बाँकेमा विद्युतीय सवारी चार्जिङ प्वाइन्ट सञ्चालन

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको कोहलपुरमा विद्युतीय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर सञ्चालनमा आएको छ । कोहलपुरमा निजीस्तरबाट बिबी इन्टरप्राइजेज प्रालिले विद्युतीय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर सञ्चालनमा ल्याएको हो । कोहलपुरमा गत जेठ महिनादेखि प्रालिले अनौपचारिक रूपमा सेवा सञ्चालन गर्दै आएको थियो । सेन्टरको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेसँगै पश्चिम नेपालमै पहिलोपटक विद्युतीय सवारी चार्जिङ सेवा र कारोबार सुरु भएको हो ।

उक्त अवसरमा बोल्दै नगरप्रमुख आचार्यले विद्युतीय सवारी प्रयोग ल्याउने सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले कोहलपुर नगरपालिकाले विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएको बताउनुभयो । नगरप्रमुख आचार्यका अनुसार कोहलपुर नगरपालिकाको नीतिलाई सघाउ पुग्ने गरी सेवा सुरु हुनु सकारात्मक कुरा हो । निजी स्तरबाट हुने यस्ता कार्यलाई नगरपालिकाले प्रोत्साहन गर्ने उहाँको भनाइ थियो । विदेशी उत्पादन प्रवद्र्धन र खर्च कटौतीका लागि विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्नको लागि चार्जिङ प्वाइन्ट स्थापना गरिएको प्रालिले जनाएको छ ।

विद्युतीय सवारी चार्ज गर्ने स्टेशन गत जेष्ठ महिनादेखि अनौपचारिक रुपमा सुरु सेवा दिँदै आएको थियो । प्रालिका सञ्चालक समितिका अध्यक्ष रविप्रसाद कर्माचार्यका अनुसार पश्चिम क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरमा खर्च तथा वातावरणीय दृष्टिले लाभदायी रहेको सवारी बिक्री वितरण र चार्जिङ सुरु गरिएको हो । कूल एक करोड लागतमा बिबी इन्टरप्राइजेज प्रालिले विद्युतीय चार्जिङ प्वाइन्ट एण्ड रिफे्रस सेन्टर सञ्चालनमा ल्याएको हो । प्रालिका चार जना सञ्चालक रहेका छन् । यसका लगानीकर्ताका रूपमा अध्यक्ष कर्माचार्यसँगै विकास बुढाथोकी, पदम भट्टराई र विष्णु खनाल रहनुभएको छ ।

बिबी इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक समितिका सदस्य विष्णु खनालले विद्युतीय चार्जिङ प्वाइन्ट नेपालमै दोस्रोपटक सञ्चालनमा आएको बताउनु भएको छ । बिबी इन्टरप्राइजेज प्रालिले अहिलेसम्म १५ वटा विद्युतीय सवारी बिक्रिवितरण गरिसकेको छ । कोहलपुरमा तत्काल बाँके जिल्लालाई केन्द्रित गरेर सेवा सुरु गरे पनि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका अन्य जिल्लामा समेत सेवा विस्तार गरिने सञ्चालक खनालले बताउनुभएको थियो ।

विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाको लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको जग्गा १० वर्षसम्म भाडामा लिएको हो । कुल क्षेत्रफल दुई कठ्ठामा रहेको जग्गाको भाडा समितिलाई मासिक २० हजार रुपैयाँमा दिने सम्झौता गरिएको छ । प्रालिले विद्युतीय गाडीको समेत कारोबार गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?