देशभरका क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा राजनीतिक सरगर्मी बढेको छ । नेता निर्माणको नर्सरी मानिने स्ववियु निर्वाचन हुने दिन नजिकिँदै जाँदा देशभरका क्याम्पसहरूमा चुनावी सरगर्मी बढेको हो । स्ववियु चुनावले क्याम्पसका क्यान्टिन र छेउछाउमा चुनावी माहोल छाएको छ । क्याम्पस छेउछाउ मात्रै होइन विद्यार्थीहरू जता भेला हुन्छन् उतै चुनावी गफगाफ हुने गरेको छ । को उम्मेदवार कस्तो ? कसका प्रतिबद्धता के छन् ? कसलाई जिताउने र कसले जित्ला ? बहस र छलफलका विषय बन्ने गरेका छन् । विभिन्न पार्टीनिकट संगठनबाट उम्मेदवार बनेकाले स्ववियु चुनावले आम निर्वाचनको झल्कोसमेत दिने गरेको छ । कतिपय क्याम्पसहरूमा विभिन्न संगठन र समूहबीच विवादसमेत भएका छन् । विवादका कारण कतिपय क्याम्पसमा स्ववियु चुनावका प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

स्ववियुमा उम्मेदवार बनेका विद्यार्थी नेताहरू प्रचारप्रसारमा जुटेका छन् । उनीहरू मतदातालाई प्रभावित पार्न विभिन्न नारा र प्रतिबद्धता व्यक्त गरिरहेका छन् । क्याम्पसमा देखिएका समस्यादेखि विद्यार्थीका समस्या समधान गर्ने अधिकांशमा प्रतिबद्धता छन् । स्ववियु निर्वाचन चैत ५ गते हुँदै छ ।

२७ फागुनमा उम्मेदवार मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन् । उनीहरूले आज (बिहीबार) राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख छ । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको राजीनामा माग्दै आमरण अनशन
नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनशन बसेका छन् । समूहले निर्वाचन समितिले धाँधलीपूर्ण गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनशन बसेका हुन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकविना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा दिएका थिए । सोही समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

हालसम्म ६८ क्याम्पसमा निर्विरोध
देशभरका क्याम्पमा चुनावी सरगर्मी बढिरहेको बेला केही क्याम्पसमा भने स्ववियु सभापतिहरू निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवार अध्यक्षसहित कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी संगठनका नेताहरूले दिएको जानकारीअनुसार हालसम्म सबैभन्दा बढी नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा अनेरास्ववियु र तेस्रो स्थानमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्विरोध भएका छन् । ३२ वटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी निर्विरोध निर्वाचित भएका छन् भने एमालेनिकट अनेरास्ववियुका उम्मेदवार २१ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएका छन् । अहिलेसम्म १३ वटा क्याम्पसमा नेविसंघका उम्मेदवार स्ववियु अध्यक्ष, पदाधिकारी र सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक क्याम्पसमा स्ववियु सभापति र तीन क्याम्पसमा उपसभापतिमा निर्विरोध जित हासिल गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले एउटा क्याम्पसमा स्ववियु सभापति जितिसकेको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्ववियु निर्वाचन स्थगित
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएको छ । चैत ३ गते हुने भनिएको चुनाव विवादसँगै अदालतमा रिट परेपछि स्थगित भएको हो । उच्च अदालत सुर्खेतले अर्को आदेश नआउने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुनका लागि अदालतले आदेश जारी गरेको छ । मंगलबार विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

यस्तै, ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर उत्पन्न विवादका कारण स्ववियु निर्वाचन समितिले निर्वाचनलाई २०८० जेठ १३ गतेका लागि सारेको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले बुधबार सूचना जारी गर्दै जेठ १३ गते क्याम्पसमा स्ववियु निर्वाचन हुने जानकारी गराएका हुन् । सूचनामा संशोधित तालिकाअनुसार चैत ८ गतेको निर्वाचनलाई मध्यनजर गर्दै मनोनयन फारम वितरण कार्यक्रमको दिन विद्यार्थी संघसंगठनद्वारा तालाबन्दी गरिएकाले अन्योल अवस्था उत्पन्न भएकाले निर्वाचन मिति जेठ १३ गतेका लागि सारिएको उल्लेख छ ।

नमुना मतदान
स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसमा नमुना मतदान भएको छ । अनेरास्ववियुको आयोजनामा भएको मतदानमा विद्यार्थीलाई मत संकेत तथा प्रक्रियाबारे जानकारी दिन नमुना मतदानको आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुको आयोजनामा बुधबार देशका विभिन्न क्याम्पसहरूमा नमुना मतदान गरिएको हो । युनियनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?