शंकर र योङगीलाई स्वर्ण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा स्वर्ण जित्नुभएको छ । शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो हुनुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२-१०, ५-११, ११-७ र ११-७ को सेटमा पराजित गर्नुभयो । श्रीजना ज्ञान सागरका सन्तोष थापा र मोर्डन इण्डियन स्कुल (एमआइएस) का विशाल थापा तेस्रो हुनुभयो । गल्र्सको उपाधि भिडन्तमा योङगीले न्यू सुम्निमाकी अंकिता बज्राचार्यलाई ११-५, ६-११, ११-६ र ११-५ को सेटमा हराउनुभयो । एपेक्स लाइफकी विद्विसा मैनाली र श्रीजना ज्ञान सागरकी विपिन थापा तेस्रो बन्नुभयो ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा श्रीजना ज्ञानसागरले फाइनलमा हृवाइटफिल्डलाई तीन-शून्यको सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान कब्जा ग¥यो । त्रियोग र एपेकस लाइफ तेस्रो स्थानमा रहनुभयो । उक्त स्पर्धाको गल्र्समा प्रभात पहिलो भयो । प्रभातले फाइनलमा श्रीजना ज्ञानसागरलाई सिधा सेटमा तीन-शून्यले पन्छायो ।

यु-१० गल्र्स सिंगल्समा प्राइम ग्लोबलकी प्राज्ना महर्जनले स्वर्ण चम्नुभयो । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवामाथि तीन-दुईको जित रच्नुभयो । त्यसै स्पर्धाको ब्वाइज फाइनलमा इडेन गार्डेनका रिजन शाक्यले श्रीजना सागरका प्रसिद्ध श्रेष्ठलाई तीन-शून्यले निराश पार्नुभयो ।

यु–१२ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी सुरण्या शाक्या विजेता बन्नुभयो । सुरण्याले फाइनलमा प्रभातकी सफिना कोजुलाई तीन-शून्यले पराजित गर्नुभयो । सोही स्पर्धाको ब्वाइज फाइनलमा एभरेष्टका आर्यन शाहीले बसाराका वचन विष्टलाई तीन-शून्यले हराउँदै शीर्ष स्थान हात पार्नुभयो ।

यु-१४ सिंगल्सको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ र ब्वाइजमा वृहस्पति विद्या सदनका सार्थक मानन्धर च्याम्पियन बन्नुभयो । शुभश्रीले ग्लोरियाकी महिमा महतालाई तीन-शून्य तथा सार्थकले आदर्श विद्या मन्दिर (एभीएम)का जयेश्नु महर्जनलाई तीन-एकले फाइनलमा हराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?