अम्रिसोको कुचो बनाएर मनग्गे आम्दानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका महिलाहरुले भिरालो जमिन, पाखो र खेतवारीका डिलमा उत्पादन गरिने अम्रिसोबाट फुर्सदको समयमा कुचो बनाएर मनग्गे आम्दानी गर्न थालेका छन् ।

पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । अम्रिसो कुचो प्रतिगोटा रु ६० देखि ८० सम्ममा विक्री हुँदै आएको छ । एक भारी अम्रिसोबाट २० देखि ३० वटासम्म कुचो बनाउन सकिने र रु १ हजार ८ सयदेखि २ हजार ४ सयसम्म कमाइ हुने भए पछि सीप भएका महिलाहरु हिउँदका फुर्सदिला दिनमा कुचो बनाउने काममा व्यस्त छन् ।

केही वर्षअघिसम्म प्रतिकिलो रू ४० का दरले मुस्किलले बिक्री हुनेगरेको अम्रिसो अहिले प्रतिकेजी १ सय २५ रुपैयाँमा विक्रि हुन थालेपनि महिलाहरुले अम्रिसो नबेचेर त्यसलाई कुचो बनाएर विक्री गर्दा तीन गुणा बढी फाइदा हुने बताउँछन् ।

म्याग्दीको बेनी नगरपालिका ३ तोराखेत, मंगला गाउँपालिका ५,मालिका गाउँपालिका ७ बिम,५देविस्थान,बेनी नगरपालिका २ बगरफाँट लगाएत गाउँका कुचो बनाउन सीप भएका महिलाहरु यतिबेला कुचो बनाएर विक्ति गर्न व्यस्त छन् ।

मंगला गाउँपालिकाको अर्मनकी यमुना कडेलले पाखोबारीमा लगाएको अम्रिसोबाट यस वर्ष ५ सय वढी कुचो बनाएको र प्रतिकुचो ६० रुपैयाँमा बजारमा विक्री गर्दा रु ३० हजार आम्दानी भएको बताउनुभयो ।

बेनी नगरपालिका २ बगरफाँटकी शिवकुमारी घिमिरेले पछिल्लो समय महिलाहरुले अम्रिसोको कुचो विक्री गरेर मनग्गे आम्दानी गर्न सफल भएका बताउनुभयो । घिमिरे अगुवा कृषक पनि हुनुहुन्छ । उहाँ आँफैले आकर्षक कुचो बुने पनि आफ्नोमा अम्रिसो धेरै नहुदा विक्रीका लागि नभएर घरायसी प्रयोजन र आफन्तलाई कोशेली पठाउनका लागि कुचो बुन्दै आउनुभएको छ । त्यसका साथै उहाँले छिमेकीहरुको घरमा गएर समेत कुचो बुन्न सघाइदिनुहुन्छ ।

कुचो बुन्ने सीप नभएका र नभ्याउनेले फुको अर्मिसो विक्री गर्ने गरेका छन् । मूल्यमा उतारचढाब आइरहे पनि यो वर्ष प्रतिकिलो रू एक सयदेखि रू एक सय २५ सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर सापकोटाले प्रतिकिलो रू एक सय २५ सम्म लगाएर २ क्विन्टल अम्रिसो जम्मा गर्नुभएको छ । उहाँले बेनी,बागलुङ र पोखरासम्म पुर्याएर अम्रिसो बेच्ने गनुहुन्छ ।

अम्रिसो पोखरासम्म पु¥याउँदा गत वर्ष रू एक सय ४० मा विक्री गरेका उनले यसवर्ष रु १ सय ६० सम्ममा विक्री भएको जानकारी दिनुभयो ।
पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?