बागलुङ । छरिएका बस्ती । भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्वर भूमि । जहाँ आलु, भाँगो र सिमीहरू लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा-टाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाइ छ । सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन सम्भावना नै देखिँदैन । यद्यपि कृषकहरूले जसोतसो जीवनयापन गर्न खाद्य उत्पादन गर्दै आएका छन् । सिँचाइको व्यवस्थापन गर्न समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादनलाई बढाउनेतर्फ लागेको छ । गाउँपालिकाले पाँचवटै वडाहरूलाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ ।
वडा नम्बर ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रका रूपमा घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउ वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्ने गरी योजना अगाडि बढाएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताउनुभयो । तमान गाउँका ३५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागतरूपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयलाई पकेट क्षेत्र घोषणा गरी अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उहाँको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम ५०० किलोदेखि माथि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले जनाएको छ ।
पालिकाले लाम्मेलासँगै वडा नम्बर ६ को नर्जाखानी, वडा नम्बर २ को मुठाचौरलगायतका ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरिकाले खेती गर्ने गाउँपालिकाले जनाएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिनका लागि पाँच लाख गरी १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।
कृषकलाई आवश्यक बीउविजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । खेतीयोग्य जमिनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले दीर्घकालीन योजना बनाउन लागेको उहाँको भनाइ छ ।
अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘गाउँपालिकाको आर्थिक उपार्जनको माध्यम नै कृषि हो, कृषिलाई व्यावसायिक र आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउने गरी कामको थालनी गरेका छौैँ, यहाँ मुख्य गरी कृषि र पशुपालन नै गर्ने कृषकको संख्या ठूलो छ, पालिकाले पनि सोहीअनुसार बजेट विनियोजन गर्दै आएको छ, जहाँ जुन चिज उत्पादन हुन्छ, माटो र हावापानीअनुसार बालीनाली लगाउन कृषकलाई प्रेरित गरिरहेका छौँ ।
भौगोलिक कठिनाइका कारण धेरै ठाउँमा सिँचाइको समस्या रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा कुलो तथा नहर निर्माण गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । पालिकाले रहेक वर्ष कृषि र पशुपालनका लागि बजेटसमेत वृद्धि गर्दै गएको अध्यक्ष बुढा मगरको भनाइ छ । उहाँका अनुसार वडा नम्बर १, २ र ३ लाई पनि खाद्यबाली पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच