कतारकी राजकुमारी आस्मा अन्नपूर्ण हिमालको आधारशिविरमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । विश्व कीर्तिमानी आरोही निर्मल पूर्जाको साथमा अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली बुधबार (हिजो) अन्नपूर्ण हिमालको दुई नम्बर क्याम्पमा पुगेको छ ।

गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी र पुर्जाको टोली छ हजार सातसय मिटर उचाइमा रहेको क्याम्पमा पुगेका हुन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्छ ।

म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार दुई नम्वर क्याम्पमा पुगेको उक्त टोलीले अनुकुल मौसम भए अबको १५ दिनभित्र अन्नपूर्ण हिमालको आरोहण गर्ने छ ।

‘अनुकुल मौसम भएमा अबको १५ दिनभित्र हिमाल आरोहण गर्न टोली सफल हुनेछ ।’ पर्यटन व्यवसायी शेरचनले भन्नुभयाे ‘अहिलेसम्म मौसम अनुकुल नै रहेको छ ।’

हिमाल आरोहण गर्न राजकुमारी, पुर्जा र आरोहण टोलीसहितलाई एक हप्ताअघि दानाका स्थानीयहरुले विदाई गरेका थिए । इलाईट ट्रेकिङ कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनु भएकाे हाे ।

आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका पूर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

कसरी आउनु भयाे कतारकी राजकुमारी म्याग्दीमा ?

कतारकी राजकुमारी आश्मा अल्थानी गत साता सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाण्डौंबाट म्याग्दीको अन्नपूर्ण–३ दानामा आउनु भएकाे थियाे । ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएकाे छ ।

राजकुमारी अल्थानीको यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएकाे छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका थिए ।

नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनु भयाे । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उहाँले भन्नुभयाे, ‘निर्मल विश्वकै साहसिक युवा हो।’

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनु भयाे । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने छ ।

नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?