मलमा दिएको अनुदान कटौतीको सर्वत्र विरोध

विभिन्न किसान संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल सरकारले मलका लागि दिइँदै आएको अनुदान कटौती गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । विभिन्न दलका किसान संघ संस्थाले यसको विरोध गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतीको विरोधमा बुधबार काठमाडौंमा धर्ना दिएको छ । बुधबार काठमाडौंको माइतीघरमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रदर्शन गरेको हो ।

कार्यक्रममा सहभागिहरूले ‘बारी त जोतियो मल कहाँ छ ?’, ‘मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता ?’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यस्तै, देशका विभिन्न ठाउँमा पनि यसको विरोध भइरहेको छ ।

यसैबीच कांग्रेस-एमालेसहितका किसान संघ, संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने सहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ । किसानहरूलाई दिइँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजाम लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिनुभयो ।

फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरूप आन्दोलन सुरु गरेका छन् । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?