लाकुरीबोटलाई मौरी पकेट क्षेत्रका रूपमा प्रवद्र्धन गरिने

हिमालय टाइम्स
Read Time = 4 mins

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-९ हिले टक्सारलाई मौरी पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । दोर्दी गाउँपालिकाले हिले टक्सारअन्तर्गत लाकुरीबोट गाउँलाई मौरी पकेट क्षेत्रका रूपमा प्रवद्र्धन गर्न लागेको हो ।

सिंगो गाउँलाई व्यावसायिक मौरी पालन र मह उत्पादनलाई प्रवद्र्धन गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र दोर्दी गाउँपालिकाको लागत साझेदारी रहेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट १२ लाख र गाउँपालिकाबाट १२ लाख गरी २४ लाख रुपैयाँ विनियोजन भएको दोर्दी–९ का वडाध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पहिलो चरणमा लाकुरीबोट गाउँमा रहेका करिब ४० घरपरिवारमा प्रत्येक घरमा मौरीसहितको घार वितरण गरिने र सोही कार्यक्रमलाई विस्तार गरिने वडाध्यक्ष तामाङको भनाइ छ । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय उपभोक्ता समिति गठन भई गाउँपालिकासँग सम्झौतासमेत भइसकेको छ । मौरी र मह उत्पादनलाई बढाएर अर्को वर्ष सिंगो गाउँलाई नै मौरी पकेट क्षेत्रका रूपमा विकास गर्ने वडा कार्यालयको योजना छ ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाले मौरीपालक कृषक सुविधालाई लक्षित गरेर पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु गरेको हो । व्यावसायिक मौरी पालनका लागि प्रवल सम्भावना भएको र स्थानीय कृषकहरूको पनि चाहना भएकाले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र लमजुङका अनुसार जिल्लामा बर्सेनि मह उत्पादनमा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका मौरीपालक कृषकहरू व्यावसायिकरूपमा मौरीपालन व्यवसायतर्फ आकर्षित हुँदा उत्पादनमा वृद्धि हुँदै गएको हो । हरेक वर्ष मौरीका घार वितरण तथा मौरीपालनसम्बन्धी तालिम दिएपछि मौरीपालनतर्फ किसान आकर्षित भई उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । जिल्लामा हाल दुई सयको हाराहारीमा किसानहरूले व्यावसायिक मह उत्पादन गर्दै आएका छन् ।

जिल्लामा उत्पादित महमध्ये करिब २० प्रतिशतमात्रै घरायसी प्रयोग हुने गरेको छ भने बाँकी ८० प्रतिशत मह जिल्लाबाहिर काठमाडौं, पोखरा, चितवनलगायतका बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । जिल्लाका मौरीपालक व्यावसायिक किसानहरूले चरण क्षेत्र निर्माण गर्नुका साथै सामुदायिक वनमा मौरी चरण गर्ने व्यवस्था मिलाएका छन् भने केही मौरीपालक किसानहरूले मौरीको आहाराका लागि तोरी खेतीसमेत गर्दै आएको केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?