दाउरा र स्याउलाको प्रयोग घटेपछि जंगल भए हराभरा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । गाउँमा ग्याँस चुल्होको प्रयोग बढ्दै र पशुपालन गर्ने कृषकहरुको संख्या घट्दै गएपछि दाउरा स्याउलाको उपयोगमा कमी आउँदा बनजंगल फडानी रोकिएको छ ।

वनमा दाउरा, घाँस र स्याउला लिन गाउँलेहरु जान छोडेपछि म्याग्दीका जंगलहरु हराभरा भएका छन् भने वनमा कुकाठ र झाडी विस्तार हुँदै गएको स्थानीयले बताएका छन् ।

म्याग्दीको बगरफाँट सामुदायिक वन,गौश्वारा सामुदायिक वन, भकिम्ली,अर्मन,बरंजा लगाएतका ६४ वटा सामुदायिक वनहरु अहिले हराभरा भएका जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डेढ दशक अघिसम्म रित्ता रहेका पाखा अहिले बाक्लो वनका रुपमा परिणत भएकोमा बेनी नगरपालिका २ का खड्गबहादुर थापा असाध्यै खुसी हुनुुहुन्छ । बगरफाँट सामुदायीक वनको शुरुको र अहिलेको अवस्थाका वारेमा थापाले भन्नुभयो ‘हामीले संरक्षण गर्ने बेलामा त मरुभूमी जस्तै थियो नि, केही थिएनन बिरुवापात, अहिले त पस्नै नसक्ने पटेर भएको छ वन ।’

‘पहिले स्थानीयले गाईवस्तु चराउने पुरै रित्तोपाखो थियो । अहिले त्यो सम्झदा त आफैँलाई अचम्म लाग्छ । यत्ति छिट्टै यस्तो घना वन वनला भन्ने हामीलाई पनि लागेको थिएन तर अहिले सबैले आहा, कस्तो राम्रो वन भनेको सुन्दा खुसी लाग्छ ’ थापाले भन्नुभयो । हुन पनि हो, २०५४ सालमा उनकै अगुवाईमा संरक्षण थाल्नुअघि बगरफाँट सामुदायिक वनको रित्तो पाखो अहिले यस क्षेत्रकै अब्बल सामुदायीक वनका रुपमा विकास भएको छ । संरक्षणमा समुदायले गरेको योगदानले वन हराभरा र पर्यटकीय स्थलका रुपमा समेत विकास हुँदै गएको छ ।

बगरफाँट सामुदायिक वनका अध्यक्ष दिलबहादुर घिमिरेले गाउँलेहरु वनजंगलमा जान छोडेका र गाउँमा पक्की घर निर्माण गर्ने क्रम बढेकाले पनि जंगल मौलाउने अवसर पाएको बताउछन् । ‘पहिला पहिला सवै वनमा नै निर्भर रहन्थे,घाँस,दाउरा,स्याउला,काठ सवै वनबाट नै ल्याउनु पर्ने हुन्थ्यो,त्यसैले पहिला पातलिएको वन अहिले गाउँलेहरुले फडानी रोकेपछि मौलाएको हो ।’ अध्यक्ष घिमिरेले भन्नुभयो ।

तर अध्यक्ष घिमिरेलाई भने रित्तो पाखो संरक्षण गर्ने हो भने घना वन बनाउन सकिन्छ भन्ने बाहिर फेर हिड्डुल गर्दा र जिल्ला वनको एउटा गोष्ठीमा जाँदा सुनेपछि विश्वास पलाएको थियो । पुरानो अवस्था सम्झदै घिमिरेले भन्नुभयो ‘मैले वन संरक्षणका लागि आजभन्दा २० वर्ष पहिलेदेखि नै एउटा योजना वनाएको थिएँ, त्यो योजना गाउँलेलाई पचेन तर पछि आँफै वनको संरक्षण हुन थाल्यो,अहिले खुसी छु ।’
यही अवस्था गौश्वारा सामुदायिक वनको पनि छ । पहिला पहिला रातारात फडानी हुने वन अहिले हराभरा भएको छ । वनभित्र जंगलीजनावरको रजगज छ । मानिसहरु वनमा पस्नै डराउँने गरेका स्थानीय रत्नवम मल्लले बताउनु भयो ।

जिल्लाका सवै सामुदायिक वनले चरिचरनमा रोक लगाएका छन् । चरिचरन रोकिनुका साथै घाँस दाउरा गर्न गाउँलेहरु जंगल पस्न छोडेपछि प्राकृतिक रुपमा नै वनजंगल हराभरा हुन थालेका भकिम्लीका श्याम हुमेनले बताउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अनुसार जिल्लाका ३ सय वढी सामुदायिक वनको अवस्था अहिले सुधार हुँदै गएको पाइएको छ ।
सामुदायीक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै वन तथा वातारण क्षेत्रका अगुवा जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणी सापकोटाले तीनै तहका सरकार तथा वन पैदावार बिक्री गरेर मनग्य आय आर्जन गर्ने समूहले नर्सरी वनको प्रवद्र्धनमा सहयोग पु¥याउने समूहलाई अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । विगत २०५१ सालदेखि शुरु भएको सामुदायिक वनको अवधारणा अनुरुप हालसम्म सरकारले सात वटै प्रदेशमा २२ हजार २२२ वन समूहलाई हस्तान्तरण गरिसकेको उहाँले बताउनु भयो ।
देशका कूल सामुदायिक वन समूहमध्ये लगभग ३० प्रतिशत आर्थिक रुपमा कमजोर छन् । कूल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालमा करीव ४० प्रतिशत वन संरक्षण क्षेत्रको रुपमा छ । त्यसले वनमा आधारित गरिब, आदिवासी, सीमान्तकृत समुदायलाई जीविकोपार्जनमा असहज भएको महासंघ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?