महासंघ उपाध्यक्षका लागि ज्योत्सनाको पनि दाबी

Read Time = 4 mins

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि उद्योगी व्यवसायीको दौडधूप सुरु भएको छ । जसका लागि कतिपय आकांक्षीहरूले उम्मेदवारीसमेत घोषणा गरेका छन् । सोहीक्रममा बुधबार महासंघ कार्यसमिति सदस्य जोत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आफूले महासंघमा तीन कार्यकाल कार्यसमितिमा काम गरिसकेकाले अब एसोसिएटतर्फबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ ।

एक सक्षम महिला उद्यमीका रूपमा महासंघको मूल नेतृत्वमा पुग्ने लक्ष्यसहित आफू अघि बढेको र भवानी राणापछि महासंघको मूल नेतृत्वमा पुग्ने योजनासहित अघि बढेको उहाँले बताउनुभयो । संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि निजी क्षेत्रका छाता संगठनहरूमा महिला उपस्थिति न्यून रहेको उहाँले बताउनुभयो । श्रेष्ठसँगै एसोसिएटतर्फका उपाध्यक्षका अर्का आकांक्षी भरत आचार्य पनि रहनुभएको छ । शंकर ग्रुपका शाहिल अग्रवाल भने एसोसिएट उपाध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको दौडमा रहनुभएका दिनेश श्रेष्ठ पनि पछि हट्नुभएको छ । हाल महासंघको जिल्ला नगर उपाध्यक्ष उहाँ पुनः सोही पदको तयारीमा रहनुभएको छ । दिनेश वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहबाट पुनः जिल्ला नगरतर्फको उपाध्यक्षका लागि उम्मेदवार बन्ने तयारीमा रहेको बताइन्छ । वरिष्ठ उपाध्यक्षमा दिनेशसँगै उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई चर्चामा रहेकोमा अब उमेशलाल, संघाई र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलालले होलीको अवसर पारेर चुनावी क्याम्पियन सुरु गर्नुभएको छ ।

क्याम्पियनमा अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि सामेल गराउनुभएको छ । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने सबैलाई निर्विरोधरूपमा टिममा समावेश गर्ने प्रयास रहने बताउँदै आउनुभएको छ । महासंघको चैत २८ गते महाधिवेशन हुँदैछ । निर्वाचनपछि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्ने विधानमा व्यवस्था छ । महासंघमा एसोसिएटतर्फ एक हजार सात सय ५२ मत छ भने जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?