अल नासर किङ्स कपको सेमिफाइनलमा

Read Time = 2 mins

साउदी । अल नासर क्लब साउदी अरेबियाको किङ्स कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले घरेलु मैदानमा अभा क्लबलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अल नासरको जितमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाइवारी र मोहम्मेद मरनले गोल गर्नुभयो । अभाका अब्देल फटाह एडामले एक गोल फर्काउनुभयो । खेलको पहिलो मिनेटमा नै सामी अल नाजेइले गोल गर्दै अल नासरलाई १-० को अग्रता दिलाउनुभयो । २१औँ मिनेटमा अब्दुल्लाह अल्खाइवारीले गोल गरेपछि अल नासर पहिलो हाफमा २-० ले अघि बढ्यो । ४९औँ मिनेटमा मोहम्मद मरनले अल नासरका लागि तेस्रो गोल गर्नुभयो ।

६९औँ मिनेटमा अब्देल फटाह एडामले एक गोल फर्काउनुभएपछि खेल ३-१ को स्थितिमा सकियो । यस खेलमा ३८ वर्षीय रोनाल्डोले पूरै समय मैदानमा बिताए पनि गोल र असिस्ट प्रदान गर्न सक्नुभएन । यसै सिजन अल नासर पुग्नुभएका रोनाल्डोले क्लबका लागि नौ खेलमा आठ गोल र दुई असिस्ट प्रदान गर्नुभएको छ ।

यस नतिजासँगै किङ्स कपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग २४ अप्रिलमा खेल्नेछ । अल इतिहादले २३ अप्रिलमा अल हिलालसँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?