‘कृषि र किसान समृद्ध भए मात्रै देश समृद्ध हुन्छ’

Read Time = 5 mins

काठमाडौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानको अवस्था सुधार्नुपर्नेमा कृषिविज्ञहरूले जोड दिएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ स्थापना दिवसका अवसरमा उनीहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधार हुँदै जाने बताएका हुन् ।

कृषि विकास बैंकका पूर्वअध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानीमात्र नभई उत्पादन बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानमा उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । उपाध्यायले भन्नुभयो, ‘सहकारीमा समस्यामात्र छैनन्, सफल प्रमाणित गरेका सहकारी पनि छन्, यसको पहिचान गर्ने र भन्ने समय आइसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटी अन्त्य हुनुपर्छ ।’ साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारीमार्फत् सदस्य किसानलाई प्रवाह गरेको ज्ञान, सीप, पुँजी, प्रविधि र सचेतनाले गरिब, पिछडिएको वर्ग, दलित, अल्पसंख्यक, महिलाको नेतृत्व विकासमा ठूलो योगदान पुगेको उहाँले बताउनुभयो ।

साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर विश्लेषण गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारी संस्थामार्फत् सदस्य किसानलाई सेवा प्रदान गर्दै आइरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । अहिले एक हजार पाँच सय ५९ साझेदार साना किसान कृषि सहकारीमार्फत् साना किसान विकास लघुवित्तले सेवा प्रवाह गरिरहेको अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।

कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङले दूरदराजका किसानलाई व्यवसायी बनाउन साना किसान लघुवित्तको योगदानको चर्चा गर्दै किसानलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । किसानको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसँग मात्र कारोबार गर्ने साना किसान विकास लघुवित्तको पहुँच वृद्धि गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाको मूल्यांकन गरिनुपर्ने बताउनुभयो । हाल नेपालका ७६ जिल्लाका १० लाख ७९ हजारभन्दा बढी घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको उहाँले दाबी गर्नुभयो । ७९ प्रतिशत महिला सदस्य रहने गरी नेपालको दूरदराजमा साना किसान कृषि सहकारी स्थापना भई सञ्चालनमा रहेको र सहकारीमार्फत् सदस्यले एकल र सामूहिकरूपमा चिया, दूध, डेरी, तेल, चामललगायतका उद्यम सञ्चालन गरेको बताउनुभयो ।
सो अवसरमा देशभर रहेका एक हजार चार सय ५९ साझेदार सहकारीमध्ये सर्वोत्कृष्ट परिवर्तन महिला साना किसान कृषि सहकारी सुर्खेतलाई पुरस्कृत गरिएको थियो भने ११ वटा इलाका कार्यालय रहेको संस्था हेटौंडा इलाका कार्यालयलाई उत्कृष्ट इलाका कार्यालयका रूपमा पुरस्कृत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?