देशको तेस्रो राष्ट्रपतिका रूपमा पौडेलद्वारा पदभार ग्रहण

शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभयो ।

पद तथा गोपनीयताको शपथग्रहणपछि राष्ट्रपति पौडेलले सोमबार नै पदभार ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । पौडेलले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभएको थियो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७२७ मतभार)ले मतदान गर्नुभएको थियो भने प्रदेशतर्फ ५१८ (२४ हजार ८६४ मतभार) सांसदले मत दिनुभएको थियो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार ५९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६२८ थियो ।

२००१ साल असोज २९ गते तनहुँको व्यासमा जन्मिनुभएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बन्नुभएको छ । कांग्रेस पार्टीबाट ६ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहनुभएका पौडेल अब संवैधानिक राष्ट्र प्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नु भएको छ । पौडेल ६ पटक सांसद, पाँचपटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बन्नुभयो । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसद्मा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिए पनि जित हासिल गर्न नसक्नुभएका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल हुनुभयो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बन्नुभएको थियो । २०१७ सालमा तत्कालीन राजाले संसद् भंग गरी कांग्रेस संस्थापक नेता एवं प्रधानमन्त्री बिपी कोइरालालाई जेल हालेको विरोधमा पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । त्यसपछि सक्रिय राजनीतिमा निरन्तर लाग्नुभयो । २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बन्नुभएका पौडेल २०३४ सालबाट आफ्नै गृहजिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय हुनुभयो । २०४३ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहनुभएका पौडेल २०६२ सालमा कांग्रेसको केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवाहक सभापति बन्नुभयो ।

२०४८ सालपछि भएका सातवटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचनमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा प्रतिनिधिसभाको सभामुख बन्नुभएका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बन्दै संसद्मा विपक्षी दलको नेताको भूमिका निर्वाह गर्नुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक गिरफ्तार र १५ वर्ष जेलजीवन बिताउनुभएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

नयाँ राष्ट्रपति पौडेलको सम्मानमा २१ तोपको सलामी
चौथो कार्यकालका लागि चुनिनुभएका राष्ट्रपति पौडेलको सम्मानमा २१ तोपको सलामी दिइएको छ । पौडेलले शीतल निवासमा गरेको शपथग्रहणका क्रममा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी दिएको हो ।

नवनिर्वाचित राष्ट्रपतिबाट पदभार ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । पौडेलले सोमबार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । चौथो कार्यकालको लागि राष्ट्रपतिमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल लैनचौरस्थित शहीद पार्क पुग्नुभएको छ । लैनचौर पुगेर राष्ट्रपति पौडेलले शहीदलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । राष्ट्रपति पौडेल लगत्तै शहीदगेट पुग्ने कार्यक्रम रहे पनि सडकजाम हुनसक्ने भन्दै लैनचौरबाट नै शीतलनिवास फर्किनुभएको थियो ।

शीतल निवासबाट भण्डारीको बिदा
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी सोमबार शीतल निवासबाट बिदा हुनुभएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गर्नुभयो । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभयो । शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा भण्डारीलाई नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरी उषाकिरणको निवासमा जानुभएको छ । घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खानुभएको थियो । निर्वतमान राष्ट्रपति भण्डारी बूढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले छोरीको निवासमा जानुभएको हो । बूढानीलकण्ठ नगरपालिका-२ चपलीस्थित भण्डारीको घरमा २०७२ को भूकम्पका कारण क्षति पुगेपछि हाल मर्मतको काम भइरहेको छ । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कात्तिकमा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । भण्डारी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकाल फागुन २८ गते समाप्त भएको थियो ।

भण्डारीलाई छाड्न गएनन् गृहका कर्मचारी
सात वर्षे कार्यकाल सकेर सोमबार निवृत्त निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासबाट बिदाइ गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्म छाड्न जानुभयो । राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गरेको छ । यसअघि प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन । नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । यसअघि प्रथम राष्ट्रपति यादवलाई छाड्न गृह मन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास जानुभएको थियो । राष्ट्रपतिको स्वागत र बिदाइसम्बन्धी सबै काम शीतल निवासमा हुने भए पनि यसको सम्पूर्ण व्यवस्थापन गृह मन्त्रालयले हेर्छ । निवर्तमान भण्डारीको बिदाइ क्रममा भने मन्त्रालयले प्रक्रियागत त्रुटि गर्न पुगेको देखिन्छ ।

पौडेलले दिनुभयो प्रतिनिधिसभाको सदस्यबाट राजीनामा
नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले सभामुखलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाउनुभएको हो । पौडेलको राजीनामा पत्र सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । मंसिर ४ गते भएको निर्वाचनमा पौडेल तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । चैत्र ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा पौडेलको राजीनामा स्वीकृत भएर स्थान रिक्तताको सूचना सभामुखले बैठकमा सुनाउनुहुनेछ । रिक्त रहेको स्थानमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पौडेलले यसअघि नै नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिइसक्नु भएको छ ।

शपथ समारोहमा राष्ट्रपति पौडेलका चार ‘विशेष अतिथि’
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो १ बजे शीतल निवासमा शपथग्रहण गर्नुभयो । शपथ समारोहमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सांसदहरू संवैधानिक निकायका पदाधिकारीदेखि कूटनीतिक नियोगका अधिकारीहरू बोलाउने नियमित सूची हो । तर, यसपटक चारजना विशेष अतिथि पनि शपथ समारोहमा उपस्थित भएका छन् । ती विशेष अतिथिलाई पौडेल आफैँले बोलाउनुभएको हो । शपथग्रहण कार्यक्रममा पौडेलले आफू जेल रहँदाका मित्रहरूलाई बोलाउनुभएको हो । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेल बस्नुभएका मानिस हुन् । त्यस्तै, बागलुङ जेलमा बस्दा जेलमा दूध पुर्‍याउने व्यक्ति डिलप्रसाद सापकोटा (सापकोटा बाजे) लाई पनि पौडेलले शपथमा बोलाउनुभएको थियो । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब एक हजार पाँच सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलको पहिलो निर्णय : इजिप्टका लागि राजदूत नियुक्त
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेलगत्तै राजदूत नियुक्त गर्दै पहिलो निर्णय गर्नुभएको छ । उहाँले सोमबार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय सूचना जारी गर्दै जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?