काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार नामावली प्रकाशन गरेको हो । अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारैजना उम्मेदवारहरू समावेश छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिलाकुमारी यादव, रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो ।
राष्ट्रपति खसआर्य समुदायका पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुईजनाको उम्मेदवारी दिएको थियो । यसो हुँदा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार उठाएको छ । शाक्य आदिवासी-जनजाति समुदायकी हुनुहुन्छ भने अन्य तीनजना मधेसी समुदायबाट रहनुभएको छ । जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार फिर्ता नगर्ने जनाइसकेको छ ।
सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको छ । राष्ट्रपति चुनावमा एकढिक्का देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने विभाजित देखिएको छ । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खसआर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यालयले उम्मेदवारी कायम राखे पनि नेकपा एमाले यादवको उम्मेदवारीविरुद्ध अदालत जाने तयारीमा छ । उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको संख्या संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
यादवविरुद्धको उजुरी खारेज
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध परेका उजुरी खारेज गरेको छ । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गर्दै यादवको उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य र बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदायको हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिँदा खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न मिल्दैन ।’ यादवविरुद्ध उपराष्ट्रपतिमा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाले उजुरी दर्ता गराउनुभएको थियो । पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा महिला मात्रै उपराष्ट्रपति उम्मेदवार हुनुपर्ने शाक्य र झाको माग थियो । आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले सार्वजनिक गर्नुभएको उम्मेदवारको अन्तिम नामावलीमा शनिबार उम्मेदवारी दिनुभएका चारैजना रामसहायप्रसाद यादव, प्रमिला कुमारी, अष्टलक्ष्मी शाक्य र ममता झाको नाम समावेश छ ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनु अनिवार्य छैन
उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था संविधानमा नरहेको जिकिर गर्नुभएको छ । उपराष्ट्रपतिमा आफ्नो उम्मेदवारीविरुद्ध परेका उजुरीको आइतबार जवाफ दिँदै यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाउनुभएको हो । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगलाई लिखित जवाफमा यादवले भन्नुभएको छ, ‘नेपालको संविधानको धारा ९१ (२) मा उपदफा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्नेछ । सो धारामा महिलाको अनिवार्य गरेको देखिन्छ । तर, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा रहेको संवैधानिक र निर्वाचन सम्बन्धित ऐन २०७४ मा त्यस्तो अनिवार्य व्यवस्था छैन ।’ संविधानको भावना र उद्देश्य अनुकूल विभिन्न समुदायको व्यक्ति राष्ट्रपतिमा र उपराष्ट्रपतिमा निर्वाचित हुने भनी समावेशी सिद्धान्तलाई अंगीकार गरिएको यादवको जवाफ छ ।
उम्मेदवारी फिर्ताबारे जसपामा विवाद
उपराष्ट्रपतिमा जसपाका दुवैजना उम्मेदवारी कायम रहने भएका छन् । रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएपछि जसपाकै प्रमिला कुमारी यादवको उम्मेदवारी फिर्ता लिएर एउटा मात्रै राख्ने जसपाले प्रयास गरे पनि विफल भएको छ । रामसहायको उम्मेदवारी कायम भएपछि प्रमिलाको फिर्ता गराउन जसपा नेताहरूको बैठक आइतबार सिंहदरबार बसेको थियो । बैठकमा प्रमिलालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि नमान्दा पार्टीले निर्णय गर्न सकेन । सत्ता गठबन्धनले उपराष्ट्रपति जसपालाई दिने निर्णय गरिसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेकाले कुनै उम्मेदवारको उम्मेदवारी फिर्ता भए पनि अब मतपत्रमा चारवटै उम्मेदवारको नाम रहनेछ । उम्मेदवारी फिर्ता लिने अवधि शनिबार दिउँसो ४ बजे सकिएको छ । अन्तिम समयमा भए पनि प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता हुने जसपाका नेताहरूको दाबी छ । निर्वाचन आयोगको निर्णयका कारण पुरुष उम्मेदवार हुन नपाउने हो कि भन्ने आशंकामा जसपाले रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।
उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नहुने भन्दै ध्यानाकर्षण
उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद् भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यस बारेमा ध्यानाकर्षण गराएका थिए । महिला कानुन व्यवसायीहरूले संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति÷उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको जानकारी दिँदै अधिवक्ता राधिका खतिवडाले भन्नुभयो, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो । त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रस्तावनाअनुसार नै होस् । पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस् । कानुनले व्यवस्था दिएको छैन । निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो । यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ ।’
राष्ट्रपति निर्वाचित भएपछि पौडेलद्वारा कांग्रेसको सदस्यता त्याग
राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सदस्यबाट राजीनामा दिनुभएको छ । पौडेलले आइतबार केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पार्टीको सदस्यबाट राजीनामा दिनुभएको हो । कांग्रेस नेता राजुराज जोशीले पौडेलको पार्टी सदस्यबाट राजीनामाको पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको थियो । कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार राजीनामा बुझाउनुभएको जानकारी दिनुभयो । कांग्रेसको तनहुँ उपसभापतिदेखि केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म बन्नुभएका पौडेल पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ । पौडेल गत निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ समेत उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका