काठमाडौं । ‘ए’ डिभिजन लिगका सफल टोलीद्वय मनाङ-मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आइतबार भएको खेलमा दुवै टोलीले पाएका पटक-पटकको मौका सदुपयोग गर्न सकेनन् । दोस्रो मिनेटमा विमल घर्तीमगरको पासमा पुजन उपरकोटीको पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले पञ्च गर्दै खतरा टार्नुभएको थियो ।
३२औँ मिनेटमा देवेन्द्र तामाङको प्रहारलाई पनि दीप कार्कीले जोगाउनुभयो । ३८औँ मिनेटमा विमल घर्तीमगरको हेडर पोस्ट नजिकैबाट बाहिरियो । यस बराबरीसँगै मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अंक बटुलेको छ । मच्छिन्द्रले यसअघिका दुई खेलमा हार बेहोरेको थियो । उसको तीन खेलबाट एक अंक भएको छ । मच्छिन्द्र पहिलो खेलमा जावलाखेलसँग तीन-एकले तथा आर्मीसँग दुई-शून्यले पराजित भएको थियो । अपराजित मनाङको तीन खेलबाट पाँच अंक पुगेको छ ।
यस्तै, अर्को खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले तीन-तीन गोलको बराबरी खेले । खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभयो । ५२औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउनुभयो ।
५७औँ मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी दुई-एकले अघि रहृयो ।
खेलको ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी तीन–एकले अघि बढेको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । ६८औँ मिनेटमा सुदिल राईले र ८६ औँ मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत् गोल गर्दै खेललाई तीन–तीन गोलको बराबरीमा ल्याउनुभयो ।
यस बराबरीसँगै एनआरटीले तीन खेलमा एक अंक जोडेको छ । एनआरटीले अघिल्लो दुई खेलमा हार बेहोरेको थियो । आर्मीको यो दोस्रो बराबरी हो । आर्मीले तीन खेलमा पाँच अंक जोडेको छ ।