mins

गुल्मी । स्ववियु निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघले विद्यार्थी नेता पुनाराम घिमिरेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । घिमिरे नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका इकाई सभापति हुनुहुन्छ ।

बुधबार नेपाली काँग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरि नेविसंघले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा घिमिरेको नाम सार्वजनिक गरेको हो । नेविसंघका जिल्ला सभापति झविन्द्र पाण्डेले यस क्याम्पसमा हुने स्ववियु निर्वाचनमा घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको घोषणा गर्नुभयो । उहाँले क्याम्पसलाई हरेक ढंगबाट अब्बल बनाउनका लागि नेविसंघले हरदम पर्यत्न र आवाज उठाउँदै आएको बताउनुभयो ।

शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकुल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीहरुको हकहितका लागि नेविसंघको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रको एलाइन्स अनुसार आफुहरु अगाडी बढिरहेको बताउँदै अन्य विद्यार्थी संगठनसँग पनि निरन्तर छलफल भइरहेको बताउनुभयो ।

सचिव र अन्य पदाधिकारीका विषयमा भने अन्य विद्यार्थी संगठनसँग गठबन्धनका लागि निरन्तर छलफल गरिरहेकाले छिट्टै टुंगो लाग्ने बताउनुभयो । स्ववियु सभापति उम्मेदवार घिमिरेले विद्यार्थीहरुको हकहितका लागि नेविसंघले विगतदेखि नै आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि समयानुकुल शिक्षा प्रवाहका लागि निरन्तर आवाज उठाउने बताउनुभयो ।

तीन विद्यार्थी संगठनबीच चुनावी तालेमल

यता, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (विप्लव) समूहका विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा मिलेर जाने सयुंक्त विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

जिल्लास्थित नेकपा एमाले सचिव गणेश श्रीपाली, नेकपा माओवादी केन्द्रका सचिव अशोक थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीका अध्यक्ष राजन पोखरेल र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का संयोजक राज खड्काले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको जनाएका छन् ।

विज्ञप्ति अनुसार एमाले निकट अनेरास्ववियुले रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस, दिगाम आदर्श क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु संस्कृत विद्यापिठमा नेतृत्व लिने विज्ञप्तिमा उल्लेख छ । यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकता, भावना र मर्मलाई मध्यनजर गरी तालमेल र सहमति गरी अघि बढने सहमति गरेका छन् ।

अनेरास्ववियुले अध्यक्षको नेतृत्व लिएको क्याम्पसमा क्रान्तिकारीले सचिव पदमा नेतृत्व लिने र क्रान्तिकारीले अध्यक्ष लिएको क्याम्पसमा अनेरास्ववियुले सचिव लिने सहमति भएको छ । अन्य पदमा आन्तरिक सहमतिका आधारमा उम्मेदवार टुंगाउने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तालमेल भएका विद्यार्थी बीच कमरेडली एकता तथा हार्दिकतापूर्ण समझदारीको विकास गर्ने बताईएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अझ बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरुको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि वढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?