माटो बाँझो र बन्जर रहँदैन

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

ढकाल सर !
जयनेपाल,
कोइराला सर !
जयनेपाल,
कोइराला :
देवी सर, तपाईं हिमालय टाइम्समा मंलबार एउटा लेख लेख्नुहुन्छ । बुधबार म लेख्छु । हामी दुवैलाई कसैले अलिकति पनि लाज मान्नुपर्ने काम गर्‍यो या बोल्यो भने त्यसको धतुरो झार्न हामीलाई आइतबार पर्खनु पनि पर्दैन । धेरै मान्छे भाषाका नाममा, मर्यादाका नाममा र पाउने नाममा पनि भद्रो हेर्ने गर्दछन् । आज म एउटा कुरा गर्न खोज्दै छु । हामी लामो नोकरीका वर्ष बिताएर अवकास जीवन बिताउन लागेका पनि निकै वर्ष भयो । हाम्रा छोराछोरी पनि आआफ्ना पेशा-व्यवसायमा लागेका छन् तर पनि घरबाट दुईचार दिन बाहिर निक्लन नसक्ने भएको अनुभव मैले गर्दै आएको छु ।

तपाईं कहिले भारतका विभिन्न स्थानमा कहिले काठमाडौं कहिले पोखरा त कहिले नुवाकोट गएर खोलाका पुलदेखि देवीस्थान एवं देवालयका प्रांगणमा बुढाबुढी आँखा तर्दै यन्त्रनिर्मित प्रतिकृति खल्ती दृष्यपाठ्य संयन्त्रमा राखेको देख्छु । रहर लागे पनि कतै पाइला चाल्न नसक्नुका कारणमध्ये एउटा हो मेरो अल्छे प्रवृत्ति । दोस्रो हो मुद्गल पुराणको शुद्धाशुद्धिले लिने समय र तेस्रो हो नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै भन्ने उखानमाथिको दृढविश्वास । यस्तै केही कुरा तपाईंमा लागू हुनुपर्ने तर नभएर चकित छु म ।
ढकाल :
जब चाहृयो तब हिँड्ने, जहाँ भन्यो त्यहाँ पुग्न कुनै चिन्ता नहुने भनेका त तपाईंले पढेका ‘भ्रमर’ का पात्रमात्रै हुन् सर । भ्रमरका पात्र चाहिँ रोबोटजस्ता छन् । आज यहाँ भोलि कहाँ । एउटा परिस्थितिबाट एकाएक अर्को परिस्थितिमा पुगेको देख्दा पटक्क विश्वास पनि नलाग्ने । भवानी भिक्षुका ‘आगत’ का पात्रको भन्दा पनि बढी सहज किसिमले भ्रमरका पात्रहरू हिँडेको मैले अनुभव गरेको थिएँ । मानव जीवनमा सबैभन्दा महत्वपूर्ण कुरो हो आर्थिक पक्ष जसमा समग्र जीवन झुण्डिएको हुन्छ र त्यसैले सबै कुरालाई नियन्त्रण गर्दछ । म त अर्थशास्त्रकै विद्यार्थी पनि भएको हुनाले साहित्य पढ्दा पनि त्यहाँ आएका पात्रपात्रीका जीवनमा अर्थस्रोतको के कस्तो प्रभाव प्रक्षेपित भएको छ भनेर पनि हेर्छु ।

आगत नेपाली जमिनदारी प्रथाका बेलाका नेपालको खातापिता परिवारको एउटा खास संस्कार संस्कृति र तहको चित्रणमा केन्द्रित उपन्यास हो । त्यस कारणले ती वाम समालोचकले भनेका कतिपय कुरासँग सहमत असहमत हुन सकिने ठाउँछँदैछ नै । पात्रपात्रीहरू कति सहज छन् कति स्वाभाविक छन् ।

