नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ गायक शिव परियार । उहाँको स्वरमा रहेका थुप्रै गीत श्रोता/दर्शकको मन मस्तिष्कमा रहन सफल छन् । विसं २०५१ सालदेखि औपचारिकरूपमा यो क्षेत्रमा लाग्नुभएका उहाँका ‘फेवा तालमा साइँली’, ‘अलिकति नजर तिम्रो’, ‘कहाँ थियौ तिमी’ ‘क्या दामी भो’, ‘पिलायो साथीले’, ‘संग’, ‘आँसुको अर्थ’, ‘नभेटी नभेटी’ ‘पाकेर खाको फल मिठ्ठो’, ‘फूलै फूल दिन्छौ कि’, ‘धोकेबाज हौ तिमी’लगायत धेरै गीत श्रोता/दर्शकको अत्यधिक रोजाइमा रहेका छन् । राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट प्रसारण भएको उहाँको पहिलो गीत ‘जति बिर्सियो तिम्रो याद’ थियो भने व्यावसायिकरूपमा सफल पहिलो गीत नेपाली लोक आधुनिक जनराको ‘फेवातालमा साइँली’ थियो । यस्तै, उहाँको करिअरको टर्निङ प्वाइन्ट नै दिने गीत ‘बेहोसीपछि त होसमा आउँदा क्या दामी भो’ रहेको छ । परियार संगीत पर्फमिङ आर्ट भएको भन्दै यसमा व्यावहारिकरूपमा साधना, सैद्धान्तिक चिन्तन र सिर्जनशीलता अत्यन्तै आवश्यक र महत्वपूर्ण लाग्ने बताउनुहुन्छ । जीवनपरक शब्द नै मेरो पहिलो शर्त हो भन्नुहुने शिव परियारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
गायनमा कहिलेदेखि हुनुहुन्छ ?
गायनमा औपचारिकरूपमा २०५१ सालदेखि छु ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
विसं २०५१ सालमा हजरिया सर्लाही अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय बालगीत गायन प्रतियोगितामा बालगायकका रूपमा प्रथम हुन सफल भएँ । त्यो समय म कक्षा सातमा पढ्थेँ । त्यसैबेलादेखि लगातार गायनमा लाग्ने प्रेरणा मिलेको हो ।
शिव परियार को हो ?
कलाकार, गायक/संगीतकार ।
गीत संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यी एकअर्काका परिपूरक हुन् । संगीतबिनाको जीवन असम्भव प्रायः छ । हामी सन्नाटा र शून्यतामा पनि संगीत महसुस गर्दछौँ । यो ब्रहृमाण्ड नै संगीतमय छ । ब्रहृमाण्ड र जीवन संगीतबिना सुचारु हुन सक्दैनन् ।
संगीत पर्फमिङ आर्ट हो । यसमा व्यावहारिकरूपमा साधना, सैद्धान्तिक चिन्तन र सिर्जनशीलता अत्यन्तै आवश्यक र महत्वपूर्ण छ । यो कुराको मार्ग अपनाउने कुनै पनि कलाकार माधुर्य र जादुभरि हुनुहुन्छ । सायद म पनि त्यसै कारणले नेपाली श्रोताहरूको माया पाउने भाग्यमानी कलाकार बन्न सकेँ होला ।
थुप्रै कालजयी गीत यहाँको स्वरमा सजिएका छन्, यहाँलाई शिव परियार भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करिअरको ‘टर्निङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट प्रसारण भएको मेरो पहिलो गीत ‘जति बिर्सियो तिम्रो याद’ हो । व्यावसायिक अनुभूति दिलाउने पहिलो गीत नेपाली लोक आधुनिक जनराको ‘फेवातालमा साइँली’ हो । टर्निङ प्वाइन्ट नै दिने गीत ‘बेहोसीपछि त होसमा आउँदा क्या दामी भो’ भन्ने नै हो ।
यहाँले सबै प्रकारका गीत गाउनुभएको छ । तर, पिलाउने पिउने गीत बढी गाउनुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
संख्यात्मकरूपमा बढीभन्दा पनि समग्र नेपाली संगीत जगत्लाई नै प्रभावित पार्न सक्ने गीत ‘क्या दामी भो’ र ‘पिलायो साथी’ले भएको कारण मलाई यस्तो भनिएको हुन सक्दछ ।
गीतमा अन्तर्मनका पीडालाई भावको उच्चतम् गहिराइबाट कलात्मक ढंगले यहाँले प्रस्तुत गर्नुभएका कारण नै यहाँका गीतलाई सर्वाधिक रुचाएको पाइन्छ । यहाँले गीत रेकर्ड गर्नुअघि केलाई प्राथमिकता दिनुहुन्छ ?
जीवनपरक शब्द नै मेरो पहिलो शर्त हो । जीवनपरक यथार्थ भाव समेटिएका यस्ता शब्द जसलाई हरेक श्रोताहरूले श्रवण गर्दा पनि आफ्नै लागि बनाइदिए जस्तो महसुस हुन सकोस्, त्यो विषय नै मेरो पहिलो शर्त हो ।
पछिल्लो समय विभिन्न भजनमा पनि स्वर दिनुभएको छ नि ?
भजनप्रति मेरो लगाव सुरुदेखि कै हो तर अहिले गाउने अवसर अलि धेरै पाएको छु ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता/दर्शकमाझ आएका होलान् ? केहीको नाम लिनुपर्दा ?
