डढेलोको उच्च जोखिममा पाल्पा, नियन्त्रणका लागि व्यवहारिक अभ्यास

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । वसन्त र ग्रीष्म ऋतु विशेष डढेलो जोखिमको समय हो । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ । हरेक वर्ष गर्मी मौसम शुरु हुनासाथ पाल्पामा डढेलोेका घटनाहरु बढ्नु नियमित प्रक्रिया जस्तै भएको छ । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । चैत्र लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् ।

पाल्पा डढेलोको उच्च जोखिममा रहेकाले पनि यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । जिल्लाका दश गाउँपालिकाका ८१ वटा वडाहरु मध्ये २७ वटा वडामा रहेका वन डढेलोको उच्च जोखिमा छन् । ३९ वटा वडा मध्यम र २५ वटा वडा न्यून जोखिम रहेका छन् । जिल्लाका ३३ प्रतिशत वनजंगल डढेलोको अति जोखिम, ३६ प्रतिशत मध्यम र ३१ प्रतिशत जंगल न्यून जोखिम रहेका छन् । यहाँ ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

तानसेनको श्रीनगरडाँडा, तेल्घा, धरमपानी, बन्दीपोखरा, बौघागुम्वा, रैनादेवी छहराको सोमादी भुवन पोखरी, छहरा, जुठापौवा, तिनाउ गाउँपालिकाको कचल, दोभान, झुम्सा, चर्चरे कोल्डाडा, रिव्दीकोट गाउँपालिकाको देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेका छन् । यसैगरी माथागढी गाउँपालिकाको झडेवा, हात्तिलुङ, गोठादी र रहवास, निस्दी गाउँपालिकाको भिरुवास, मित्याल र ज्यामिरे, पुर्वखोला गाउँपालिकाको जल्पा, रिङनेरह, देवीनगर क्षेत्र डढेलोको अति जोखिम क्षेत्र हुन् ।

वन क्षेत्रलाई अघोषित डम्पिंगसाइट बनाएर फोहर फाल्ने प्रवृत्तिका कारण पनि यहाँ डढेलोका घटना बढी हुने गरेको पाइन्छ । अधिकांश डढेलोहरु मानवीय स्वार्थ र लापरवाहीले लाग्ने गरेका छन् । वन्यजन्तुको शिकार गर्दा आगोको छेकवार लगाउने, दाउराको लागि आगो लगाएर रूख सुकाउने र वन फँडानीका प्रमाणहरु नष्ट गर्न डढेलो लगाएको पाइन्छ । डढेलो लागेको ठाउँमा नयाँ घाँस राम्ररी उम्रने र च्याउ उत्पादन राम्रो हुने विश्वासमा मानिसहरुले जानीजानी जंगलमा डढेलो लगाउने गरेका छन् । कतिपय मानिसहरुले खेतबारीका झारपात हटाऊन् खरवारी सफा गर्न र वन अतिक्रमण गर्नको लागि लगाएको आगो अनियन्त्रित भएर ठूलो डढेलोको रुप लिने गरेको पाइन्छ । कहिलेकाहीँ वस्तीमा आगलागी हँुदा र वनभित्र रहेका गोठमा सल्काएको आगो हावाहुरीले वनमा पुग्दासमेत डढेलोको रुप लिने गर्दछ । पछिल्लो समयमा यहाँका अधिकांस पर्यटकीय स्थलका वनहरु घुमफिर गर्ने, वनभोज खाने थलोको रुपमा लोकप्रिय बनिरहेका छन् । घुमफिर, रमाइलो गर्न चुरे र आसपासको वन क्षेत्रमा गएकाहरुले चुरोट बिँडीको ठूटो ननिभाई फाल्दा र वनभोज गएका मानिसहरु तथा राजमार्ग किनारको वनमा खाना पकाएर खाने यातायात मजदुरहरुले आगो ननिभाई छोड्दा त्यो आगो घाँस दाउरामा सल्कीएर डढेलोको रुप लिन्छ । यस्तो समस्या राजमार्ग छेउछाउको वनमा बढी देखिन्छ ।

डढेलो नियन्त्रण गर्न व्यवहारिक अभ्यास

गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास थालिएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट अभ्यास सुरु गरेको हो । यहाँ वनमा लागेको डढेलो नियन्त्रण गर्न उनीहरुलाई भ्याईनभ्याई थियो । नमुना अभ्यासमा आगो नियन्त्रणमा ल्याउन कोही अग्नि नियन्त्रण रेखा बनाएको देखिन्थे भने, कोही आगो निभाउन विभिन्न उपाय अपनाएका देखिन्थे । आगो निभाउन वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न सामग्री लिई आगो निभाउन खटिएका थिए । सबैजना विभिन्न उपाय अपनाउँदै आगो निभाउनमा व्यस्त थिए । यो एउटा नमुना अभ्यास मात्र थियो ।

डिभिजन वन कार्यालय पाल्पाले सामुदायिक वनका उपभोक्ताहरुलाई सक्रिय बनाउँदै सुरक्षा निकायको सहयोगमा वन जंगलको बस्ती नजिक जोखिम क्षेत्रमा अग्नी रेखा निर्माण गरी तल माथी दायाँ बायाँ जलनशिल पदार्थ, घाँस, दाउरा, पात पतिर पूूर्ण रुपमा हटाउने अभियान सञ्चालन गरेको हो । अग्नी रेखा क्षेत्रमा झरेका पात पतिङ्गर सरसफाई गरी जलाउने अभियानबाट आगलागीको ठूूलो घटना नहुने र मानवबस्तीमा आगो छिर्न नसक्ने गरी श्रीनगरडाँडाबाट यो अभियान शुरु गरेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताउनुुभयो । कार्यालयले अति जोखिम मध्य जोखिम र न्यून जोखिम डढेलो लाग्ने क्षेत्रको पहिचान गरी सोही अनुसारको रणनीति बनाई काम गरेको छ । पाल्पा डढेलोको उच्च जोखिम क्षेत्र भएकाले जिल्लाका सबै सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सरोकारवाल निकायहरुलाई जनचेतना तथा आगलागी नियन्त्रणको लागि अभियानमा सहभागी गराउने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

जिल्लामा आगलागीका घटनाहरु हुन नदिन गाउँ गाउँमा रहेका सबै प्रहरी चौकीबाट वन उपभोक्ता, स्थानीयवासीसँंग मिलेर अग्नीरेखा निर्माण, पात पतिङ्गर संकलन अभियान नै चलाउने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो ।

तस्वीर : तानसेनको श्रीनगरडाँडामा आगो नियन्त्रण गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?