उपन्यास पढेको आनन्द त एउटा पक्ष छँदैछ । अर्को पक्ष त्यहाँको जीवन दुःखी छ कि ? सुखी छ कि ? शोषणले कति ग्रस्त गरेको छ त्यसका विरुद्धको आवाज निकाल्ने सूत्र प्रयुक्त छन् कि छैनन् ? भौतिक जीवन र पारमार्थिक जीवन चिन्तनको सन्तुलन कसरी गरेको छ ? मान्छे केबल खानु र लाउनुमात्रै त होइन नि । उसका अनेकौं पक्ष र पाटा या आयाम हुन्छन् तिनको सहज विकास या स्फुरण भएको छ कि खुम्चिएको, निरास निरास बनेर तातो न तातो उच्छ्वास छाड्न त विवश छैनन् त्यहाँका पात्रहरू भनेर पनि हेर्छु ।
कोइराला :
सर क्या मजाको कुरो गर्नुभयो । भ्रमर, आगत दुवै मैले स्नातकोत्तर तहमा पढ्दा कोर्समा राखिएका थिए । गुरुहरू तिनका केही सैद्धान्तिक र संरचनात्मक पक्षका कुरा गर्थे र कोर्स सकियोसम्म भन्थे । एकजना वामपन्थीले भ्रमरको समालोचना लेखेछन् । तपाईंले भनेकै कुरा ठ्याक्क लेखेका रहेछन् । त्यहाँका पात्रहरूलाई आर्थिक पक्षले अलिकति पनि छोएजस्तो देखिँदैन । यो स्वच्छन्दतावादी उपन्यास भए पनि त यस जीवलोकको चित्रणमा त तिनका खानपान रहनसहन, गारोसाँगुराको चित्रण गर्नुपर्दैन र ? भनेर मजाले आलोचना गरेका रहेछन् । त्यो आलोचना पढिसकेपछि तिनैले मधुपर्कमा लेखेको आगतको समालोचना हेरेँ । दुवैमा उनको वामनजरमा खास अन्तर मैले केही पनि देखिन ।

आगत नेपाली जमिनदारी प्रथाका बेलाका नेपालको खातापिता परिवारको एउटा खास संस्कार संस्कृति र तहको चित्रणमा केन्द्रित उपन्यास हो । त्यस कारणले ती वाम समालोचकले भनेका कतिपय कुरासँग सहमत असहमत हुन सकिने ठाउँछँदैछ नै । पात्रपात्रीहरू कति सहज छन् कति स्वाभाविक छन् । उदार अनुदार कुन चरित्र प्रकट गर्दछन् हामी पनि हेर्छौं । प्रत्येक ठाउँ प्रत्येक मान्छे जस्ता उपन्यास र घामका पाइला भन्ने उपन्यास पढ्ने भाव र नजरले नै ‘खैरेनी घाट’ भन्ने उपन्यास पनि पढियो या अलिखित पनि ‘भ्रमर’ कै नजरले पढियो भने कृतिमाथि अन्याय त छँदैछ पाठक र त्यसरी समालोचना गर्ने व्यक्तिको बौद्धिकता पनि त प्रकट हुन्छ नि !

महाकवि कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ नाटकको चौथा अंकको चौथो श्लोक निकै मार्मिक छ । संस्कृत भाषासाहित्यका महारथीहरू त्यो श्लोक संस्कृतमा नै पढ्दा पनि रुँलारुँला गर्छन् तर मलाई त्यो संस्कृतले त्यस्तो बनाउँदैन । सानामा आमाले जाँतो पिध्दा शम्भुप्रसाद ढुंगेलको अनुवाद नेपाली श्लोक ‘जान्छिन् आज शकुन्तला घर भनी..उठ्तोछ चिन्ता अति’ भनेर लय तानेर गाउँदा आमा र म सँगै सुक्सुकाउँथ्यौँ । अहिले अलिअलि संस्कृत बुझे पनि मलाई ढुङ्गेलका अनुवादले जति भावुक बनाउँछ त्यति कालिदासले सक्दैनन् । यो के भने पहिलो प्रभावको पनि कुरो हुन्छ मानव हृदयमा ।

पहिले जे कुराको जुन रूपमा प्रभाव परेको हुन्छ त्यो अमिट भएर रहन्छ । मानौं कुनै उपन्यासमा पात्र पनि कुुकर्ममान, लावन्ती, नोभा, विप्लव, घाती राम्रो नराम्रा कुराको अभिव्यञ्जक शब्दावलीबाट नाम जुराएर यदि देशको विगत र वर्तमानको समग्र शिक्षा, राजनीति, प्रशासन, उद्योग, कृषि व्यवसाय, वाणिज्यलगायत यौन उपभोग, उत्कोच ग्रहण गरिने प्रथा र शैली समेतका क्षेत्रमा व्याप्त मुखमा रामराम बगलीमा छुराको समग्र चित्र पढ्न पाउनुभयो भने के भन्नु हुन्छ ? एउटा दुई सयदेखि तीन सय पृष्टले नेपालको १८३१/१८३२ देखि आज २०७९ सालका ताजा दृश्यावली पढ्न पनि पाउन सक्नु हुन्छ ।

साहित्य न अर्थशास्त्र हो न त राजनीतिशास्त्र नै यो त जीवन र जगत् दुवैको सजीव अभिव्यञ्जना गर्ने तत्व हो । यहाँको जीवन देखेर कहाली लाग्ने, आँखा रसाउने मुटु भक्कानिएर आउने मनै भरङ्ग भएर आउने र जीवन देखेर लोभ लागेर आउने त्यस्तो पो जीवन त भन्नेदेखि कसैका कृत्यलाई पुस्तकमा देखेर पढेर अनुभव गरेर भगवान शत्रुलाई पनि यस्तो नपरोस् नहोओस् भन्दै हात जोडेर ईश्वर पुकार्न थाल्नुहुन्छ । ध्रुवचन्द्र गौतमको ‘डापी’ ले पञ्चायतकालीन ज्यादतीको तस्वीर खिचेको छ वस्तुतः नेपाल पीडाक्षेत्र हो भनिएको छ । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रवती’ ‘भोक र भित्ताहरू’ जस्तै कुनै उपन्यास नआउला भन्न सकिन्छ र ? आजको नेपाल पनि त पीडा क्षेत्रबाट मुक्त भएको छ र ?
ढकाल :
ती केही त मैले पनि पढेका उपन्यास हुन् । आज तपाईंले सम्झाउनुभयो । केशवराज पिँडालीको ‘एकादेशकी महारानी’ भन्ने उपन्यासले राणा र तिनमा आश्रित परिवारको जुन प्रकारको चित्र खिचेको छ त्यस्तै प्रकारको आजको नेपालको चित्र उतार्ने उपन्यास भने पढ्न पाइएको छैन । अहिले विधाभञ्जन र विधामिश्रण जस्ता कुरा गर्छन् साथीहरू ती सबै राम्ररी पढ्न भने भ्याएको छैन । आजैमात्र शीतलनिवासमा एकजना भित्रने र अर्की एकजना बाहिरिने प्रक्रिया भएको छ । १५÷२० वर्ष यो गठबन्धन जान्छ भन्थे ६२ दिनमा नै कसैले जुँगा चिल्याए भने कोही सत्तानामक भीरबाट खुर्मुरिने प्रक्रिया सुरु भएको छ ।

अहिले हाम्रो देशमा शेक्सपियरभन्दा ठूला नाटककार भेला भएका छन् । मध्यरातमा तीनवटा पहाड एक ठाउँमा जुटाउने, आफ्नी आमासँग बिहा गर्ने परिस्थिति निर्माण गराएर नाटकमा तिनले युगका केही सम्भाव्य घटनालाई अभिव्यञ्जित गरेका थिए ।

यस्तो बेलामा यी कुरा हाम्रा फुनवार्तामा परेनन् भने त फेरि हामी पनि आगत या भ्रमरका पात्र त बन्दैनौँ ? पढाइमा एकै तहमा धेरै बस्ने, एउटै परीक्षा पटकपटक दिने र फेरि पनि त्यसै कक्षामा भर्ना हुने पनि यिनै राजनीति गर्ने यिनकै आउरेबाउरेले विश्वविद्यालयमा चलाएका छन् । राजनीतिका क्षेत्रमा तरामचन्द्र दाइ १४ पटके र एक पटके भनेर नामै कमाए बुढाले ।

यो देश ठकुरी र ठकुरीका पुरोहितलाई नै फाब्दोरहेछ । रामचन्द्र दाइ आफ्ना खेमाको आफैँ नेता छउन्जेल कतै पनि १ नं बन्न पाउनु भएन । म तपाईंकै शरणमा छु भन्नासाथ अट्ठा जोकर बनाएर छाडे । चरित्र मिल्ने नमिल्ने सबै एकाम्य बनेर सत्तामा जाने लक्षण देखिएको छ । सरकार अस्थिर हुँदा देश र जनताले काला बादलले नपाएको दुःख भोग्नुपर्छ एकातिर भने अर्कातिर सत्ताका बकुल्लाले भने पेटभरि भुरा माछा हसुर्ने मौका पाउँछन् ।
कोइराला :
ढकाल सर !
तपाईंले त ती महामना जो मेरो विषय नेपाली होइन, मलाई नेपाली आउँदैन भनेर आफू परचक्रीको ज्ञानदास बन्न पाएकामा गौरव गर्छन् तिनलाई त थकथकी पो लाउनुहुने भयो त । उपन्यास पनि पढ्न भ्याएको मात्रै होइन कुन कुन प्रकारका हुन्छन् भनेर समेत परिलाउनु भयो । लेखाइ पनि बाक्लो ज्ञानको क्षेत्र पनि व्यापक देखाएर तपाईंले हाम्रा देशको राजनीतिक क्षेत्रका पिसी सरकार या अब्बल जादुगरलाई पनि छक्याउनु हुने भयो । अहिले हाम्रो देशमा शेक्सपियरभन्दा ठूला नाटककार भेला भएका छन् । मध्यरातमा तीनवटा पहाड एक ठाउँमा जुटाउने, आफ्नी आमासँग बिहा गर्ने परिस्थिति निर्माण गराएर नाटकमा तिनले युगका केही सम्भाव्य घटनालाई अभिव्यञ्जित गरेका थिए ।

कालिदासले ऋषिवाणीलाई मूल्य प्रदान गर्न ‘अभिज्ञान (औंठी) स्थिति विपर्यय (श्राप, विस्मरण) र पुनः औंठी देखेपछि स्मृति हुने अनौठो नाट्य प्रविधिको कल्पना गरेका थिए । हाम्रा राजनीतिक नाट्यक्षेत्रका विदूषक जति आश्चर्य लाग्दो चरित्र भने सिर्जना गर्न न कालिदासले सके न त सेक्सपियरले नै सके । समले आंल भाषा र संस्कृत भाषाका सारा नाटक पढेर गहिराइमा पुगेर संस्कृतबाट अंक र पश्चिमा साहित्यबाट दृश्य ल्याएर नेपाली नाटकलाई सजधजयुक्त बनाए । अहिलेका हाम्रा देशका कथित नेताले बकुल्ले प्रवृत्ति, तित्रेप्रवृत्ति र कागे प्रवृत्ति स्थापना गरे पनि यो टिकाउ हुँदैन ।

किनभने, बेनको प्रवृत्ति पृथुले विसर्जन गरे । धन्नुकारीलाई गोकर्णले तारे । महेन्द्रलाई बीपीले दरकिनार गरिदिए जस्तै अहिलेका कांग्रेस, एमाले र माओवादीका छेपारे, बकुल्ले तित्रे र कागे प्रवृत्तिलाई यिनकै उत्तरपुस्ताले विसर्जन गरिदिन्छन् किनभने माटो बन्जर बाँझो भएर धेरै दिन बस्न सक्दैन । महावीर पुन, सन्दुक रुइत, सुरेशराज शर्मा जस्ता मान्छे अहिले पनि छन् तर देशको शासन झिँगेछातीले चलाएका कारणले सारा मान्छे कुहिराका काग बनेका छन् ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम शरन
राम शरन
2023-03-15 11:04 am

अहा

निर्मला कोइराला
निर्मला कोइराला
2023-03-15 4:12 pm

सुन्दर विश्लेषण

गोविन्द विनोदी
गोविन्द विनोदी
2023-03-17 7:47 am

मलाई यो शेैली मन पर्‍यो ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?