पाँच सयसम्म गीत हुन सक्दछन् अनुमानितरूपमा । ‘फेवा तालमा साइँली’, ‘अलिकति नजर तिम्रो’, ‘कहाँ थियौ तिमी’ ‘क्या दामी भो’, ‘पिलायो साथीले’, ‘संग’, ‘आँसुको अर्थ’, ‘नभेटी नभेटी’ ‘पाकेर खाको फल मिठ्ठो’, ‘फूलै फूल दिन्छौ कि’, ‘धोकेबाज हौ तिमी’लगायत धेरै छन् ।
नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
संगीत केवल मनोरञ्जनमात्र नभएर तत्कालीन समयमा समाजको एउटा सूचक, एउटा प्रतिबिम्ब पनि हो । यो समयको परिवर्तन सँगसँगै फेरिँदै जान्छ । समय परिवर्तनशील छ ।
केही गीत सर्जकले अति राम्रो भएको/गरेको भनिरहँदा पनि श्रोताले खासै मन नपराएको र केही गीत सामान्य भए पनि अत्यधिक श्रोताको रोजाइमा पर्ने गरेको पाइन्छ नि, यसको कारण के हो जस्तो लाग्छ ?
कलाकार ‘हिट’ र ‘फ्लप’ बनाउन सक्ने प्रतिनिधि श्रोताहरूलाई मन परेका गीत सबैले मन पराउनुहुन्छ । एउटा राम्रो कलाकार एउटा राम्रो श्रोता नहुन सक्दछ । त्यसैले पनि त्यस्तो अवस्था आउँदछ ।
राम्रा गीतभन्दा ‘झुर’ले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
‘झुर’ गीतले कहिल्यै बजार लिन सकेनन् । बजार लिने गीत ‘झुर’ हुनै सक्दैनन् । करोडौं श्रोताको नजरमा लोकप्रिय बनेको गीत कसरी झुर हुन्छ ? गीत श्रवण गर्न नजान्ने वा आफूलाई मन परेको गीतमात्र गीत बाँकी चाहिँ खत्तम भन्ने सोचाइले निर्देशित मानिसहरूलाई यस्तो लाग्न सक्दछ । झुर गीतले बजार लिन्थ्यो भने झुर कलाकारमात्र आज यो क्षेत्रमा हुने थिए तर मलाई यस्तो लाग्दैन ।
पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो र ?
पहिलेको तुलनामा अहिले नेपालीपन बोकेका गीत धेरै सुन्न पाइन्छ ।
यहाँको स्वरमा एकखालको जादु छ भन्ने गरिन्छ, यहाँले आफैंले आफैंलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
संगीत पर्फमिङ आर्ट हो । यसमा व्यावहारिकरूपमा साधना, सैद्धान्तिक चिन्तन र सिर्जनशीलता अत्यन्तै आवश्यक र महत्वपूर्ण लाग्दछ मलाई । यो कुराको मार्ग अपनाउने कुनै पनि कलाकार माधुर्य र जादुभरि हुनुहुन्छ । सायद म पनि त्यसै कारणले नेपाली श्रोताहरूको माया पाउने भाग्यमानी कलाकार बन्न सकेँ होला ।
नेपाली गीत संगीतमा हिजोका दिन र आजका दिनलाई कसरी तुलना गर्नुहुन्छ ?
हिजो म परिचयविहीन थिएँ, आज परिचय स्थापित भएको छ ।
नेपाली गीत संगीतको भोलिको दिन कस्तो देख्नुहुन्छ ?
संगीतसम्बन्धी नितान्त नयाँ-नयाँ सोच र चिन्तनले खारिएका कलाकारहरूको बर्चस्व नेपाली संगीतमा हुनेछ भोलिका दिनमा ।
बजारमा अवार्ड पाइरहेका गीत संगीतका बारेमा यहाँको धारणा के छ ?
नेपाली श्रोताहरूबाट पाइने सच्चा माया र आशीर्वाद नै एउटा कलाकारका लागि सच्चा अवार्ड हो । बजारमा अवार्ड पाउने गीतलाई पनि धेरै धेरै बधाई तथा शुभकामना ।
गीत संगीतका विभिन्न गुट उपगुटलाई कसरी लिनुहुन्छ ?
नेपालमा भेडा गोठालोदेखि शासकसम्म यो कुरादेखि अछुतो छैनन् ।
नेपाली गीत संगीतको श्रीवृद्धिका लागि के-कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ अर्थात् यसका लागि यहाँको सुझाव के छ ?
पहिलो प्राथमिकता नै संगीतको साधना, चिन्तन र अध्ययन आवश्यक छ ।
यो क्षेत्रमा आउने नयाँ पुस्ताका लागि के भन्न चाहनुहुन्छ ?
यो क्षेत्र केवल रमाइलो गर्नका लागि होइन, यहाँ जीवनको एउटा जिस्ट कुराको अध्ययन अनि साधना हुने गर्दछ । त्यसैले तपाईंहरूले पनि त्यो बाटो अवलम्बनसहित आउँदा पक्कै राम्रो परिणाम आउन सक्दछ ।
अन्त्यमा ?
यो बसाइ र संवादका लागि यहाँलाई विशेष आभार । नेपाली श्रोताहरूप्रति सदैव नमन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच