राजनीतिमा अपरिभाषित ‘बेइमानी’

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाली राजनीतिले कहिल्यै पनि सरल रेखाको मार्ग अवलम्बन गरेको पाइएको छैन । राजनीति जहिल्यै बक्ररेखाबाट मात्रै हिँडिरहेको छ । यसरी हेर्दा राजनीति भनेकै षड्यन्त्र र बेइमानीको पुलिन्दा हो भन्ने देखिएको छ । वास्तवमा राजनीति भनेको नीतिहरूमध्येको पनि राजानीति हो । त्यसैले यसको नामै राजनीति रहन गएको हो । तर, पछि परिभाषा बदलियो र बाटो पनि फरक पर्न गयो । अरूलाई उचाल्नु, पछार्नु, धोका दिनु र आफू जसरी भए पनि सत्तामा पुग्नुलाई राजनीतिका रूपमा परिभाषित गरियो । हालका दिनहरूमा पनि यस्तै भइरहेको छ । अझै भन्ने नै हो भने हालका केही वर्षयता र तस्ता धचोका घडीहरू बढेर गएका छन् ।

विसं २०४६ सालको प्रजातन्त्रयता नेपाली कांग्रेसले दुई पटक एकल बहुमत पुर्‍यायो तर शासनमा स्थिरता आएन र पूर्णकाल आफ्नै कारणले सत्ता सञ्चालन गर्न सकेन । गणतन्त्रयता वर्तमान संविधान निर्माण भएपछि नेकपाले पनि झण्डै दुई तिहाइको बहुमत त ल्यायो तर पूर्णकार्यकालको त कुरै नगरौं आधा समय नबित्तै पार्टी फुटेर छिन्नभिन्न भयो । अहिलेसम्म आइपुग्दा नेपालको राजनीतिमा अनेक खालका झाँकी देखिन आए । ती सबैलाई राजनीति नै भन्ने हो भने वास्तवमा राजनीतिको नै उपहास हुन जाने निश्चित छ । हालका दिनमा देखिन आएका अनेकौं परिदृश्यलाई हेर्दा ती सबै नेपालको राजनीतिको पुनरावृत्ति नै हो भन्दा अत्युक्ति हुँदैन ।

प्राचीनकाल, मध्यकाल र आधुनिक काल जहिले पनि यस्तै हुँदै आइरहेको छ । राणाशसनभन्दा पहिले र राणाशासनकालपछि रक्तरञ्जित नै थियो । कुनै समयावधि पारिवारिक कलह र कुनै समय प्राणालीगत आग्रह-पूर्वाग्रहले ग्रसित बन्न पुगेको देखिन्छ । हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बेइमानी गरेको अभिव्यक्ति दिनुभएको छ, जसमा सत्यता प्रष्ट देखिएकै हो । कुरा त्यतिमात्र होइन अर्को यथार्थ कुरा त के पनि हो भने प्रचण्ड र माधव नेपालले मात्र उहाँलाई धोका दिनुभएको होइन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओलीले गरेको धोकाको परिभाषा मान्ने हो भने धोका दिनु भएकै हो ।

उहाँहरू सबैले ओलीलाई किन र कसरी धोका दिए वा बेइमानी गरे भनेर त्यसको कारण खोज्ने हो भने के निष्कर्षकमा पुग्न सकिन्छ । ओलीले उहाँहरूलाई धोका दिएको वा बेइमानी गरेकै कारण उहाँहरूले पनि ओलीलाई धोका दिएको हो । यसैले राजनीति भनेको साधुपन त हुँदै होइन । नेपाली कांग्रेसका सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराईले आफ्नै पार्टीका नेताहरूबाट पटक-पटक पाएको धोकाको इतिहास नेपाली राजनीतिक इतिहासको एउटा ज्वलन्त नमुनाका रूपमा रहेकै छ । राजनीतिमा आफू जित्न आफ्नै पार्टीका कार्यकर्तालाई अर्को पार्टीको चुनाव चिहृनमा छाप लगाउनसमेत निर्देशन गरिँदोरहेछ भन्ने त्यति प्रष्ट इतिहास शायदै अन्त कतै भेटिएला ?

त्यसैले केपी शर्मा ओलीले राष्ट्रपतिलाई आफ्नो प्रभावमा राखेर संविधान कानुन र पदको जति दुरुपयोग गर्नुभयो त्यसैको प्रतिच्छायाँ वर्तमान राजनीति हो । अरूको राजनीतिक राजमार्ग भत्काइदिएर खडा गर्न खोज्नु भएको राजनीतिक महल जुन थियो, छोटो समयमै त्यो सिसाको घरका रूपमा भताभुंग भएर भत्किन पुगेको छ । त्यसैलाई नै उहाँले धोकाको संज्ञा दिनुभएको हो, जो मौका पाउनासाथ उहाँले पनि पटक-पटक प्रयोग गर्नुभएकै हो । अब भने नेपाली जनताले नेताहरूका यस्ता ललौनाविलौनालाई कुनै महत्व दिँदैनन् । स्वार्थप्रेरित यस्ता अभिव्यक्ति नेताहरूका अरूलाई दोष लाउने र आफ्नो पक्षमा सहानुभूति बटुल्ने माध्यम मात्रै हो भन्ने सबैले बुझिसकेका छन् ।

बरू अब राजनीति गर्नेहरूले एउटा साझा धारणा र सहमति बनाएर देश विकासका लागि स्पष्ट खाका कोरेर अगाडि बढ्न सकेका खण्डमा उहाँहरूको त्यस्तो योजनालाई जनसमर्थन पनि प्राप्त हुने कुरा निश्चित छ । त्यसकारण वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नु भएजस्तो राष्ट्रिय सहमतिको वातावरण बनाएर साझा धारणा अघि सारेर देश र जनताको भलाइका लागि काम गर्नसके राजनीति जनताको नजरबाट हालसम्म जति गिरेको भए तापनि अब त्यसले विस्तारै सम्मान आर्जन गर्न सक्ने थियो । त्यसैले अर्काले आफूप्रति बेइमानी गर्‍यो भनिरहँदा आफूले अरूप्रति गरेको बेइमानी वा दिएको धोकाको स्मरण त्यत्तिकै सान्दर्भिक हुनु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?